मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस नेता गिरिको निधनप्रति शीर्ष नेताहरुद्वारा दुःख व्यक्त

कांग्रेस नेता गिरिको निधनप्रति शीर्ष नेताहरुद्वारा दुःख व्यक्त


काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक नेता गिरिको निधनप्रति नेपालका शीर्ष नेताले दुःख प्रकट गरेका छन् ।

एक सच्चा र असल नेता गुमाएँ

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । 

 
प्रधानमन्त्री देउवाले एक ट्विट गर्दै भनेका छन्, “नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु ।”
 
उनले नेता गिरीको निधनले नेपालको एक सच्चा र असल नेता गुमाएको बताएका छन् । 
 
प्रधानमन्त्री देउवाले दिवंगत नेता गिरिको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।  
क्यान्सर रोगबाट पीडित नेता गिरीको शनिबार राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो । 
 
राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरिको निधनको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेकी छन् । 
 
राष्ट्रपति भण्डारीले आइतबार बिहान ट्वीट गर्दै “गिरीको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ”, भनेकी छन् । राष्ट्रपति भण्डारीले शोकाकूल परिवारमा गहिरो समवेदना पनि प्रकट गरेकी छन् । 
 
प्रचण्डद्वारा श्रद्धाञ्जलि व्यक्त
 
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरिको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् । 
 
अध्यक्ष दाहालले आइतबार एक शोक सन्देश जारी गर्दै नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं कांग्रेसका नेता गिरिको निधनले स्तब्ध बनाएको बताएका हुन् । 
 
उनले गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा ‘एक गहिरो अभाव’को अनुभूति गर्दै स्व गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । अध्यक्ष दाहालले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । 
 
शनिबारमात्रै अध्यक्ष दाहालले उनी उपचाररत अस्पताल पुगेर पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका छन् । नेता गिरीको शनिबार राति निधन भएको हो ।
 
गिरिको दर्शन र विचार अमर
 
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन् । गृहजिल्ला तनहुँको दमौलीमा रहेका पौडेलले शनिबार राति शोक वक्तव्य जारी गर्दै गिरीको निधनले अत्यन्त मर्माहत भएको उल्लेख गरेका छन् । 
 
समाजवादी चिन्तक गिरीको दर्शन, विचार सदैव अमर रहने जनाउँदै वरिष्ठ नेता पौडेलले गिरीको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । 
 
नेता गिरीको उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको हो । प्रतिनिधिसभाका सांसदसमेत रहेका उहाँ लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपश्चात नेपाल फर्किएका हुन् । 
 
घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका उनी गत ९ साउनमा मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

नेता गिरीको निधनबाट मर्माहत
 
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता  प्रदीप गिरीको निधनबाट आफू मर्माहत भएको बताएका छन् । 
 
अध्यक्ष ओलीले आइतबार बिहान ट्वीट गर्दै “चिन्तनशील राजनीतिकर्मी मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु ।” 
 
नयाँ समाजवादी धारको विकासमा क्षति 
 
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट नयाँ समाजवादी धारको विकासमा ठूलो क्षति पुगेको बताएका छन् । 
 
पैतालीस वर्ष निरन्तर गिरीसँगको गहन बौद्धिक विमर्शले आफूलाई ठूलो ऊर्जा प्रदान गर्ने गरेको स्मरण गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले गिरीको निधनमा निःशब्द रहेको जनाएका छन् । 
 

“नयाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई उहाँको निधनले ठूलो क्षति पुगेको छ”, अध्यक्ष भट्टराईले ट्वीटमा भनेका छन् । उनले गिरीप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना प्रकट गरेका छन् । 

मुख्यमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त
 
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । मुख्यमन्त्री पाण्डे केहीबेर अगाडि ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा पुगेर गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । 
 
भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका नेता गिरीको अस्पतालमै शनिबार राति ९ः३० बजे निधन भएको थियो । गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न अस्पताल परिसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तक अहिले भेला भएका छन् । 
 
पूर्वराष्ट्रपति डा रामवरण यादव, गृहमन्त्री बालकृष्ण खाण, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, डा शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य उदयशम्शेर राणालगायत अस्पताल पुगेर उनीहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । रासस