मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै


काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठानले यही भदौ १० देखि १२ गतेसम्म नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । 
 
तीन दिनसम्म हुने ‘अन्तर्राष्ट्रिय सम्बन्धःनेपाल र विश्व व्यवस्था’ विषयक सम्मेलनमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्थापित शैक्षिक संस्था तथा विश्वविद्यालयबाट विद्यावारिधि गरी विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा महत्वपूर्ण भूमिकामा रहेका नेपाल र भारतका ४० वर्षभन्दा कम उमेरका एकसय जना विज्ञ युवाको सहभागिता रहनेछ ।
 
सम्मेलनमा विज्ञले आफ्ना कार्यपत्र प्रस्तुत गर्ने प्रतिष्ठानका निर्देशक डा दीपककुमार अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नवीनतम् विचार युवापुस्ताको मस्तिष्कबाट आओस् भन्ने सम्मेलनको मुख्य उद्देश्य रहेको छ । नयाँ पुस्ताले यस विषयमा प्रस्तुत गर्ने विचार नै भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्धका लागि पथप्रदर्शन बन्ने आयोजकको विश्वास छ । 
 
निर्देशक अधिकारीले नेपालले भविष्यमा कस्ता नीतिका आधारमा विश्वलाई हेर्ने भन्ने विषयमा यस कार्यक्रमले गहन विषयवस्तुको प्रकाशन गर्ने उल्लेख गरे । 
 
सम्मेलनमा वातावरण, संस्कृति, विश्व राजनीति, सुरक्षा, शान्ति, स्थिरता, व्यापार, प्रविधिलगायतका विषयमा बेग्लाबेग्लै सत्रमा छलफल हुनेछ । नयाँ विश्व व्यवस्थामा नेपालको विदेश नीतिबारे कार्यक्रमले दिशानिर्देश गर्ने कार्यक्रमका संयोजक डा विनयकुमार मिश्रले जानकारी दिए । 
 
सम्मेलनबाट आएका अनुभवले भविष्यका लागि युवाले आफ्नो मार्गचित्र बनाउँदा सहयोग पुग्नेछ भन्नेमा आफूहरु विश्वस्त रहेको उनले बताए । आजको युवा मस्तिष्कले के सोचेको छ र भविष्यमा त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेबारेमा यस कार्यक्रमबाट समाजलाई थाहा दिइने आयोजकको भनाइ छ । 
 
प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १० गते उद्घाटन गर्ने सम्मेलनको समापन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भदौ १२ गते गर्ने तय भएको छ । रासस