मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उपसभामुखमा कांग्रेसकी सचेतक पुष्पा भुसाल निर्वाचित

उपसभामुखमा कांग्रेसकी सचेतक पुष्पा भुसाल निर्वाचित


काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले उपसभामुख पदमा सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ । 
 
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा भएको उपसभामुख पदको निर्वाचन प्रक्रियामार्फत भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४८ मत, उक्त प्रस्तावको विपक्षमा ९३ र मत दिन्न भन्नेमा एक मत परेको थियो । बैठकमा जम्मा २४२ जना सांसद्को उपस्थिति रहेको थियो ।
 
सांसद् भुसालले प्राप्त गरेको मत प्रतिनिधिसभामा तत्काल कायमको सङ्ख्याको बहुमत भएकाले उनी उपसभामुख पदमा निर्वाचित भएको सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा घोषणा गरेका थिए । 
 
यसअघि, बैठकमा सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले ‘यस सभाका माननीय सदस्य श्री पुष्पा भुसाल (गौतम)लाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावको नेकपा (एकीकृत समाजवादी)की सांसद् लक्ष्मीकुमारी चौधरीले समर्थन गरेकी थिइन् ।
 
त्यस्तै, बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)की सचेतक शान्ता चौधरीले ‘यस सभाका माननीय सदस्य श्री विद्या भट्टराईलाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्तावको एमालेकै सांसद् कृष्णभक्त पोखरेलले समर्थन गरेका थिए ।
 
दुवै प्रस्तावमाथिको संयुक्त छलफलमा सांसद्हरू खगराज अधिकारी, डा मिनेन्द्रप्रसाद रिजाल, जयपुरी घर्ती, सरलाकुमारी यादव, सुरेन्द्रप्रसाद यादव, चन्दा चौधरी, राजेन्द्र लिङ्गदेन, दुर्गा पौडेल, प्रेम सुवाल, शेरबहादुर तामङ, चित्रलेखा यादव, रामकुमारी चौधरी र बिन्दा पाण्डेले भाग लिएका थिए ।
 
छलफलको क्रममा राप्रपाका सांसद् राजेन्द्र लिङ्गदेनले प्रमुख प्रतिपक्षी दल एमालेको तर्फबाट उपसभामुख पदकी उम्मेदवार भट्टराईलाई आफ्नो पार्टीको समर्थन रहेको बताएका थिए । 
 
तत्कालीन उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले २०७६ साल माघ ६ गते आफ्नो पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहेको थियो । करिब साढे दुई वर्षपछि प्रतिनिधिसभाले उपसभामुख पाएको हो । प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन ४ गते बिहान ११ बजे बस्ने छ । rasas