मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव : प्रधानमन्त्री देउवा

गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव : प्रधानमन्त्री देउवा


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन् । 
 
नेपाल प्राध्यापक सङ्घको हीरक जयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले मुलुकको उच्च शिक्षालाई समस्यामुक्त बनाई योग्य एवं दक्ष जनशक्ति तयार गर्न प्राध्यापक थप जिम्मेवारीका साथ क्रियाशील हुनु आवश्यक रहेकामा जोड दिए ।
 
प्रधानमन्त्री देउवाले भने, “विद्यार्थीले पनि आधुनिक युगको शिक्षालाई आत्मसात् गर्दै अघि बढ्नु आवश्यक छ । उच्च शिक्षामा सुधार सँगसँगै हाम्रा परम्परागत ज्ञान, सीप, धर्म, संस्कृति, दर्शन, सङ्गीत र साहित्यको संरक्षण र सम्वर्द्धन गर्दै नयाँ पिँढीमा ज्ञान तथा सीप हस्तान्तरणका लागि ध्यान दिन जरुरी छ । यस विषयमा आगामी दिनमा नेपालका प्राध्यापक र विद्यार्थी सक्रिय हुनुहुने विश्वास लिएको छु ।”
 
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने बौद्धिक वर्गको पहलमा विसं २०१९ मा स्थापित नेपाल प्राध्यापक सङ्घले प्राध्यापकको हकअधिकारको संरक्षण र प्राज्ञिक स्वतन्त्रताका लागि पु¥याउँदै आएको योगदान अतुलनीय छ । सङ्घले स्थापनाकालदेखि नै विश्वविद्यालयको शैक्षिक उन्नयनका साथै प्राज्ञिक स्वतन्त्रता र प्राध्यापकको हकअधिकारका लागि सधैँ अग्रपङ्क्तिमा रही कार्य गर्दै आएको छ । 
 
प्रधानमन्त्री देउवाले आगामी दिन पनि प्राध्यापकको व्यावसायिक हकहितका साथै विश्वविद्यालयीय शिक्षालाई थप गुणात्मक, अनुसन्धानमूलक र जीवनोपयोगी बनाउन सङ्घले अझ गहन र रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
 
प्राध्यापकको प्रतिभा र ज्ञानको उच्चतम् सदुपयोग गर्नसकेमा मात्र मुलुकको चौतर्फी विकास हुनसक्ने बताउँदै उनले यस तथ्यलाई मनन गरी प्राध्यापकको हकहितको संरक्षण गर्दै उनीहरूको पेशागत वृत्तिविकासलाई सहयोग पु¥याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले छ दशक लामो इतिहास बोकेको प्राध्यापक सङ्घले आफ्ना माग र हकहितका विषयलाई उठाउँदा जिम्मेवार भएर विश्वविद्यालयको पठनपाठनमा कुनै आँच आउन नदिने तथा शैक्षिक क्यालेण्डरमा कुनै प्रतिकूल अवस्था सिर्जना हुन दिनु हुँदैन भने । 
 
विश्वविद्यालयमा स्वस्थ प्राज्ञिक वातावरण निर्माणका लागि प्राध्यापक, विद्यार्थी र पदाधिकारी तीनवटै पक्षबीच सुमधुर र सौहार्द्रपूर्ण सम्बन्ध कायम हुन आवश्यक रहेको उनको भनाइ थियो ।
 
प्रधानमन्त्री देउवाले विश्वविद्यालयलाई अस्वच्छ राजनीतिबाट मुक्त राख्दै देश र समाजका लागि उपयोगी शिक्षित जनशक्ति उत्पादन गर्ने केन्द्रका रूपमा विकास गर्न जरुरी रहेको उल्लेख गरे । उनले भने, “गरिमामय इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयलगायतका अन्य विश्वविद्यालयको साख र गरिमालाई बचाइराख्न सम्पूर्ण प्राध्यापक, प्राज्ञिक, पदाधिकारी र विद्यार्थीबीच सुमधुर सम्बन्ध कायम हुनु आवश्यक छ ।”
 
विश्वविद्यालयका समस्या र चुनौतीलाई आपसी संवाद र छलफलबाट समाधान गर्नुपर्ने कुरामा जोड दिँदै उनले यसमा प्राध्यापक सङ्घको पनि रचनात्मक भूमिकाको अपेक्षा गरे । कुनै पनि मुलुकको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्ने उल्लेख गर्दै उनले विश्वविद्यालयले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेका नयाँनयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए ।
 
यस कार्यमा प्राध्यापकले पनि आआफ्नो ठाउँबाट आवश्यक सहयोग पु¥याउने उनको विश्वास थियो । “पञ्चायतकालमा प्रजातन्त्रका लागि लडेका र पछिल्लो समय लोकतान्त्रिक गणतन्त्र स्थापनामा अह्म भूमिका निभाएका प्राध्यापक र विद्यार्थीको भूमिका अबका दिनमा फेरिएको छ । अब विश्वविद्यालयको शैक्षिक गुणस्तरलाई उच्च र प्रतिस्पर्धी बनाउन प्राध्यापक निरन्तर प्रयत्नरत हुनु आवश्यक छ । समग्र प्राध्यापकको नेतृत्व गर्ने नेपाल प्राध्यापक सङ्घलाई आफ्नो विगतको सङ्घर्षशील पाटो परिवर्तन गर्दै प्राज्ञिक बहसमा केन्द्रित भई समृद्ध मुलुक बनाउने सरकारको अभियानमा सहभागी हुन अनुरोध गर्न चाहन्छु”, प्रधानमन्त्री देउवाले भने ।
 
उनले मुलुकको भविष्यसँग जोडिएको विश्वविद्यालयको पठनपाठनलाई गुणस्तरीय, समसामयिक र प्रविधिमैत्री हुनेगरी अघि बढाउने मूल जिम्मेवारी बोक्नुभएका  प्राध्यापकले उच्च शिक्षालाई अनुसन्धानमूलक, जीवनोपयोगी, समाजोपयोगी र रोजगारमूलक बनाउँदै देश र जनताको हितमा आफूलाई अझ समर्पित गर्दै जाने विश्वास व्यक्त गरे । रासस