रुपन्देही । भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा नौ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।
रुपन्देहीका ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार आइतबार बिहान ४ बजेर ४५ मिनेट जाँदा रोहिणी गाउँपालिका–३ मा पर्ने भैरहवा–परासी हुलाकी सडकखण्डमा पर्ने रोहिणी पुलमा जनकपुरबाट भैरहवा जाँदै गरेको लु२ख ३८४१ नंको बस दुर्घटना भएको थियो ।
प्रहरी निरीक्षक बस्नेतका अनुसार मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ । सनाखत भएका मृतकमा रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमा–२ का विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालिकानगरका कृष्णप्रसाद बस्याल र भारतका अरविन्द शर्मा छन् । प्रहरीले चालक निदाएर दुर्घटना भएको अनुमान गरेको छ ।
चौतीस जना यात्रु सवार बस खोलामा खस्दा घाइते भएकाहरूको भैरहवास्थित मेडिकल कलेज र भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार २६ जना पुरूष, ६ जना महिला र दुई बालिकामध्ये ८ जना पुरूष र १ जना महिलाको मृत्यु भएको छ भने घाइते सबैको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा अधिकांश घाइतेहरू बसभित्रै सिटले च्यापिएको अवस्थामा भेटिएको तथा चार–पाँच वर्षका दुई जना बच्चा भने बसभित्र उभिएर रोइरहेको अवस्थामा फेला पारी तत्काल बसबाट बाहिर निकालेको बस्नेतले जानकारी दिए ।
उत्तानो परेको बसको केही भाग खोलामा डुबेकाले पानीमा डुबेको कारण पनि घाइतेहरुको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । उत्तानो परेको बसलाई तीनवटा जेसिबीको सहयोगले उठाएपछि यात्रुहरूको उद्धार गरिएको थियो ।
चालकसँग सामान्य सोधपुछको क्रममा अगाडिबाट आएको गाडीले हेडलाइट बालेको र सोही लाइटका कारण सडकको किनार नदेखिएपछि पुलबाट बस उछिट्टिएको बताएको बस्नेतले जानकारी दिए । रासस







प्रतिक्रिया