मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपालमा लगानी गर्न महावाणिज्य दूतावास अमेरिकाको आह्वान्

नेपालमा लगानी गर्न महावाणिज्य दूतावास अमेरिकाको आह्वान्

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क । अमेरिकी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न नेपाली महावाणिज्य दूतावासले आह्वान् गरेको छ । न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले नेपालमा लगानीका अवसरहरु विषयक अन्तर्क्रिया कार्यक्रम गरी अमेरिकी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आह्वान् गरेको हो । 
 
नेपाल अमेरिका कूट्नीतिक सम्बन्धको ७५ औँ वार्षिकोत्सवको अवसर पारेर न्यूयोर्कको म्यानह्याटनमा आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा न्युयोर्क र न्यूजर्सी राज्यका व्यवसायीहरुको सहभागिता रहेको थियो । ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्शसँगको सहकार्यमा महावाणिज्य दूतावासले बिहीबार आयोजना गरेको कार्यक्रममा दुई पक्षीय सम्बन्ध एवं लगानी प्रवर्द्धनका विषयमा छलफल भएको थियो । 
 
कार्यक्रममा कार्यबाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले नेपालको वैदेशिक लगानी नीति, कानुनी र संस्थागत संरचना एवं लगानीलाई प्रोत्साहन गर्न तथा व्यवसाय प्रवर्द्धन गर्न विदेशी लगानीकर्ताहरूलाई प्रदान गरिएका लगानी र सुविधाका प्रमुख क्षेत्रहरूबारे जानकारी गराएका थिए । 
 
उनले नेपालमा आर्थिक वृद्धि र रोजगारी सृजनाका लागि अमेरिकी लगानीकर्ताको लगानी र सहयोगको प्रशंसा पनि गरे । कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत गौतमले “नेपालमा लगानीका अवसरहरूः साझा समृद्धिको लागि मित्रता र व्यवसाय प्रवर्द्धन” विषयमा कार्यपत्रसमेत प्रस्तुत गरेका थिए । 
 
उदार र खुला वैदेशिक लगानी नीति र लगानीका विभिन्न क्षेत्रमा उपलब्ध अवसरहरूमा केन्द्रित उनले कार्यपत्रमा लगानी बोर्ड नेपालको प्रोजेक्ट बैंक, पूर्वाधार र दिगो विकासमा सहयोग गर्ने अन्य उदीयमान क्षेत्रका प्रमुख आयोजनाहरूका बारेमा उल्लेख गर्दै नेपालमा लगानी गर्न आह्वान् गरे । 
 
कार्यक्रममा ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्सका अध्यक्ष एवं सीईओ मार्क जाफले आफ्नो उद्घाटन मन्तव्यमा नेपालका चेम्बर र कन्सुलेट जनरल तथा न्यूयोर्कमा नेपाली व्यापारी समुदायबीचको साझेदारी विकास हुनुपर्ने विचार राखेका थिए । उनले नेपालसँग व्यापार आदानप्रदान र अन्तर्क्रिया प्रवर्द्धन गर्नुपर्ने विचार व्यक्त गरे ।
 
कार्यक्रममा चर्चित व्यवसायी डा. लियोङ यिङले नेपालसँगको आफ्नो वर्तमान संलग्नताको अनुभव स्मरण गरेका थिए । उनले नेपालमा चिकित्सा, पर्यटन, पूर्वाधार परियोजनामा प्रस्तावित लगानीलाई अन्तिम रूप दिने आशा व्यक्त गरेका थिए । त्यस्तै अर्का व्यवसायी जोन मेसरले विश्वका विभिन्न भागमा आफ्नो कम्पनीको उपस्थितिका बारेमा प्रष्ट्याउँदै नेपालमा नवीकरणीय उर्जा, कृषि लगायत हरियाली प्रवर्द्धनका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको जानकारी गराएका थिए । 
 
सम्भावित लगानीकर्ता, चेम्बरका सदस्य, एनआरएन प्रतिनिधि, नेपाली अमेरिकी व्यवसायी तथा व्यावसायिक समुदायले पनि नेपालमा लगानी पर्वद्धनका लागि आफ्नो विचार, सुझाव, भूमिका र योगदानको बारेमा धारणा राखेका थिए ।
 
कार्यक्रममा न्यूयोर्कका व्यवसायी समुदायलाई नेपालमा हालको लगानीको वातावरण र अवसरहरू, कानुनी प्रक्रिया एवं प्रोत्साहनका बारेमा विशेष जानकारी गराउनुका साथै डायस्पोराका नेपाली व्यवसायी तथा व्यावसायिक समुदायसँग जोडिने अवसर प्रदान गरेको थियो ।