नेपाल

पक्राउ पुर्जी जारी भएपछि क्रिकेट संघबाट सन्दीप लामिछाने निलम्बित

पक्राउ पुर्जी जारी भएपछि क्रिकेट संघबाट सन्दीप लामिछाने निलम्बित


काठमाडौँ । नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ ।
        
सो संघका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा बिहीबार जारी विज्ञप्तिमा संघको कार्यसम्पादन समितिको निर्णयअनुसार लामिछानेउपर करणी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा संघबाट निलम्बन गरिएको जनाइएको छ । 
 
लामिछानेविरुद्ध महानगरीय प्रहरीवृत्त गौशालामा जाहेरी परेको थियो ।

  


यसैबीच, बालिका करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । 
 
मुलुकी अपराध संहिता २०७४ अन्तर्गत परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा लामिछानेउपर थप अनुसन्धान गर्नका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार एक सूचना जारी गरी जनाएको छ ।

Advertisement

लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीका साथ तीन एक दिवसीय र पाँच टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सिलसिलामा हाल केन्यामा रहेका छन् ।  

 
अपराध संहिताको दफा २१९, (२) मा कसैले कुनै महिलालाई महिलाको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ । 
 
सोही दफाको ३ (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । 
 
उनीमाथि १७ वर्षीया नाबालिका अभिभावकले यही भदौ ६ गते जबर्जस्ती करणी गरेको आरोपसहित भदौ २१ गते मङ्गलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए ।
 
जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने लामिछानेले बालिकालाई यही ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ । 
 
जाहेरीपछि प्रहरीले ती होटलको सिसीटिभी फुटेज हेर्नेसहित विभिन्न अनुसन्धान गरिरहेको छ ।