मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वामपन्थी नेताका बुझाइमा समाजवादी चिन्तक गिरी

वामपन्थी नेताका बुझाइमा समाजवादी चिन्तक गिरी


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई वामपन्थी नेताहरूले आलोचनात्मक दृष्टिकोण भएको माथिल्लो स्तरको प्रजातन्त्रवादी र मानवतावादी चिन्तकका रूपमा स्मरण गरेका छन् ।
 
उनीहरूले  गिरीलाई नेपाली समाजले अध्ययनमा मेधावी, बौद्धिक तर्कसहितको मन्तव्य प्रस्तुत गर्ने हैसियत राख्ने मिलनसार र लोकतान्त्रिक मूल्य, मान्यतामा अडिग राजनीतिक व्यक्तित्वका रूपमा सदासर्वदा सम्झिरहने धारणा व्यक्त गरे ।  
 
नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले वैचारिक राम्रो अध्ययन भएको लोकतान्त्रिक मूल्य, मान्यतामा विश्वास गर्ने राजनीतिज्ञका रूपमा  आफूले नेता गिरीलाई लिने गरेको बताए । उनले भने, “उहाँसँग मेरो साह्रै राम्रो सम्बन्ध थियो, सदासर्वदा हामीबीच सम्पर्क र सम्बन्ध रह्यो ।  संसदमा पनि उहाँको प्रस्तुति निकै राम्रो हुन्थ्यो । कसैप्रति पूर्वाग्रह नराख्ने सबैसँग मूल्य र मान्यताका आधारमा अघि बढ्नुपर्छ भन्ने मान्यता राख्ने गिरी लोकतान्त्रिक आन्दोलनको योद्धा हो ।”
 
उनको असामयिक निधनले ठूलो क्षति भएको भएको जनाउँदै पूर्वसभामुख नेम्वाङले भने, “असहमतिका विषय पनि छयाङ्ग भन्ने सादगी र साह्रै मिलनसार हुनुहुन्थ्यो । नेपालका राजनीतिज्ञले उहाँको सादा जीवनशैली, जतिबेला पनि अध्ययनमै डुबिरहने शैलीबाट सिक्नुपर्छ ।”
 
संविधानसभाका अध्यक्ष नेम्वाङले भने, “प्रदीपजी बोल्ने भनेपछि संसदमा सुन्न बस्नेको सङ्ख्या ठूलो हुन्थ्यो, त्यो उहाँले कमाएको ठूलो सम्पत्ति र सम्मान हो ।”
 
दर्शनशास्त्र, अर्थशास्त्र, राजनीतिक क्षेत्रको विश्लेषणसम्बन्धी विशेषज्ञता हासिल गरेका गिरीको शनिबार राति उपचारका क्रममा निधन भएको हो ।
 
नेकपा (माओवादी केन्द्र)का नेता सुरेन्द्र कार्कीले दर्शनशास्त्रको अध्ययनमा मेधावी व्यक्तित्व गिरीले बाल्यकालदेखि नै अध्ययन चिन्तनमा कुशाग्रह देखाएको बताए । उनले भने,  “गिरीमा भौतिक सुख भोग, बिलासी, ऐसआरामभन्दा ज्ञानको भोक बढी थियो । जीवनभर कांग्रेस रहे तापनि कालमार्क्स र लेनिन बौद्धिकताप्रति काविल थिए । आलोचनात्मकरूपमा विषयवस्तु बुझ्ने प्रदीपजीको सबैभन्दा राम्रो गुण हो ।” 
 
उनी कसैप्रति अन्धधुन्ध समर्थक हुँदैन थिए । मार्क्स, गन्धी, राममनोहर लोहिया, जयप्रकाश नारायणन् र विपी कोइरालाप्रतिको दृष्टिकोणसमेत सम्मानजनक र आलोचनात्मक राख्ने गिरीजी त्यस्तो विचार प्रकट गर्न सक्ने माथिल्लो स्तरको व्यक्ति भएको बताउँदै नेता कार्कीले भने, “गिरी आलोचनात्मक दृष्टिकोण भएको प्रजातन्त्रवादी र मानवतावादी चिन्तक थिए ।” रासस