मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चेतनामूलक विद्यालय सामग्री कार्यान्वयन गर्न त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर

चेतनामूलक विद्यालय सामग्री कार्यान्वयन गर्न त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर


चितवन । स्थानीय सरकार–समुदाय–प्रहरी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवन र रत्ननगर नगरपालिकाले तयार गरिएको चेतनामूलक विद्यालय पाठ्यसामग्री कार्यान्वयनका लागि शनिबार त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन र रत्ननगर नगरपालिकाको सहकार्यमा प्रकाशित पाठ्यसामग्री विद्यालय र क्याम्पस तहमा लागू गर्न प्रहरी, स्थानीय सरकार, सामुदायिक विद्यालय, निजी विद्यालय र क्याम्पसबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले सामाजिक अपराधका घटना न्यूनीकरण गर्न विकृति सुधार गर्न विद्यार्थीलाई सचेत गराउने उद्देश्यले प्रहरी र स्थानीय सरकारको सहकार्यमा प्रकाशनमा ल्याइएको सो पुस्तक रत्ननगरका सामुदायिक र निजी विद्यालयमा पाठ्यक्रमका रुपमा सिकाइने बताए ।

समाजमा हुने विभिन्न आपराधिक घटना न्यूनीकरणका लागि हरेक विद्यालयले कम्तीमा एक घन्टा चेतनामूलक अभिमुखीकरण शिक्षा दिनुपर्ने उनले बताए । उनले भने, ‘समाजमा विकृति र विसंगति अन्त्य गर्नका लागि विद्यालय शिक्षाबाटै चेतनामूलक पाठ्यसामग्रीको बारेमा जानकारी दिनुपर्छ । अनिमात्रै शान्तिपूर्ण र सुरक्षित समाज स्थापना गर्न सकिन्छ । ’
विद्यालयमा हरेक दिन यस्ता चेतनामूलक सन्देश प्रवाहित गर्न सकिए विद्यार्थी कुलतमा लाग्ने, बाटो बिराउनेजस्ता समस्या अन्त्य हुने र विद्यार्थीले सिकेका कुराहरुले आफ्नो परिवार र समाजमा पनि सकारात्मक प्रभाव पार्ने भएकाले दीर्घकालीन योजनाका साथ समझदारीअनुरुप अगाडि बढ्नुपर्नेमा नगरप्रमुख सापकोटाले जोड दिए ।
सो अवसरमा उपप्रमुख यादवप्रसाद पाठकले पुस्तक कार्यान्वयनको पक्षलाई प्रभावकारी बनाउँदै सामाजिक अपराध नियन्त्रणको महत्त्वपूर्ण साधनको रुपमा पुस्तकलाई स्थापित गर्नुपर्ने बताए । 
पुस्तकमा लागूऔषध दुर्व्यसनी, धूमपान, मद्यपान, साइबर क्राइम र उजुरी, सामाजिक सञ्जालको समुचित प्रयोग, सामाजिक अपराध, घरेलु हिंसा र उजुरी दिने कार्यविधि, करणीसम्बन्धी कसुर, ट्राफिक सचेतना, विपद् जोखिम र न्यूनीकरण, आत्महत्याका संकेत र बचाउने तरिका, घटनास्थलको सुरक्षा, अपराधको स्रोत, घटना रोकथामका उपायहरु, असल मानिसको कतव्य र जिम्मेवारी, चितवन प्रहरीमा उजुरी दिने तथा सम्पर्कका माध्यमहरु, आत्मरक्षा र बच्ने उपायहरुका विषय समावेश गरिएको छ ।
नगर प्रमुख सापकोटाको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयमा सो पुस्तक अध्यायपन गराउने गरी सामुदायिक विद्यालयको तर्फबाट ओमशान्ति आधारभूत विद्यालयकी प्रधानाध्यापक राधाकुमारी चौधरी, निजी विद्यालयको तर्फबाट प्याब्सन रत्ननगरका अध्यक्ष पशुपति उपाध्याय र सामुदायिक क्याम्पसको तर्फबाट शहीद स्मृति बहुमुखी क्याम्पसका सहप्राध्यापक रामहरि भण्डारीले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । 
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख सुुशीलसिंह राठौर, रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, वडा नं १० का वडाध्यक्ष कलाधर पौडेल, सामुदायिक सेवा केन्द्र नारायणढकी अध्यक्ष मीना खरेल, सामुदायिक सेवा केन्द्र रत्ननगरका अध्यक्ष भूपेन्द्र अधिकारीलगायतले समाजलाई अपराधमुक्त बनाउन स्थानीय सरकार–समुदाय–प्रहरी कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका जनप्रतिनिधि, शैक्षिक संस्थाका प्राध्यापक, प्राचार्य, शिक्षक, सञ्चारकर्मी तथा सामुदायिक सेवा केन्द्रका प्रनिनिधिहरुको सहभागिता रहेको थियो । 
कार्यक्रम इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी रवीनबाबु रेग्मीले सञ्चालन गर्दै समुदाय–प्रहरी गर्दै हातेमालो गर्दै अपराध न्यूनीकरणमा सहयोग गर्नुपर्ने बताएका थिए । प्रहरीले समुदायलाई सचेत गर्ने काम गरे पनि विद्यालयले विद्यार्थीलाई सचेतना दिनुपर्ने उनको भनाइ थियो ।