मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

पिकनिक र खेलकुदसंगै नयाँ वर्ष उत्सव

पिकनिक र खेलकुदसंगै नयाँ वर्ष उत्सव

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टनका नेपालीहरुले नेपाली नयाँ वर्ष २०७९ निकै भव्यताका साथ मनाएका छन्। गत शनिवार, एप्रिल १६ का दिन बृहत्तर ह्युस्टनको रिचमण्डस्थित पशुपति मन्दिर परिसरमा भएको नयाँ वर्ष पिकनिक, एनएएच न्यू इअर कप सकर प्रतियोगिता, भलिवल प्रतियोगिता तथा नेप्लिज एशोसिएसन अफ ह्युस्टन (एनएएच) वार्षिक साधारण सभा समेत भएको हो।
 
नयाँ वर्ष पिकनिक र शुभकामना
एनएएचको आयोजनामा भएको नयाँ वर्ष पिकनिक एवं शुभकामना कार्यक्रममा ह्युस्टन वरिपरिबाट करिब ४०० जति नेपाली समुदायका व्यक्तिहरुको सहभागिता रहेको आयोजकहरुले हिमालय खबरलाई जानकारी गराएकाछन्। मन्दिर परिसरसंगै रहेको पिकनिक पेभिलियनमा आयोजित पिकनिक एवं शुभकामना साटासाट कार्यक्रममा केटाकेटीहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो। नेपाली नयाँ वर्ष उत्सवका रुपमा मनाउने अभिप्रायले एनएएचले ह्युस्टनमा रहेका सबै संस्थाहरुसंग समन्वय गरेको अध्यक्ष डा. विष्णु नेपालले बताएका छन्। सोही अवसरमा एनएएचले आफ्नो वार्षिक साधारण सभा समेत सम्पन्न गरेको छ। एनएएचका अध्यक्ष डा. नेपालको अध्यक्षतामा सम्पन्न साधारण सभाले विधानका केही प्रावधानहरुमा संशोधन समेत गरेको छ। सभाले ज्योति घिमिरे, विनोद श्रेष्ठ र रविन श्रेष्ठको तीन सदस्यीय समितिले प्रस्ताव गरेको संशोधनका बुँदाहरु पारित गरेको छ।
 
खेलकूदसंगै नयाँवर्ष, साउथ इगल बन्यो च्याम्पियन
एनएएचले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा ह्युस्टनका नेपालीहरुको फुटबल (सकर) क्लबहरुबीच नकआउटका आधारमा सकर प्रतियोगिता आयोजना गरेको हो।

स्थानीय आठ वटा क्लबहरुबीच भएको प्रतियोगिताको दुई सेमिफ़ाइनल र फाइनल म्याच शनिवार मन्दिर परिसरमा नै रहेको सकर मैदानमा भएको थियो। प्रतियोगिता व्यवस्थापन समितिका सदस्य विमल भण्डारीका अनुसार फाइनलमा साउथ इगलले ह्युस्टन रोयल्सलाई ३-० गोलले हराएर ‘एनएएच न्यू इअर कप’ जितेको हो। फाइनलमा साउथ इगलका स्ट्राइकर रोसन चामलिङले दुई गोल गरे भने तेश्रो गोल प्रतियोगिता अवधिभर नै सबभन्दा बढी गोल गर्ने खेलाडी डेभिड गार्सियाले गरेका थिए। एनएएचको तर्फबाट खेलकुद संयोजक चेज गुरुङ्गले सबै खेल गतिविंधिहरुलाई संयोजन गरेका थिए।

 
‘ह्युस्टन ए’ले जित्यो भलिबल
कनरोस्थित नेपालीहरुको कनरो भलिवल क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताको फाइनल पनि शनिवार नै मन्दिर परिसरमा रहेको भलिबल कोर्टमा भएको थियो।
 
कनरोका नेपालीहरुको तर्फबाट घनश्याम अर्यालको संयोजन र कनरो भलिवल क्लबको आयोजनामा सम्पन्न भलिबल प्रतियोगितामा ‘ह्युस्टन बि’ टिमलाई निकै प्रतिस्पर्धात्मक खेलना हराउँदै ‘ह्युस्टन ए’ टिम च्याम्पियन बन्न सफल भयो। विजेता टोलीले एकहजार डलर नगद पुरस्कार, प्रमाण पत्र सहित ट्रफी प्राप्त गरेको छ। यसैगरी उपविजेता टोलीले ६ सय डलर नगद सहित प्रमाण पत्र र ट्रफी पाएको थियो
 
भलिबल खेलाडीहरुमा वसिल अर्यालले दुईसय डलर नगद पुरस्कार सहित सर्वोत्कृष्ट खोलाडीको उपाधी जितेका थिए।
 
पुरस्कार वितरण समारोह
विजेता टोलीहरुलाई एक समारोहकाबीच नगद पुरस्कार वितरण र ट्रफी हस्तान्तरण गरिएको थियो। पुरस्कार वितरण कार्यक्रमका लागि प्रमुख अतिथिका रुपमा फोर्टवेण्ड काउण्टीका जज केपी जर्ज निम्त्याइएका थिए। प्रमुख अतिथिले विजेता टोलीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए। यसैगरी स्टाफोर्ड सिटीका अस्थायी (निमित्त) मेयर केन म्याथ्यु, फोर्टवेण्ड काउण्टी अन्तर्गतको कोर्ट-अफ-ल कि जज जुली म्याथ्यु, भारतीय अमेरिकन समुदायका प्रतिनिधि अरुण मुन्द्राको समेत पुरस्कार वितरण समारोहमा उपस्थिति रहेको थियो। पुरस्कार वितरण समारोह एनएएचका उपाध्यक्ष द्रोण गौतमले संचालन गरेका थिए।
सकर लिग च्याम्पियन पनि साउथ इगल
ह्युस्टनका फुटबल प्रेमी जनार्र्जन कँडेल र समुहको सक्रियता केही समय अघि सम्पन्न सकर लिग प्रतियोगिताको विजेता साउथ इगल फुटबल क्लब र उत्कृष्ट खेलाडीहरुलाई ट्रफी र प्रमाण पत्र समेत प्रदान गरिएको थियो।
 
बालबालिकाहरुसंग नासा साइन्टिष्ट

नयाँ वर्ष पिकनिक र खेलकुदको मज्जा लिन आएका बालबासिकाहरुसंग नासाको मेरिल्याण्डस्थित गडर्ड स्पेस फ्लाइट सेन्टरका सिनियर साइन्टिष्ट डा. लोक लम्सालले नासाका गतिविधिहरुका बारेमा बालबालिकाहरुलाई जानकारी गराएका थिए। नासाका बारेमा बालबालिकाहरुका निकै रमाइला र बालसुलभ प्रश्नहरुको सहज जवाफ दिएका डा. लम्साल बावबालिकाहरुसंग निकै रमाएका देखिन्थे।
खेलकुद र पिकनिकको रमाइलो मात्र होइन, नेपाली पप म्यूजिकको मज्जा पनि लिन पाएकोमा सहभागीहरु खुसी नै देखिन्थे। खाना वितरण कक्ष एउटा मात्र भएकोले खानाको लागि निकै बेर लाइन बस्नु परेको, खानेकुर थप्नका लागि असजिलो भएको लगायतका केही गुनासोहरु सुनिए पनि समग्रमा नयाँ वर्ष मनाउने कार्यक्रम निकै रमाइलोसंग सम्पन्न भएको टिप्पणी पनि सुनियो। मन्दिर परिसरमा पिकनिक स्पट हुँदा मन्दिरमा आउनेहरु बढेका भएपनि हिन्दुहरुको आस्थाको मन्दिर परिसरमा मासु तथा मदिराजन्य पदार्थहरुको प्रयोग भएकोमा भने केही सहभागीहरु बेखुसी पनि पाइए। मन्दिरतिरको भागमा स्थायी बार/पर्खाल र पिकनिक पेभिलियनतिर जाने छुट्टै प्रवेशद्वार हुनु पर्ने सुझाव राखिदिन उनीहरुले हिमालय खबरलाई सुझाएका थिए।
सहभागिताका दृष्टिले संभवतः सबभन्दा धेरै नेपाली समुदायका व्यक्तिहरुको सहभागिता रहेको नयाँ वर्ष पिकनिक र खेलकुद कार्यक्रम निकै उत्साहपूर्वक सम्पन्न गर्न सहयोग पुऱ्याउने समुदायका सबैलाई आयोजकहरुले धन्यवाद ज्ञापन गरेकाछन्।