मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा रहेका नेपालीलाई एनआरएन परिचयपत्र लिन महावाणिज्य दूतावासको आग्रह

अमेरिकामा रहेका नेपालीलाई एनआरएन परिचयपत्र लिन महावाणिज्य दूतावासको आग्रह

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेको नेपाली महावाणिज्य दूतावासले अमेरिकामा रहेका नेपाली मूलका नागरिकलाई नेपाल सरकारले प्रदान गर्ने गैरआवासीय नेपाली परिचयपत्र लिन आग्रह गरेको छ । 
 
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आइतबार न्यूयोर्कको ज्याक्सन हाईट्समा आयोजना गरेको वृहत् सामुदायिक अन्तरक्रिया कार्यक्रममा कार्यवाहक महावाणिज्य दूत विष्णुप्रसाद गौतमले यस्तो आग्रह गरेका हुन् । सहभागीहरुले उठाएको प्रश्नको जवाफ दिँदै महावाणिज्य दूत गौतमले अमेरिकी राहदानी लिइसकेका नेपाली मूलका हरेक नागरिकलाई नेपाल सरकारले उपलब्ध गराउने एनआरएन परिचयपत्र लिन सुझाव दिए । 
 
१० वर्षको समयावधि हुने उक्त एनआरएन परिचयपत्रले धेरै फाइदा हुनेसमेत उनले दाबी गरे । नेपालमा सम्पत्ति लिन, संरक्षण गर्न वा त्यस्तै खालको हरेक कारोबार गर्न एनआरएन परिचयपत्र अनिवार्य भएको बताउँदै यस विषयमा अमेरिकामा रहेका नेपाली मूलका नागरिकहरु सुसुचित हुन आग्रह पनि गरे । उनले एनआरएनएले जारी गर्ने परिचय पत्र र नेपाल सरकारले जारी गर्ने परिचयपत्र नितान्त फरक भएको भन्दै त्यसका विषयमा सामाजिक अगुवाहरुले सबैलाई प्रष्ट पार्न आग्रहसमेत गरे । 

 
कार्यक्रममा महावाणिज्य दूत गौतमले अमेरिकामा नेपाली उत्पादन प्रवद्र्धन गर्नु हामी सबैको कर्तव्य भएको भन्दै यहाँ रहेका नेपाली एवं नेपाली मूलका नागरिकलाई नेपाली बस्तुको उपभोग गर्न आग्रह गरे ।  
 
न्यूयोर्कमा रहेका अधिकांश संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा महावाणिज्य दूत गौतमले दुतावासले दिने सेवाका बारेमा जानकारी गराएका थिए । उनले दुतावासले ई पासपोर्ट, एनआरएन कार्ड, मञ्जुरी नामा (पावर अफ अटोर्नी), भिजा सुविधा, जन्म, विवाह र मृत्यु दर्ता सिफारिस जस्ता सेवाहरु उपलब्ध गराइरहेको जानकारी दिए । त्यस्तै उहाँले महावाणिज्य दुतावासले नगद वा ई भुक्तानी लिन नसक्नुको कारण बारे पनि प्रष्ट पारे । 
 
महावाणिज्य दुत गौतमको जानकारी पछि सहभागीहरुले दूतावासले प्रदान गर्ने सेवाका विषयमा जिज्ञासा राखेका थिए । उनीहरुले एनआरएन कार्ड, राहदानी तथा विविध सिफारिसका विषयमा केन्द्रित रहेर प्रश्न गरेका थिए ।
 
कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै गौतमले ई पासपोर्ट अनिवार्य नगरिएको र यदि एमआरपी पासपोर्टको म्याद एक वर्ष बाँकी छ भने तत्काल नवीकरण गर्न सुझाव पनि दिए । उनले नेपालबाट राहदानी नविकरण गर्दा राष्ट्यि परिचय पत्र अनिवार्य भए पनि अमेरिकाबाट नवीकरण गर्दा ऐक्षिक बनाइएको जानकारी दिए। उनले तत्कालका लागि दुतावासले २ वर्षको अस्थायी राहदानी जारी गर्ने सम्बन्धमा पनि प्रष्ट्याएका थिए । 
 
कार्यक्रममा वाणिज्य दूत गणेशप्रसाद अधिकारीले सहभागीहरुको प्रश्नको जवाफ दिँदै महावाणिज्य दुतावास छिटो र छरितो ढंगबाट सेवा दिन सधैँ तत्पर रहेको बताए । उनले महावाणिज्य दुतावास सधै नेपाली समुदायसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको भन्दै कुनै पनि गुनासोलाई सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । 
 
दूतावासको कार्यक्षेत्र न्यूयोर्क, कनेक्टीकट र न्यूजर्सी भए पनि विवेकको आधारमा अन्य क्षेत्रमा बस्ने नेपाली एवं नेपाली मूलका नागरिकहरुलाई सेवा दिइरहेको भन्दै अधिकारीले समस्यामा रहेका नेपालीहरुको सेवामा महावाणिज्य दूतावास सधैँ तत्पर रहेको जानकारी दिए । 
 
नेजाकी उपाध्यक्ष मच्छेदेवी गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेजा कार्यसमिति सदस्य लोकमणि राईले स्वागत गरेका थिए ।  त्यस्तै अर्का सदस्य अनिल अधिकारीले सहभागीले उठाएका प्रश्नहरुको समन्वय गरेका थिए भने सचिव कल्पना घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए । अन्तरक्रिया कार्यक्रम नेजाका क्षेत्रीय संयोजक गोकुल श्रेष्ठको समन्वय एवं सञ्चालनमा सम्पन्न भएको थियो ।