मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल–चीनबीचको व्यापार घाटा कम गर्न अध्यक्ष प्रचण्डको चिनियाँ पक्षसँग आग्रह

नेपाल–चीनबीचको व्यापार घाटा कम गर्न अध्यक्ष प्रचण्डको चिनियाँ पक्षसँग आग्रह


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रणनीतिक विकास साझेदारीमार्फत नेपालका प्राथमिकता क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन चिनियाँ पक्षसँग आग्रह गरेका छन् । 
 
नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष लि चान्शु नेतृत्वको प्रतिनिधिमण्डलसँग सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भएको भेटवार्ता अध्यक्ष दाहालले नेपालको विकास र समृद्धिका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताएका हुन् । 
 
अध्यक्ष दाहालले बिआरआईलगायतका परियोजनामार्फत भइरहेका आयोजनाको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिएको उनको सचिवालयले जनाएको छ ।
 
सो अवसरमा उनले नेपालमा दसैँ, तिहारलगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढीसहितका नाका तत्काल खोल्न आग्रह गरेका थिए । उनले नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने उल्लेख गरे । 
 
दुई पार्टीबीचको सम्बन्ध कूटनीतिक मात्र नभई वैचारिक र भावनात्मक विषय पनि भएको अध्यक्ष दाहालको भनाइ थियो । “हामी चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौँ । राष्ट्रपति सीजिङपिङको बलियो नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्न र विश्व भ्रातृत्वको विकासका लागि महाधिवेशन सफल बनोस्”, अध्यक्ष दाहालको भनाइ थियो ।
 
उनले नेपाल ‘एक चीन नीति’प्रति दृढ रहेको उल्लेख गर्दै नेपाली भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन नदिनेमा सजग रहेको बताए । 
 
चिनियाँ पक्षकोतर्फबाट अध्यक्ष ली ले नेपाल चीनको असल मित्र रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकताको सधैँ सम्मान गर्ने बताए । उनले नेपाल एक चीन नीति र चीनको सुरक्षा चासोमा सदैव सकारात्मक रहेकामा धन्यवाद व्यक्त गरे ।
 
उनले नेपालको विकास र समृद्धिको बाटोमा चीन सधैँ साथमा रहेको बताउँदै नेपाल–चीनबीचको व्यापार घाटा कम गर्न र सीमानाका खुलाउनका लागि पहल गर्ने बताए । भेटमा माओवादीका तर्फबाट अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरु राम कार्की र रमेश मल्लको सहभागिता थियो ।
 
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष लि सोमबार काठमाडौँ आइपुगेका हुन् । सोमबार नै सभामुख सापकोटा र अध्यक्ष लीबीच सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तापछि द्विपक्षीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । रासस