मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बेलायती महारानीको निधनप्रति विश्वका नेताहरुद्वारा दुःख व्यक्त

बेलायती महारानीको निधनप्रति विश्वका नेताहरुद्वारा दुःख व्यक्त


काठमाडौँ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनप्रति विश्वभरका नेताहरुले दुःख व्यक्त गरेका छन् । विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति विश्वभरका धेरै देशका नेताहरुले सहानूभूति व्यक्त गरेका हुन् । बेलायतको इतिहासमै सबैभन्दा लामो समय राजगद्दीको नेतृत्व गरेकाले पनि उनको निधनप्रति विश्वको ध्यान खिचिएको हो । 
 
महारानी एलिवेथ द्वितियको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको बेलायती राजदरवारले घोषणा गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले उनको निधनको खबर सुनेर आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।

“विश्वव्यापी नेतृत्व गरेकी र सबैलाई प्रेरणाको श्रोत बन्दै आएकी महारानीको निधनले मलाई दुःखी बनाएको छ, बेलायती राजपरिवार र बेलायती जनताप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछु,” उनले जारी गरेको शोक वक्तव्यमा लेखिएको छ । 

 
संयुक्त राष्ट्रसङ्घप्रति महारानी सधैँ असल साथीको रुपमा रहेको स्मरण गर्दै महासचिव गुटेरेसले राष्ट्रसङ्घले एउटा असल साथी र असल अभिभावक गुमाएको उल्लेख गरेका छन् । 
 
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रेरणादायी नेतृत्वको रुपमा स्मरण गरेका छन् । उनले प्रकाशित गरेको शोक वक्तव्यमा महारानीको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त सबैप्रति सहानुभूति व्यक्त गरिएको छ । 
 
सन् २०१५ र सन् २०१८ मा आफूले बेलायत भ्रमणका क्रममा महारानी एलिजावेथ द्वितीयलाई भेटेको स्मरण पनि उनले गरेका छन् । “उहाँको त्यो आत्मीयता, स्नेह र अभिभावकत्व मैले कहिले भुल्न सक्दिन,” प्रधानमन्त्री मोदीले लेखेका छन् ।    
 
चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि ब्रिटिश सरकार र जनताप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन् । 
 
चीन सरकार र चिनियाँ जनताको प्रतिनिधित्व गर्दै र आफ्नै नाममा सी चिनफिङले गहिरो समवेदना व्यक्त गर्नु भएको छ । महारानीको निधन ब्रिटिश जनताको लागि ठूलो क्षति भएको सीले बताएको विज्ञप्तिमा जनाइएको छ । 
 
चिनियाँ राज्य सञ्चार माध्यमले जारी गरिएको विज्ञप्तिमा महारानी एलिजाबेथ चीन भ्रमण गर्ने पहिलो बेलायती राजसंस्थाका प्रमुख थिइन् । बेलायती इतिहासमा सबैभन्दा लामो समयसम्म राजसंस्थाको सेवा गर्ने अर्थात उनको शासनकालको प्रशंसा गरेका छन् ।  
 
अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी प्रथम महिलाले पनि बेलायती महारानीको निधनको खबरले आफूहरुलाई दुःखी बनाएको उल्लेख गरेका छन् । 
 
उनीहरुले अमेरिकास्थित बेलायती दूतावासमा राखिएको शोक पुस्तिकामा आफैँ शोक वक्तव्य लेखेका थिए । केही मिनेट लगाएर लेखिएको वक्तव्यमा उनीसँग भएका भेटवार्ताको पनि स्मरण गरिएको छ । महारानी एलिजावेथ द्वितीयलाई एउटा असल, परिवक्व अभिभावकको रुपमा उनीहरुले उल्लेख गरेका छन् । 
 
वक्तव्य लेखेर हस्ताक्षर गरेपछि राष्ट्रपति दम्पतीले बेलायती राजदूतलाई आफूहरु बेलायतको दुःखमा साथसाथै रहेको बताउदै सहानूभूति व्यक्त गरेका थिए ।
 
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शोक व्यक्त गर्दै उनीजस्तो व्यक्तिको खाँचो विश्वलाई परिरहने उल्लेख गरेका छन् । बेलायतका महारानी भए पनि उनले विश्वलाई नै माया, प्रेम र प्रेरणा दिइरहेको पुटिनद्वारा जारी वक्तव्यमा लेखिएको छ । 
 
उनको निधनप्रति क्यानडाले पनि दुःख व्यक्त गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टीन टु«डोले सामाजिक सञ्जाल ट्वीटरमार्फत शोक व्यक्त गरेका हुन् । उनले क्यानडाका जनताले महारानीलाई सधैँ स्नेही पात्रको रुपमा स्मरण गरिरहने उल्लेख गरेका छन् । 
 
क्यानडाको इतिहासमा उनी एउटा मुख्य पात्रको रुपमा रहेकाले उनले क्यानडालाई गरेको सेवाप्रति सबै जनता ऋणी रहेको टु«डोको भनाइ छ ।
 
अष्ट्रेलियाका राष्ट्रपति एन्थोनी अल्बानीजले पनि शोक वक्तव्य प्रकाशित गर्दै यस दुःख समयमा अष्ट्रेलियाका जनता बेलायती जनताको साथमा रहेको उल्लेख गरेका छन् ।  
 
फ्रान्सका राष्ट्रपति एम्यानुएल माक्रोंले पनि बेलायती महारानीलाई एकताको प्रतीकको रुपमा स्मरण गरेका छन् । “बेलायती जनतालाई एकताको सुत्रमा बाँध्ने पात्रको रुपमा भूमिका खेलेकी महामारीको निधनले हामीलाई दुःखी बनाएको छ,” उनले जारी गरेको वक्तव्यमा लेखिएको छ । 
 
युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेनस्कीले पनि उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल सबैलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी प्रार्थना गरेका छन् । 
 
त्यसैगरी पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, इजरायलका प्रधानमन्त्री याइर लापिड, न्युजल्याण्डका प्रधानमन्त्री जसिन्डा अर्डेर्न, इटलीका प्रधानमन्त्री मारियो ड्राघी, पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविस्की लगायतका दर्जनौ देशका राष्ट्र तथा सरकार प्रमुखहरुले उनको आत्माको चिरशान्तिको कामना गरेका छन् । 
 
यस्तै, नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको कुराकानीमा महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेकी छन् । 
 
यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन् । 
 
उनले आज शोक सन्देशमार्फत महारानी एलिजाबेथको निधनको खबरले आफूलाई धेरै दुःख लागेको बताएका छन् । महारानी एलिजाबेथले कर्तव्य, सम्मान र सेवाको साथ आफूलाई प्रतिष्ठित गरेको प्रधानमन्त्री देउवाले सन्देशमा बताएका छन् । महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा गरेको नेपालको महत्त्वपूर्ण राजकीय भ्रमणका लागि उनलाई नेपालमा मायापूर्वक सम्झिइने शोक सन्देशमा जनाइएको छ ।
 
यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज दिएको शोक सन्देशमा महारानी एलिजाबेथले आफ्नो शासनकालमा शालिन र उच्च राजकीय मूल्य निर्वाह गरेको स्मरणीय छ भनेका छन् । पूर्वराजा ज्ञानेन्द्रले महारानीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त राजपरिवार, बेलायती सरकार एवं जनताप्रति समवेदना प्रकट गरेका छन् । 
 
बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार राति बाल्मोरलमा निधन भएको हो । सन् १९५२ मा गद्दी सम्हालेकी उनी ७० वर्षसम्म गद्दीसिन थिइन् । 
 
महारानी एलिजाबेथको निधनमा नेपालमा तीन दिन शोक मनाइने
 
नेपाल सरकारले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ ।
 
आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्व महारानी एलिजाबेथको सम्मानमा यही भदौ २५ देखि २७ गतेसम्म शोक मनाउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
 
बैठकले नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
 
महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा यही भदौ २३ गते राति निधन भएको हो । नेपाल सरकारले उनको निधनप्रति दुःख व्यक्त गर्दै स्व महारानीको दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ । यस दुःखद् घडीमा बेलायत सरकार, जनता एवं शोकसन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकारले समवेदना प्रकट गरेको छ ।