सिन्धुपाल्चोक । नुहाउन जाने क्रममा लडेर हेलम्बु–१ छ्यादी खोलाले बगाएका शिक्षकको २२ घन्टापछि सकुशल उद्धार गरिएको छ । दोलखा कालीञ्चोक–३ घर भएका शिक्षक केशव सिवाकोटीको नेपाली सेनाले हेलिकप्टरमार्फत आइतबार २२ घन्टापछि उद्धार गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।
उनलाई छ्यादी खोलाको अप्ठ्यारो भूगोलमा ढुङ्गाको कापबाट उद्धार गरिएको हो । हेलम्बु गाउँपालिकाको सर्कथली आधारभूत विद्यालयमा कार्यरत शिक्षक सिवाकोटी हिजो नुहाउन जाँदा खोलामा लडेर बेपत्ता भएका थिए ।
आइतबार बिहान सकुशल रहेको जानकारी पाएपछि सेनाले उनलाई हेलम्बु–१ ठाडो खोला भिरमा अड्केको अवस्थामा उद्धार गरेको र उपचारका लागि काठमाडौँको केएमसी अस्पताल लगिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।
खुट्टामा सामान्य चोटपटक लागेको उनको अवस्था सामान्य रहेको शेर्पाले जानकारी दिए । उनको उद्धारमा सेना, प्रहरी र स्थानीयवासी लागेका थिए । रासस
प्रतिक्रिया