मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा लायन्स क्लबको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति भण्डारी

नेपालमा लायन्स क्लबको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति भण्डारी


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लायन्स क्लबले स्वास्थ्य, शिक्षा र प्राकृतिक विपद्का क्षेत्रमा गरेको योगदान महत्त्वपूर्ण रहेको बताएकी छन् ।  
 
राष्ट्रपति कार्यालय शीतल निवासमा लायन्स क्लब अफ इन्टरनेसनलले आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा उनले क्लबले नेपालको अस्पताल, विद्यालय र बालगृह सञ्चालनमा पु¥याएको योगदानको चर्चा गरिन् । “नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय, बालगृहलगायत सञ्चालन गरिरहेको छ”, राष्ट्रपति भण्डारीले भनिन्, “यस्ता परियोजना सञ्चालन गर्दा न्यून प्रशासनिक खर्च लाग्ने गरेको सुन्दा खुसी लाग्यो ।”
 
कृषिमा व्यवसायीकरण र आधुनिकीकरण गर्न राज्यले ध्यान दिइरहेको र देशलाई रोजगार तथा आत्मनिर्भर बनाउन सामाजिक संस्थाको ठूलो भूमिका रहेको उनले उल्लेख गरिन् । 
 
राष्ट्रपति भण्डारीले भूकम्प, बाढीपहिराजस्ता समस्याले वर्षाको समयमा ठूलो धनजनको क्षति पु¥याउने गरेको हुँदा राज्यका साथसाथै सामाजिक संस्थाले पनि प्रकोप न्यूनीकरणमा सहयोग गर्नुपर्ने बताइन् । उक्त समारोहमा क्लबले राष्ट्रपति भण्डारीलाई अभिनन्दन गरेको थियो । 
 
कार्यक्रममा लायन्स क्लबले नेपालमा गरेको कामको विषयमा वृत्तचित्र समेत प्रस्तुत गरेको थियो । वृत्तचित्रमा आखाँ अस्पताल निर्माण, भूकम्पपछि १८ सामुदायिक विद्यालय निर्माण गरेर समुदायमा हस्तान्तरण तथा त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी बल्ड बैंक स्थापना गर्ने तयारी भइरहेकोजस्ता विषय समेटिएका थिए । सो अवसरमा क्लबका संस्थापक मूलचन्द राठी र किसनलाल दुगडलाई सम्मान गरिएको थियो । 
 
यस्तै, प्रजातन्त्र ल्याउन १०० तोला सुन दिएर सहयोग गरेकी इन्दुदेवी नौखलाई पनि सो अवसरमा राष्ट्रपति भण्डारीले सम्मान गरेकी थिइन् । 
 
कार्यक्रममा समाजसेवीत्रय नन्दकिशोर राठी, मुकुन्दराज पाण्डे र शेषनारायण श्रेष्ठलाई राष्ट्रपति भण्डारीले सम्मान गरेकी थिइन् । क्लबका अध्यक्ष रेवतबहादुर कार्कीले नेपालमा शिक्षा, स्वास्थ्य र प्राकृतिक प्रकोपको क्षेत्रमा सक्दो सेवा गर्ने प्रयास गरिरहेको र आगामी दिनमा पनि प्रयास जारी रहने बताइन् ।  
 
नेपालमा पहिलो पटक सन् १९७१ मा लायन्स क्लब अफ विराटनगरका नाममा पूर्वप्रधानमन्त्री स्व मात्रिकाप्रसाद कोइरालाको नेतृत्वमा स्थापना भएको थियो । अहिले नेपालमा करिब दुई हजार क्लब स्थापना भइसकेका छन् । लायन्स क्लबको मुख्य उद्देश्य समाज सेवा गर्ने हो । क्लबले खासगरी शिक्षा, स्वास्थ्य र प्राकृतिक विपद्को समयमा सहयोग गर्दै आएको छ । रासस