मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

एएनएनको सम्मेलन ड्यालसमा सुरु (भिडियो सहित)

एएनएनको सम्मेलन ड्यालसमा सुरु (भिडियो सहित)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) – एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) को सम्मेलन शनिबारदेखि टेक्ससको ड्यालस कोपेल सिटीमा सुरु भएको छ ।
 
नेपालका पूर्बमन्त्रीद्वय डा. मिनेन्द्र रिजाल  र  महेन्द्रबहादुर पाण्डेले दुई दिने सम्मेलनको विशेष कार्यक्रमबीच उद्घाटन गरेका छन् । कार्यक्रममा अमेरिकाका र क्यानडामा रहेका नेपालीहरुको सहभागिता छ । 
कार्यक्रमको उदघाटन गर्दै पूर्व रक्षा तथा सञ्चारमन्त्री डा. रिजालले आफू विद्यार्थीका रुपमा अमेरिकामा रहँदाको स्मरण गरे । ‘म सन् १९८७ देखि १९९६ सम्म अमेरिकामा बसेर अध्ययन गरेँ । त्यसबीचमा सन् १९९४ को एएनए सम्मेलनमा सहभागि हुँदाको याद अहिलेसम्म ताजै छ’ उनले भने । 
 
डा. रिजालले अमेरिकाबाटै विद्यावारिधी अध्ययन सम्पन्न गरेका हुन् । अध्ययन सम्पन्न गरेपछि सन् १९९७ मा नेपाल फर्किएका हुन् । 
 
पूर्बमन्त्री तथा सांसद रिजालले नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स अमेरिकाबाटै गइरहेको र देशको अर्थतन्त्र बचाउन अमेरिकामा रहेका नेपालीहरुको ठूलो योगदान रहेको पनि चर्चा गरे । 
कार्यक्रममा पूर्ब परराष्ट्रमन्त्री पाण्डेले अमेरिकामा रहेका नेपालीहरुले रेमिट्यान्स पैसामा भन्दा पनि प्रविधि, शीप र शिक्षामा पठाउन जोड दिए । ‘अमेरिकामा तपाईहरुले सिक्नुभएको शीप, दक्षता र प्रविधिलाई नेपालमा भित्राउन सकेमा देशले छिट्टै विकास गर्नेछ’ उनले भने–‘त्यसका लागि तपाईहरु हरदम तयार भएर बस्न आग्रह गर्दछु ।’
एएनएका अध्यक्ष विजयराज भट्टराईको सभापतित्वमा भएको उद्घाटन समारोहमा स्थानीय अर्भिङ सिटीका मेयर रिक स्टोफर, कोपेलका मेयर वेज मेयस, टेक्ससको तल्लो सदनकी सदस्य टेरी मेजा, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, एनआरएनएका महासचिव गौरीराज जोशी, एएनएका प्याट्रोन अञ्जन श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
 
कर्यक्रममा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पठाएको शूभकामना सन्देश समेत पढेर सुनाइएको थियो । सन् १९८३ मा स्थापना भएको एएनए अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था हो । 
 
बिभिन्न सेसनहरुको सम्पन्न :

एएनए सम्मेलनकै दौरानमा शनिबार बिभिन्न चारवटा सेसनहरु सम्पन्न भएका छन् । नेपाल र अमेरिका जोड्ने गरि भएका तीन सेसनहरुमा सहभागी भएर नेपाली समुदायका सदस्यहरुले जिज्ञासाहरु राखेका थिए । 
 
अमेरिकाको मुलधारको राजनीतिमा नेपालबाट आएकाहरुको सहभागिताका बारेमा भएको पहिलो सेसनमा अमेरिकी राजनीतिकर्मीहरुले आफ्नो विचार राखेका थिए । पछिल्लो समयमा अमेरिकी न्यायालय, राजनीतिमा देखिएको समस्या र त्यसले नागरिकको अधिकारमा पारेको असरका विषयमा चिन्ता व्यक्त गरेका थिए । 
 
कार्यक्रममा हिमालयन डेमोक्रेटिक क्लबका अध्यक्ष प्रभात दीक्षित, उपाध्यक्ष सुदीप अधिकारी, ट्यारेन्ट काउन्टी डेमोक्रेटिक पार्टीकी अध्यक्ष एलिसन क्याम्पोलो, डेमोक्रेटिक पार्टीका नेता दिनेश शर्मा लगायतले धारणा राखेका थिए । 
 
चलचित्रको चासो:

कार्यक्रमको अर्को सेसन प्रवास र नेपाली चलचित्रका बारेमा केन्द्रित थियो । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय दर्शकसम्म लैजानका लागि अहिलेका समस्या र भविष्यमा हुनुपर्ने योजनाका बारेमा यो सेसनमा छलफल भएको थियो । 
 
नेपालबाट आएका फिल्मकर्मी युवाकर राजकर्णिकारले संयोजन गरेको छलफलमा निर्देशकद्वय शैलेस राज आचार्य, पूर्णसिंह बराइलीले अनुभव शेयर गरेका थिए । त्यस्तै कार्यक्रम संयोजक किरण पौडेल, प्रोफेसर प्रभात दीक्षित र शिलु घिमिरेले दर्शकको पक्षबाट नेपाली चलचित्रबाट चाहेका अपेक्षाका बारेमा बोलेका थिए ।
 
शनिबारनै नेपालमा लगानीको विषय र नेपाली समाज टेक्ससले प्रवासमा गर्दै आएका कार्यहरुका बारेमा पनि छुट्टै सेसनहरु सम्पन्न भएका छन् । केही सेसनहरुमा भने सहभागीहरुको निकै पातालो सहभागिता थियो ।