म्याग्दी । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान भेटिएको छ ।
थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले लेतेका यार्सागुम्बा खोज्न गएका सुमित गौचनले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजको तस्बिर पठाएको जानकारी दिए । सरकारले यसका बारेमा औपचारिक पुष्टि भने गरेको छैन ।
मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा टाढाबाट जहाज देखिएपछि सुरक्षाकर्मी र स्थानीयवासीको टोली त्यसतर्फ लागेको गाउँपालिकाका अध्यक्ष गौचनले बताए । जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले तीनवटै सुरक्षा निकायका टोली घटनास्थलमा पुगिनसकेकाले औपचारिक पुष्टि भइनसकेको जानकारी दिए ।
कोवाङदेखि दुई घन्टा पैदल हिँडेर याकखर्क पुगेर राति त्यहाँ बसेका करिब १०० नेपाली सेना सहितको सुरक्षाकर्मीको टोली आज बिहानै मानापाथी हिमाल आसपासको क्षेत्रतर्फ प्रस्थान गरेका जनाइएको छ ।
पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान आइतबार बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । हराएको जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु रहेका जनाइएको छ ।
विमानमा धनुषाका एकै परिवारका सातजना रहेको पुष्टि
तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ । उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ ।
विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । विमान बेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको छ भने गाउँमा नै चिन्तित भएका छन् ।
सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार रहेको जनाइएको छ ।
प्रतिक्रिया