मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान बचाउने जिम्मा राजनीतिक दलको काँधमा आएको छ : पूर्वराष्ट्रपति

संविधान बचाउने जिम्मा राजनीतिक दलको काँधमा आएको छ : पूर्वराष्ट्रपति


काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधान बचाउने जिम्मा राजनीतिक दलको काँधमा आएको बताएका छन् । 
 
जननायक बिपी कोइरालाको १०९औँ जन्मजयन्तीका अवसरमा तेज–तीर्थ ट्रष्टले आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’मा उनले संविधानमाथि आक्रमण हुन लागेको भन्दै यसलाई जोगाउन राजनीतिक दलको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
 
“संविधानको रक्षा गर्ने प्रमुख जिम्मा कांग्रेससहितका राजनीतिक दलको हो, राजनीतिक दलबाट बनेको संविधानको रक्षा गर्ने काम पनि राजनीतिक दलकै हो”, उनले भने । देशको एकता, अखण्डता आवश्यकतालाई समेटेर समृद्ध मुलुक निर्माणमा सबै लाग्नुपर्ने उनको भनाइ थियो ।
 
पूर्वराष्ट्रपति डा यादवले सङ्घ, प्रदेश र स्थानीय तहको कानून बन्न नसक्नु दुःखद् कुरा भएको बताए । उनले राष्ट्रियता, सार्वभौमिकता, भूगोललाई मिलाएर संविधान निर्माण भएको बताउँदै संविधानको रक्षाका लागि लाग्नुपर्ने बेला आएको उल्लेख गरे ।
 
संविधान निर्माणसँगै तीन तहको सरकार निर्माण हुनु सुखद पक्ष भए पनि जनतामा भ्रष्टाचार भएको र सुशासन नभएकामा असन्तुष्टि पैदा भएको बताए । पूर्वराष्ट्रपति डा यादवले बिपी कोइराला देश र लोकतन्त्रका पक्षमा सधैँ चिन्तित हुने गरेको बताए । उनले पछिल्लो समय बिपी कोइरालाको जेल जर्नल, भाषण, आत्मावृत्तान्त कांग्रेसले पढ्न र बुझ्न नसकेको उल्लेख गरे ।
 
कांग्रेस नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले प्रजातन्त्रलाई जनतामाझ लैजान जननायक बिपी कोइरालाको महत्त्वपूर्ण योगदान रहेको बताए । सङ्घीय लोकतन्त्र स्थापना गर्न बिपी कोइरालाको योगदान महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । नेता प्रधानले बिपी कोइरालाको योगदानका कारण देश सङ्घीय गणतन्त्र मुलुकमा निर्माण भएको बताए ।
 
विभिन्न विधामा पुरस्कार तथा सम्मान
 
नेपाली कांग्रेस काठमाडौँका पूर्वपार्टी सभापति एवं पूर्वराज्यमन्त्री तीर्थराम डङ्गोल र उनको धर्मपत्नी तेजमाया डङ्गोल नाममा स्थापित तेज–तीर्थ ट्रष्टले सामाजिक र पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरिएको छ ।
 
ट्रष्टले स्वतन्त्रता तथा शान्तिका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै वरिष्ठ पत्रकार एवं प्राध्यापक पुरुषोत्तम दाहाललाई सम्मान गरेको छ । पत्रकार दाहाललाई रु एक लाख नगद र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।
 
यस्तै ट्रष्टले प्रजातन्त्र र शान्तिका क्षेत्रमा पत्रकारिता गर्ने वरिष्ठ पत्रकार कवीर राणा र युवा पत्रकार राधिका बुढाथोकीलाई सम्मान तथा पुरस्कार गरिएको छ । उनीहरुलाई रु ५० हजारका दरले पुरस्कृत गरिएको हो । नेवारी साहित्यमा ख्याति प्राप्त एक महिला तथा एक पुरुष साहित्यकारलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उनीहरुलाई पनि रु ५० हजार नगद र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । रासस