मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान दिवसमा हिन्दुवादीले लगाए संविधानविरोधी नारा

संविधान दिवसमा हिन्दुवादीले लगाए संविधानविरोधी नारा


चितवन । आठौँ संविधान दिवसको अवसरमा सरकारले विभिन्न कार्यक्रम आयोजना गरी उत्सव मनाइरहँदा हिन्दु अभियान्ताहरुले भने संविधानविरुद्ध विरोध र्‍यालीसहित नारा लगाएका छन् । 
 
चितवनका धार्मिक संघसंस्थाहरुको आयोजनामा नारायणगढबजारमा र्‍याली निकालिएको हो । बैकुण्ठनाथ मन्दिर लंकूका पीठाधीश स्वामी जगन्नाथ शर्मा कँडेलको अगुवाईमा लायन्सचोकबाट निस्किएको र्‍यालीमा हिन्दुराष्ट्र कायम गर, नेपालको संविधान मान्दैनौँ, हिन्दुराष्ट्रसहितको नयाँ संविधान जारी गरलगायतका नारा लगाएका थिए । 
 
र्‍याली पुलचोक हुँदै आमरण अनशन स्थल नारायणी नदीकिनारमा पुगेर सभामा परिणत भएको थियो । र्‍यालीलाई सम्बोधन गर्दै बैकुण्ठनाथ मन्दिर लंकूका पीठाधीश स्वामी जगन्नाथ शर्मा कँडेलले नेताहरुले जनताको सुझावलाई लत्याएर विदेशीको इशारामा नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाएको भन्दै कुनै पनि हालतमा नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने बताए । 
 
अब सबै हिन्दुहरु जाग्नुपर्ने बेला आएको बताउँदै कँडेलले हिन्दुत्वको रक्षाका लागि उठ्न सबै हिन्दु धर्मावलम्बीहरुलाई आग्रह गरे । 
 
कार्यक्रममा मालिका मन्दिरका अध्यक्ष महाप्रसाद सिलवाल, धार्मिक व्यक्तित्व हिरालाल कँडेल , धार्मिक अभियन्ता ध्रुव मिश्र, दशनामी समाजका अध्यक्ष जीवलाल पुरी निर्जरालगायतले नेताहरुले आफ्नो स्वार्थका लागि जनताको भावनामा बज्रपात गरेकाले अब सबै जागेर नेतालाई घरघरबाट लखेट्नुपर्ने बेला आएको बताए ।
 
नारायणी नदीकिनारमा आयोजित आमरण अनशनमा सबै ओमकार परिवारले साथ दिनुपर्ने उनीहरुले बताए ।आमरण अनशनलाई धार्मिक संघसंस्था, विभिन्न राजनीतिक दलका प्रतिनिधि एवं धार्मिक अभियन्ताहरुले ऐक्यबद्धता जनाइरहेका छन् । 

 
माग पूरा नभए आफू मर्न तयार रहेको तर अनशन तोड्न तयार नभएको अनशनरत प्रेमनिधि कँडेल भारद्वाजले बताए । उनी यही असोज १ गतेदेखि नारायणी नदीकिनारमा आमरण अनशन बसेका छन् । 
 
तीव्ररुपमा धर्मान्तरण, संस्कार–संस्कृतिका सबालमा राज्य उदासीन बनेकाले दबाब स्वरुप अनशन सुरु गरिएको भारद्वाजले बताए । उनकै अगुवाईमा २०७६ सालदेखि नारायणी नदीकिनारमा महाआरती हुँदै आइरहेको छ । रिले अनशनमा सनातन संस्कृति संरक्षणका अभियन्ताहरु, सर्वसाधारणहरुसमेत सहभागी भएका छन् ।  
 
सनातन हिन्दुराष्ट्र नेपाल घोषणा हुनुपर्ने, सबै पालिकाहरुमा सुरक्षित गोवनको व्यवस्था हुनुपर्ने, राष्ट्रिय सनातन संस्कृति आयोग गठन गर्नुपर्ने, कालीगण्डकीलाई नेपाल सम्पदा र विश्वसम्पदा सूचीमा सूचीकृत गर्नुपर्नेलगायतका मागहरु राखिएका छन् । सनातन–संस्कृति–संरक्षण अभियानमार्फत संविधान जारी हुने बेला १७ दिनसम्म भारद्वाज आमरण अनशन बसेका थिए ।