बोस्टन । अमेरिकामा रहेका प्रवासी नेपालीहरुको संगठन प्रवासी नेपाली मञ्च, अमेरिकाको राष्ट्रिय अधिवेशन अमेरिकाको म्यासाचुसेट्स् राज्यको बोस्टन सहरमा हुन गइरहेको छ। बोस्टनस्थित होटल म्यारियटमा यही जुन १७ देखि १९ सम्म सञ्चालन हुन गइरहेको तीनदिने राष्ट्रिय अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ।
‘सबल प्रवासी, समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ आयोजित मञ्चको तेश्रो अधिवेशनमा भाग लिनका लागि अतिथिहरु तथा प्रतिनिधिहरु बोस्टन आउनेक्रम जारी छ। कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्थायी कमिटीका सदस्य, विदेश विभाग प्रमुख एवं प्रवास इन्चार्ज तथा परराष्ट्रविज्ञ डा. राजन भट्टराई र विशेष अतिथिद्वय नेकपा (एमाले) संसदीय दलका सचेतक एवं सांसद शान्ता चौधरी र पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे बोस्टनमा आइपुगिसकेको मञ्चका सचिव कृष्ण लामिछानेले जानकारी दिए।
उनले जनाएअनुसार तीनदिने अधिवेशनलाई मुख्य गरी स्वागत तथा उद्घाटन सत्र, बन्द सत्र, निर्वाचन सत्र तथा समापन सत्रको ढाँचामा कार्यक्रम तालिका तय गरिएको छ। जसअनुसार स्वागत तथा उद्घाटन सत्रमा प्रमुख अतिथि तथा अतिथिहरुलाई स्वागत गर्नुका साथै मनोरञ्जनात्मक विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिनेछ। बन्द सत्रमा मञ्चका आर्थिक तथा सांगठानिक गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गरिने, त्यस उपर छलफल गरिने र पारित गरिनेछ।
यस्तै, निर्वाचन कार्यक्रम तालिकाअनुसार आगामी कार्यकालका लागि प्रजातान्त्रिक अभ्यासबाट नयाँ नेतृत्व चयन गर्ने र नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पदै अधिवेशनको समापन गरिने कार्यक्रम तालिका रहेको सचिव लामिछानेले प्रस्ट्याए ।
आयोजकले जनाएअनुसार अधिवेशनमा अमेरिकाको २४ राज्यहरुबाट १६३ जना प्रतिनिधिहरुले भाग लिँदैछन्। अधिवेशनमा अतिथि, प्रतिनिधि, सदस्य, पत्रकार, परिवेक्षक तथा सुवेच्छुकहरु गरी कुल दुई सयभन्दा बढीको सक्रिय सहभागिता रहने आयोजकको अनुमान छ।
मञ्चको विधानअनुसार प्रत्येक तीन वर्षमा अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गर्नुपर्ने भए तापनि, विविध कारणले समयमा गर्न नसकिएको मञ्चका अध्यक्ष प्रभु थापाले बताए। सन् २०१२ मा स्थापना भएको मञ्चले दोश्रो अधिवेशन सन् २०१७ मा सम्पन्न गरेको थियो।
विधानतः तेस्रो अधिवेशन सन् २०२२ मा सम्पन्न गर्नु पर्ने थियो। तर, कोरोना कहरसंगै अन्य विविध कारणले समयमा अधिवेशन गर्न नसकिएकोप्रति दुःख प्रकट गर्दै अध्यक्ष थापाले पाँच वर्षपछि हुन गइरहेको संस्थागत यस कुम्भ मेलामा सक्रिय सहभागिता जनाइ अधिवेशनलाई सफल बनाउन आवश्यक भूमिका निर्वाह गरिदिन हुन सम्बन्धित सबैलाई अनुरोध गरेका छन् ।
अधिवेशनको तयारीका सम्बन्धमा जानकारी दिँदै अध्यक्ष थापाले भने,‘अधिवेशनको सम्पूर्ण तयारी पूरा भैसकेको छ। कार्य विभाजन अनुसार साथीहरुले सम्पूर्ण तयारी पूरा गरिसक्नु भएको छ। अतिथि, प्रतिनिधि, पत्रकार, परिवेक्षक तथा शुभचिन्तकहरुलाई कार्यक्रममा सहभागिताका लागि निम्तो पुगिसकेको छ। र, कार्यक्रम स्थलमा पुग्ने क्रम सुरु भैसकेको छ।’ अध्यक्ष थापाले भने, ‘सबैलाई स्वागत गर्न हामी आतुर छौं। कार्यक्रममा सहभागी भइ कार्यक्रम सफल बनाइदिन हुन सबैलाई अनुरोध गर्दछु ।’
आन्तरिक विधानलाई संसोधन गरेर दुई वर्षे कार्यकाल बनाएको मञ्चले, आगामी दुई वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गर्न आन्तरिक रुपमा आवश्यक तयारीसमेत थालिसकेको छ। सर्वसम्मत हुन नसकेको खण्डमा प्रजातान्त्रिक अभ्यासबाट निर्वाचन गरेर नयाँ कार्यसमिति चयन गर्न मञ्च तम्तयार अवस्थामा रहेको जनाइएको छ ।

प्रतिक्रिया