विचार / ब्लग

नेपाल-अमेरिका : स्थानीय निर्वाचन

प्रकाशित |
अमेरिका । व्यवस्थित व्यवस्था । सहज एवं स्वतन्त्र जीवनयापनको सुविधा । जीवन जस्तो बनाउन चाह्यो त्यस्तै सम्भव । उच्चकोटीको शिक्षा, स्वास्थ्य, रोजगार, अनुशासन, सुख-सुविधा आदि । त्यसको पछाडि कर्म भने सबैभन्दा महत्वपूर्ण हुन्छ, ती सबथोक प्राप्त गर्न । तस्बिरमा देखेको अमेरिका वास्तविक र काल्पनिक दुवै पाटोबाट मैले अनुभव गर्ने मौका ६ वर्षको अन्तरालमा धेरथोर मिल्यो । वास्तविक सुख र दुःखको फरक अनुभव । यस्तै-यस्तै । 
 
अर्को सानो वास्तविकता- यहाँ (अमेरिका)का विभिन्न स्थान घुमफिर गरिन्छ । सारा दुःख भुलाउने मनोरम, सुन्दर प्राकृतिक एवम् कृत्रिम दृश्य देखिन्छ । कल्पनासमेत नगरेका मानवनिर्मित एवम् प्राकृतिक परिवेश देखिन्छ । तर, जब बेलुका आराम गरिन्छ तब सपनीमा नेपालकै गाउँठाउँ, खोलानाला, वनजङ्गल, परिवार, साथीभाइ, अनि त्यहाँको रहनसहन मात्रै देखिन्छ । मैले यहाँ जोड्न खोजेको कुरा के हो भने हाम्रो मानसपटलमा जे कुराको छाप बसेको हुन्छ, त्यसलाई मेटाउन असम्भवप्रायः हुँदोरहेछ । त्यसर्थ, नेपालको बारेमा चासो र चिन्ता भन्ने कुरा आफसेआफ जोडिएको हुन्छ । अमेरिकामा बसेर यहाँको शासन व्यवस्था र शासन प्रणालीलाई नियाल्दै गर्दा अनि यहाँको परिवेशमा आफूलाई घुलमिल गराउँदै गर्दा नेपालको राजनीतिक, आर्थिक, सामाजिक परिवेश, शासन प्रणाली, त्यहाँका नेता र सरकारको नेतृत्वकर्ताको व्यवहारलाई नजिकबाट नियाल्दा भने मन चसक्क दुख्ने गर्छ । 
 
प्रसङ्ग स्थानीय निर्वाचन - मैले अमेरिका आएर यहाँको राजनीतिलाई थोरै भए पनि नजिकबाट नियाल्ने मौका पाएँ । जुन म बसेको सिटी (नगरपालिका) मा ६ ओटा प्लेस (वडा) छन् । यो सिटीको जम्मा आधिकारिक जनसंख्या ५६ हजार छ भने ३७ हजार भोटर संख्या । भर्खर यस सिटीको एउटा क्षेत्रमा चुनाव हुँदा जम्मा ३ हजार भोट खस्यो । यो मत जम्मा जनसंख्याको आधारमा ५.५% हो भने जम्मा भोटर संख्याको आधारमा ८ प्रतिशत । यो सिटीमा मताधिकार रहेका नेपालीको संख्या २% छ । यहाँ खसेको जम्मा भोटको १५% नेपालीको भोट थियो भने ८५% भोट अन्यको । यहाँ किन यस्तो भएको हो भने, यहाँको सरकारले जनताका आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगारी, आवासजस्ता कुराहरू सबैतिर समान छ, चाहेको कुरा सजिलै प्राप्त गर्न सकिन्छ । यहाँको जनतामा जीवनयापनका लागि आफ्ना सन्तान वा नातागोता कसैको कुनै पनि चिन्ता हुँदैन, नेपालमा जस्तो । तर, यो सबै कुरा पाउन जोकसैले कर्मचाहिँ गर्नैपर्छ नकि कर्म नगरी यी सुविधा पाउन सकिन्छ । 
 
मैले बुझेसम्म आमनेपालीलाई आफ्नो देशमा विकास भइदिए, समृद्ध भइदिए, त्यहाँ पनि शिक्षा, स्वास्थ्य, रोजगार, शासन प्रणाली, रहनसहन यस्तै भइदिए हुन्थ्यो भन्ने नै छ । नेपाली जहाँ भए पनि नेपालकै विषयमा बढी चिन्ता हुने गर्छ र सकेसम्म आफ्नो तर्फबाट हर उपाय खोजिरहेकै हुन्छ, नेपाललाई समृद्ध बनाउने विषयमा । देश समृद्ध बनाउने सवालमा नेपालको संस्कारलाई यहाँ लागु गर्नुको सट्टा यहींको व्यवस्थालाई व्यावहारिक रुपमा बुझेर सही सूचना वा ज्ञान प्राप्त गरी प्रवाह गरेको खण्डमा यहाँ बसेका नेपाली एवम् नेपालमा पनि अवश्य सहयोग पुग्नेछ । यही सोचका साथ मेरिल्यान्ड राज्यका हाउस अफ डेलिगेट्स डा. ह्यारि भन्डारी र टेक्सस राज्यस्थित युलेस सिटीको काउन्सिल मेम्बर टीका पौडेलले आफूले नजिकबाट यहाँको राजनीतिलाई बुझिरहनु भएको छ, साथै आफ्नो अनुभव र ज्ञानलाई भरपुर रूपमा विशेषगरी आफ्नो समुदाय र समाजको लागि सदुपयोग गरिरहनु भएको छ । उहाँहरूको यो चाहना र सफलताले अवश्य पनि यहाँ बसेका नेपाली र नेपाललाई फाइदा नै पुर्याउँछ । किनकि, कुनै पनि कार्य सफल हुनका लागि सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञानको जरूरी हुन्छ, जुन ज्ञान उहाँहरूले नेपालका लागि भरपुर सदुपयोग गर्नुहुने नै छ ।
प्रमुख विषयवस्तु- म नेपालको स्थानीय निर्वाचनको सन्दर्भमा अलि बढी चर्चा हुने गरेको र देश बाहिरबाट पनि बढी नै चासो दिएर हेरिएका तीनजना उमेद्वारको चर्चा गर्न चाहन्छु । स्वतन्त्र मेयरका उमेद्वारद्वय काठमाडौं महानगरपालिकाका बालेन्द्र साह र धरान उप-महानगरपालिकाका हर्कराज राई एवम् राजनीतिक दलको तर्फबाट भरतपुर महानगरपालिकाबाट मेयरका उमेद्वार रेनु दाहाल । अरू पनि धेरै असल उमेद्वारहरू हुनुहुन्छ, म सबैलाई सम्मान गर्दै यो परिणामको बारेमा समीक्षा गर्न चाहन्छु । 
 
शब्दचित्र (राउन्ड फिगर) मा हेरौं- नेपालको जनसंख्या- ३ करोड । मतदाता संख्या- १ करोड ७८ लाख ३३ हजार (जम्मा जनसंख्याको ६०%) । भोट खसेको संख्या- १ करोड १३ लाख ५० हजार (जम्मा मतदाता संख्याको ६४%) । यसैगरी, तीनवटा निर्वाचन क्षेत्रलाई हेर्दा- काठमाडौं महानगरपालिकाको जनसंख्या- ८ लाख ४६ हजार । भोटर संख्या- ३ लाख । खसेको भोट- १ लाख ५६ हजार (५२%) । यस्तै, धरान उप-महानगरपालिकाको जनसंख्या- १ लाख ७३ हजार । भोटर संख्या- १ लाख । खसेको भोट- ६३ हजार (६३%) । त्यसैगरी, भरतपुर महानगरपालिकाको जनसंख्या- ३ लाख ७० हजार । भोटर संख्या- १ लाख ८६ हजार । खसेको भोट- १ लाख २७ हजार (६८%) । अमेरिकाको एउटा स्थानीय निर्वाचन क्षेत्रमा भोटर संख्याको जम्मा ८% मात्र भोट खसेको थियो भने नेपालमा यी तीन क्षेत्रलाई जोडेर हेर्दा ६१% भोट खसेको छ । यो स्थानीय निर्वाचनको शब्दचित्रले के देखाउँछ भने अमेरिकामा जनताका आधारभूत आवश्यकता जस्तै- शिक्षा, स्वास्थ्य, रोजगारी, आवासजस्ता कुराहरू सबैतिर समान छ, चाहेको कुरा सजिलै प्राप्त गर्न सकिन्छ । यहाँ सिस्टमले काम गर्छ । त्यसैले यहाँका जनतालाई राजनीतिप्रति खासै चासो र चिन्ता हुँदैन । तर, नेपालमा भने ठ्याक्कै यसको उल्टो छ । जसको कारण जनतामा देश विकास होस् भन्ने तीब्र चाहना छ र उनीहरू सक्रिय रूपमा राजनीतिप्रति चासो र चिन्ताका साथ उपस्थित हुने गर्छन् । 
 
वर्तमान र वास्तविकता- अब नेतृत्वले आफूहरू व्यक्तिगत नभई राष्ट्रिय स्वार्थमा केन्द्रित भएर शैक्षिक, आर्थिक, सामाजिक विकास एवम् समृद्धिका मुद्दामा साझा संकल्प निर्माण गरी दीर्घकालीन योजना तय गर्ने हैसियत राख्न जरुरी छ । यसो भन्दै गर्दा बालेन्द्र साहका आधारसहितका अजेन्डा र हर्कराज राईको काम गर्ने दृढ अठोटका कारण नै उनीहरूलाई जनताले विश्वास गरेर स्थानीय क्षेत्रको कार्यकारी पदमा पुर्याएका हुन् । यसैगरी, रेनु दाहालले आफ्नो कार्यकालमा जनताप्रति समर्पित भएर गरेको सही कर्मको प्रतिफलका कारण त्यहाँका जनताले पुनः दोस्रो कार्यकालका लागि जिम्मेवारी दिएका हुन् ।
 
वर्तमान समस्या- मेरो विश्लेषणमा जनताको स्थानबाट निष्पक्ष रुपबाट हेर्दा अब नेपाली जनता 'एस मेन' बाट माथि उठेका छन् । जनता अब सक्षम व्यक्तित्व एवम् वास्तविक काम गर्नेलाई आफ्नो भोट दिएर 'सेल्फ डिसिजन' गर्ने भइसकेको अवस्था छ । नेपालमा आजका मितिमा हेर्दा हरेक राजनीतिक पार्टीमा आबद्ध व्यक्तिमा सांसद, मन्त्री एवम् आर्थिक रुपमा सम्पन्न हुनेबाहेक अन्य लक्ष्य हासिल गर्ने लालसा देखिँदैन । उनीहरूमा नागरिकप्रतिको उत्तरदायित्वमा कमी, राजनेताको अभाव, सेवाभावमा कमी नै देश विकासको लागि मुख्य बाधक देखिन्छ । त्योभन्दा पनि ठुलो बाधकको रूपमा सरकारको नेतृत्व गर्ने व्यक्तित्वमा ज्ञानको कमी र कर्मचारीतन्त्रमा राजनीतीकरण साथै आमरूपमा गैरजिम्मेवार एवम् अनुशासनहीन संस्कारको विकास नै रहेको छ ।        
 
व्यावहारिक समाधान- अब नेपालमा नेता भनाउन रुचाउनेहरुले विनायोग्यता, विनाज्ञान, विनायोजना, झुटा आश्वासन एवम् हावादारी गफका भरमा जनतालाई आफ्नो वशमा पार्ने कल्पनाबाट बाहिर निस्कने उपयुक्त समय आएको छ । अनुशासन, भ्रष्टाचार नियन्त्रण र राजनीतिमुक्त कर्मचारी प्रशासन निर्माण देश विकासका लागि आधारभूत सुरुवात हो । अबको नेतृत्वले यसतर्फ विशेष ध्यान पुर्याउनु आवश्यक छ । जनताले पनि विभिन्न माध्यमबाट नेता एवम् समाजसेवी भनाउन रुचाउनेलाई तथानाम गाली गर्ने, विनाआधारका अर्ती दिने, विनाआधारका धारणालाई प्रचार गर्ने एवम् नकारात्मक सन्देशलाई स्थान दिनेजस्ता कार्यलाई बन्द गरेर यस्तै निर्वाचनमार्फत आफ्नो मताधिकार सही निर्णयका साथ सही व्यक्ति चुन्नु अत्यावश्यक छ । अर्को महत्वपूर्ण कार्य भनेको समृद्ध नेपाल निर्माणका लागि वैज्ञानिक योजना तयार पारेर नेपालबाट ५०-६० लाखको संख्यामा बिदेसिएको युवा जमातलाई नेपाल फर्काउने कार्य भएमा नेपाल अवश्य समृद्ध एवम् सम्पन्न राष्ट्र बन्नेछ । अब पनि नेपालमा जनतालाई ठगेर राजनीति गर्छु भनेर नेता बन्ने र देशको शासन गर्नेहरूले के ध्यान दिनुपर्छ भने राजनीति भनेको एउटा बौद्धिक व्यक्तित्वले गर्ने राज्यको नीति हो नकि एउटा सीमित उद्देश्य बोकेको संगठनको नेतृत्व । अन्त्यमा, बालेन, हर्क र रेनुहरूलाई बधाई अनि सत्कर्मका लागि शुभकामना ! जय होस् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया