मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

विविधतामा एकताको सन्देश दिदै : अमेरिकामा ‘नेपाल उत्सव-२०७९’ सम्पन्न

विविधतामा एकताको सन्देश दिदै : अमेरिकामा ‘नेपाल उत्सव-२०७९’ सम्पन्न

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‘सयौं फूलका थुंगा हामी, एउटै माला नेपाली’ … यो नेपाल र नेपालीलाई हृदयदेखि नै माया र  सम्मान गर्ने जो कोहीले गाउने ‘नेपाली राष्ट्रिय गान’ हो। हिजोआज राष्ट्रिय भावनाले ओतप्रोत यो ‘नेपाली राष्ट्रिय गान’ नेपालमा मात्र नभएर, विदेशमा पनि उत्तिनै प्राथमिकताका साथ गुंजयमान हुन थालिरहेको छ। यसै क्रमममा अमेरिकाको मासाचुसेट्स् राज्यको समरभिल सिटीमा आयोजित ‘नेपाल उत्सव-२०७९’ मा बढो गर्वका साथ यो गीत गुन्जाइयो। जसले ‘नेपालको साँस्कृतिक विविधतामा एकता ‘भन्ने मुल नाराका साथ आयोजित ‘नेपाल उत्सव-२०७९’ लाई सफल तुल्याउन सुत्रधारको भूमिका निर्वाह गर्यो।
‘जहाँ नेपाली तन, त्यहाँ नेपाली पन’ भन्ने मुल मर्मलाई आत्मसात् गर्दै आयोजित यस बृहत् कार्यक्रममा, नेपाली कक्षा, बोस्टन(NCB)मा आबध्द बालाबालिकाहरुले आफ्ना कलिला बोलीहरुमा लोली मिलाउदै नेपाली राष्ट्रिय गान गाएर कार्यक्रम शुभारम्भ गर्दै गर्दा, सहभागीहरु भने नेपाल र नेपालीलाई अन्तरहृदयले नै संझदै साच्चै भावविभोर हुन वाध्य भएका थिए।नेपाल र नेपालीको पहिचानलाई केन्द्रमा राखिएका विविध गतिविधिहरुलाई समेटेर आयोजना गरिएको वृहत कार्यक्रम नेपाल उत्सवले, नेपालीहरुका बिच ‘विविधतामा एकता’ रहेको मुल सन्देश प्रवाह गर्न सफल भएको आयोजकले दावी गरेको छ। 
ग्रेटर बोस्टन नेपाली समाज, समरभिल कला परिषद र समरभिभा: आप्रवासी मामिलाको कार्यालयको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त नेपाल उत्सवले, मासाचुसेट्सवासी नेपाली भाषीहरुलाई संगठित गर्ने, नेपाली कला, भाषा, धर्म, संस्कृति, रितिरिवाज, परम्परा , पहिरन, खानपिन आदिको संरक्षण, सम्बर्धन तथा प्रवर्धन गर्ने र समग्र नेपाल र नेपालीलाई विश्व सामु चिरपरिचित गराउन सक्दो योगदान पुर्याउने मुख्य लक्ष्य राखेको थियो । 
कार्यक्रममा समरभिल सिटीका मेयर काट्जाना बाल्लानटाइन (Katjana Ballantyne)प्रमुख आतिथ्यता रहेको थियो। नेपाल र नेपालीको पहिचानलाई केन्द्रमा राखेर आयोजना गरिएको यस कार्यक्रमलाई प्राथमिकता दिदै प्रमुख आतिथ्यता ग्रहण गर्नु भएका बाल्लानटाइनले, सामाजिक क्रियाकलापहरुमा नेपाली समुदायले देखाउदै आएका सकारात्मक सामाजिक क्रियाशीलताको खुलेर प्रशंसा गर्दै, कार्यक्रमको सफलताको कामना गर्नु गर्नु भएको थियो। कार्यक्रममा उहाँले आगामी दिनमा पनि समरभिल सिटीले नेपाली समुदायसंग मिलेर काम गर्ने र  आवश्यक पर्दा सक्दो सहयोग गर्ने आश्वासन दिनु भयो।  
समग्रमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको कुरा आयोजकले जनाएको छ। कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै आयोजक संस्था ग्रेटर बोस्टन नेपाली समाजका उपाध्यक्ष तथा समरभिभा: आप्रवासी मामिलाको कार्यालयका नेपाली सेवा संयोजक परशुराम फुयालले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउनु भयो। कार्यक्रम सफल भएकोप्रति खुशी व्यक्त गर्दै फुयालले भन्नु भयो,’ सबैको अमुल्य अथक प्रयासमा लक्ष्य अनुसार कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। हामी सारै खुशी छौं। कार्यक्रम सम्पन्न गर्न प्रतक्ष्य अप्रतक्ष्य रुपमा सहयोग गर्नु हुने सबैलाई आयोजकहरुको तर्फबाट धन्यवाद !’ मासाचुसेट्स् राज्यमा बसोबास गर्ने आप्रवासी नेपाली तथा नेपाली भाषीहरुको संख्या निकै रहेको जिकिर गर्दै उहाँले भावी दिनहरुमा अन्य सहरहरुमा पनि नेपाल र नेपालीको पहिचानमा केन्द्रिकृत भएर विविध क्रियाकलापहरु गर्नु पर्नेमा जोड दिनु भयो। कार्यक्रमको सफलताले उत्साहित हुनु भएका फुयालले, आगामी दिनमा पनि आयोजना हुने विविध कार्यक्रमहरुमा यस्तै साथ सहयोगका लागि सबैलाई अनुरोध समेत गर्नु भयो। 
सन् २०१२ बाट मनाउन थालिएको नेपाल उत्सव, सन् २०१७ पछि विश्वव्यापि कोरोना कहरका कारण बृहत् रुपमा आयोजना गर्न सकिएको थिएन। कोरोना कहरपछि आयोजना गरिएको यस बृहत् ‘नेपाल उत्सव’ मा, विभिन्न नेपाली वेशभूषामा सजिएर आएका सहभागीहरुको उत्साहजनक सहभागिताले, 
नेपाल र नेपालीको मुख्य पहिचानको विशेषता ‘विविधताका बिच एकता’ झल्काउन सफल भएको आयोजकको दावी छ। 
कार्यक्रममा कलाकारहरुले नेपाल र नेपाली संझाउने र नेपाली पन तथा पहिचान झल्काउने मनोरञ्जनात्मक विविध साँस्कृतिक कलाहरु(वाद्यवादन, गायन तथा नृत्य) प्रस्तुत गरेका थिए भने, नेपाली स्वाद दिलाउने विभिन्न खानाका परिकारहरुका ३ वटा, नेपाली पहिचान बोकेका सामानहरुका १२ वटा र संस्थागत ३ वटा गरी कुल १५ वटा स्टलहरु रहेका थिए ।
करिब १५ देखि २० हजारसम्म नेपाली भाषीहरुको बसोबास रहेको अनुमान गरिएको अमेरिकाको यस मासाचुसेट्स् राज्यमा नेपाली भाषीहरुका विभिन्न संघ संस्थाहरुले,  लामो समयदेखि नेपाल र नेपाली भाषीहरुको पहिचान तथा उथ्थानका लागि संगठित भएर विविध सामाजिक क्रियाकलापहरु गर्दै आइरहेका छन्। तिनै कार्यक्रमहरु मध्यको यो ‘नेपाल उत्सव’ कार्यक्रमलाई प्राथमिकताका साथ बृहत् रुपमा मनाउदै आइरहिएको छ।