मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘सदनमै सङ्घीयता विरोधी आवाज उठ्यो, त्यसलाई प्रतिबन्ध लगाऔँ’

‘सदनमै सङ्घीयता विरोधी आवाज उठ्यो, त्यसलाई प्रतिबन्ध लगाऔँ’


काठमाडौँ । सिङ्गो मुलुक सङ्घीयतालाई सबल र सुदृढ बनाउँदै अगाडि बढिरहेको अवस्थामा संसद्मै सङ्घीयता विरोधी अभिव्यक्ति आउन थालेको भन्दै त्यसलाई प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको छ । 
 
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद प्रमोद साहले जनताको बलिदानबाट प्राप्त सङ्घीयतालाई कमजोर बनाउने अभिव्यक्ति दिने छूट कसैलाई पनि नभएको बताए । 
 
“सङ्घीयता त्यत्तिकै आएको होइन, उत्पीडनमा रहेका जनताको त्याग र बलिदानबाट आएको सङ्घीयतालाई कसैले कमजोर बनाउन सोचेको छ भने त्यो दिवा स्वप्न मात्र हो”, उनले भने, “संसद्मै केही पार्टीका नेताले सङ्घीयता विरोधी अभिव्यक्ति दिएका छन्, म त्यसप्रति खेद प्रकट गर्दछु, सङ्घीयतालाई कमजोर बनाउने विषय संसद्मा उठ्छ भने त्यसलाई प्रतिबन्ध लगाउनुपर्छ ।” उनले त्यस्ता आवाजलाई कुण्ठित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरे ।  
 
मुलुक सङ्घीयतामा गएकै कारण राज्यका निकायमा महिला, दलित, जनजाति, उत्पीडित तथा उपेक्षित वर्गको प्रतिनिधित्व बढेको भन्दै उनले सङ्घीयतालाई बलियो बनाउन सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । प्रतिपक्षी दलका केही नेताले संसद्मै सङ्घीयता विरोधी आवाज उठाउन थालेको भन्दै उनले उत्पीडित जनता आफैँले सङ्घीयताको रक्षार्थ कुनै कसर बाँकी नराख्ने बताए । रासस