मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सेनाले दक्षताका साथ थप जिम्मेवारी निभाउँदै आएको छ : प्रधानसेनापति शर्मा

सेनाले दक्षताका साथ थप जिम्मेवारी निभाउँदै आएको छ : प्रधानसेनापति शर्मा


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले व्यावसायिक दक्षताका साथ सरकारले दिएको थप जिम्मेवारी नेपाली सेनाले निभाउँदै आएको बताएका छन् । 
 
नेपाली सेनाको काठमाडौँ–तराई-मधेस दु्रतमार्ग सडक आयोजनाले सोमबार आयोजना गरेको ‘केटिएफटी जर्नल भोलम दुई’ को विमोचन कार्यक्रममा उनले सेनाले विकास निर्माणका काममा पनि सहभागी भएर कतिपय योजना सम्पन्न गरिसकेको र कतिपय सम्पन्न गर्ने क्रममा रहेको उल्लेख गरे । 
 
रणनीतिक र दीर्घकालीन महत्त्वको राष्ट्रिय गौरवको द्रुतमार्ग निर्माणको काम सेनाले अघि बढाइरहेको उनले बताए । उनले भने, “विकास निर्माणमा देखिएका समस्या अभिलेखीकरण गर्दै गहन सोध आवश्यक छ ।”
 
आयोजना प्रमुख विकास पोखरेलले विकास निर्माणसम्बन्धी लेखले नागरिक सैनिक सम्बन्ध बलियो बन्ने बताए । लेख रचना मूल्याङ्कन समितिका प्रा डा ध्रुव कार्कीले सेनाले लेख रचनाको सङ्कलन र प्रकाशन गर्दा सेना र प्राज्ञिक क्षेत्रको सम्बन्ध मजबुत बन्ने विश्वास व्यक्त गरे । 
 
प्रधान सेनापति शर्माले खुला सामरिक लेखरचना प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई पुरस्कार प्रदान गरे । आशिष अधिकारीको लेख पहिलो, वीरञ्ची पौड्यालको दोस्रो र अशोक ढकाल र सपना पाठकको लेख तेस्रो भएको छ । ्
 
पुरस्कारको राशि पहिलो रु दुई लाख, दोस्रो रु एक लाख ५० हजार र तेस्रो रु एक लाख रहेको छ । कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा सहभागी थिए । रासस