मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाघको बासस्थान व्यवस्थापन गर्न आवश्यक : प्रधानमन्त्री देउवा

बाघको बासस्थान व्यवस्थापन गर्न आवश्यक : प्रधानमन्त्री देउवा


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृतिको विशिष्ट र दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघ आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण रहेको बताएका छन् । 
 
विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय बाघ संरक्षण समिति नेपालद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले बाघको संरक्षणबाट वातावरण स्वच्छ हुने भएकाले यसको संरक्षणमा जुट्न आह्वान गरे । बाघ पाइने विश्वका सीमित देशमध्ये नेपाल पनि एक भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले बाघको संरक्षणबाट पर्यटकीय क्रियाकलाप गरी आर्थिक उपार्जन बढ्ने बताए ।
  
“बाघको संरक्षण वृद्धि सुखद, नेपालले सन् २०१० रुसको सेन्ट पिटर्सवर्गमा गरिएको सम्मेलनको महत्त्वाकाङ्क्षी योजनाअनुसार लक्ष्य पूरा गर्न योगदान गर्ने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु, बाघका लागि पर्याप्त आहार र विचरण क्षेत्र नहुँदा मानवबस्तीमा पसेर दुःखद् घटना हुने गरेकाले यसबाट सचेत हुनुपर्ने समय आएको छ, जनता ठूलो कि जनावर ठूलो भन्ने बहस चलेको छ”, उनले भने ।
 
बाघको बासस्थान व्यवस्थापन गरेर  स्थानीयवासीको जीविकोपार्जन सुधार गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाले बताए । बाघ संरक्षणका चुनौती अन्त्य गर्न थप अध्ययन अनुसन्धान आवश्यक भएको भनाइ उनले राखे । संरक्षित क्षेत्र वरपरको बस्तीलाई सुरक्षित गर्न आवश्यक भएको पनि प्रधानमन्त्री देउवाले बताए ।
  
बाघको छला, हड्डीलगायतका कारण चोरी सिकारी हुनसक्ने भएकाले संरक्षणका चुनौती सामना गर्ने गरी तयारी गर्न मन्त्रालयलगायत सरोकार  निकायलाई उनले निर्देशन दिए । उनले बाघ संरक्षणका लागि कर्मचारी वृद्धि, क्षमता वृद्धि, अन्तर्राष्टिय सहायता संस्थासँग समन्वय आवश्यक भएको धारणा राखे । 
 
हालै सरकारले वन्यजन्तु मैत्री पूर्वाधार निर्देशिका जारी गरेकाले त्यसअनुसार काम हुने विश्वास प्रधानमन्त्री देउवाले व्यक्त गरे । समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बाघको संरक्षणका लागि मन्त्रालय र यसअन्तर्गतका निकायलाई आग्रह गरे । बाघ संरक्षणका क्षेत्रमा राम्रो काम गर्नेलाई पुरस्कृत गर्न पनि उनले सुझाव दिए ।
  
“नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन बाघ पनि महत्त्वपूर्ण भएकाले यसको संरक्षण गर्नु आवश्यक छ, बाघको संरक्षणका लागि वन क्षेत्रको विकास गर्नुपर्छ, यसका लागि प्रकृति संरक्षण कोषले पनि ध्यानदिनुपर्छ”, अध्यक्ष नेपालले भने ।  
  
प्रकृतिको संरक्षण गर्न नसके कुनै पनि जनावरको रक्षा गर्न नसकिने भएकाले  सबैले आआफ्नो स्थानबाट संरक्षणमा जुट्नुपर्ने उनको भनाइ थियो । वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले बाघको संरक्षण गर्दा सङ्ख्या वृद्धि हुनुका साथै वातावरण संरक्षणमा पनि सहयोग पुग्ने भनाइ राखे । 
 
बाघको सङ्ख्या वृद्धिका लागि विशेष कार्यक्रम सुरु गरिएको उनले बताए । बाघ पाइने स्थानको पहिचान गरी नेपाली सोनाकोसमेत सहयोगले बाघ संरक्षण गर्न सकिएको उनले जानकारी गराए ।   
 
सो अवसरमा हाल नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको जानकारी गराइएको थियो । सन् २०१० अघि १२१ बाघमात्र नेपालमा थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक रामचन्द्र कँडेलले सन् २०१० मा बाघको सङ्ख्या घटेकामा हाल उल्लेखनीयरुपमा बढेको बताए । 
 
नौ प्रजातिका बाघमध्ये विश्वमा तीन प्रजाति लोप भएर तीन प्रजातिमात्र थियो । विश्वका १३ देशले गरेको प्रतिबद्धताअनुसार नेपालले दोब्बर बनाउन सफल भएको जानकारी पनि उनले दिए । बाघ संरक्षणमा नेपाल सफल देशका रुपमा स्थापित भएको छ । रासस