विचार / ब्लग

सुपारी तस्करीमा फोटो जोडिँदा

प्रकाशित |
मंगलबार बिहान ब्युँझिदा बिहानको सात बजेको थियो । मेसेन्जरमा टन्नै मेसेजहरु थिए । अघिपछि पनि बिभिन्न ग्रुपका काम लाग्ने भन्दा पनि नलाग्ने खालका मेसेजहरुले मेसेन्जर भरिएका हुन्थे । त्यसो हुँदा ती मेसेजहरुलाई खासै हेर्ने गरेको थिइन । 
 
तर केही मेसेजहरु भने विरलै पठाउने व्यक्तिहरुको थियो । ग्रुपका मेसेजलाई वेवास्ता गर्दै व्यक्तिका मेसेजहरुलाई खोलेर हेर्न थालेँ । एकजना सञ्चारकर्मी बहिनीले एउटा समाचारको लिंक पठाउनु भएको रहेछ । उहाँले मेसेज पनि लेख्नुभएको रहेछ । त्यो समाचारमा एकाध वर्ष अघि मेरो फेसबुक प्रोफाइलमा रहेको फोटो प्रयोग गरेर सुपारी तस्करीमा जोडिएको थियो । त्यो पनि सानो रकम हो र ? ६० करोडको कुरा थियो । 
 
मेरो सहित तीनजनाको फोटो कोलाज गरिएको थियो । एकजना त प्रधानमन्त्री पत्नी डा. आरजु देउवा भएकोले चिन्न मुस्किल भएन । तर अर्कालाई भने चिन्न सकिन । लिंक भित्र पसेर समाचार पढेपछि जानकारी भयो ती चाहि व्यबसायी चाहि अनिल रुंगटा रहेछन् । 
 
न्यूज पढेपछि आफैंलाई हाँसो लाग्यो । न्यूज कति प्रतिशत सत्य थियो नेपाल भन्दा सात समुद्र वारि बसेको मलाई जानकारी हुने विषय भएन । तर मेरो फोटो बेफ्वाँकमा प्रयोग भएको देखेर पत्रकारिता कति अनुत्तरदायी भएछ भनेर मनमनै सोचेँमात्र । 
 
अनलाइनको नाम ‘नेपाल वहश’ रहेछ । सम्पादकको नाम हेरेँ । इन्द्र रिजाल रहेछन् । मैले चिन्न प्रयास गरेँ । तर सकिन । किनकी नेपाल छाडेकै एक दशक पुगिसक्यो । त्यतिखेर नाम सुनेका धेरै पत्रकारहरु, सहकर्मीहरु अरुनै क्षेत्रमा पुगेर स्थापित भैसके । त्यतिखेर नाम नसुनिएकाहरु अहिले स्थापित पत्रकारको सूचिमा छन् । एक मनले लाग्यो–‘समाचारमा उल्लेखित रामचन्द्र भट्ट अर्कै डँडेल्धुरातिरका छन् । म नुवाकोटको । नेपाल छाडेको धेरै भैसकेर होला पत्रकारलेनै चिन्न छाडेछन् ।’
 
न्यूज पढ्दा विषयवस्तु सिरियस छ । तर असम्बन्धित व्यक्ति मेरो फोटो भएकाले हाँसो लाग्दो छ । मेसेज पठाएर जानकारी दिने साथीहरुलाई धन्यवाद भन्दा बाहेक मसँग भन्ने केही थिएन । म आफ्नो काममा लागेँ । मनमनै सोचे पत्रकारलेनै चिन्न छाडेछन् । नेपाल फर्किएर फेरि पत्रकारितामा लाग्ने विचार पनि जाग्यो । 
 
बिहान साढे १० बजेतिर नेपालबाटै अरु ३/४ जना साथीहरुको मेसेज आयो । ‘के छ सुपारी तस्कर दाई ?’ एकजना पूर्ब सहकर्मीले जिस्काए । 
 
‘ओहो तपाईको क्षमतालाई त मान्नैपर्छ । अमेरिकाबाटै यत्रो सेटिङ’ अर्काले पठाएको मेसेजमा यस्तो थियो । 
 
‘के हो दाई, साँच्चै हो कि के हो कुरो ?’ अर्काले त हल्का शंकानै पो गरे । उनले त मेरो घर डँडेल्धुरा भन्ने ठानेका रहेछन् । फेरि धेरैजसो हाम्रो स्वभाव शिर्षक पढ्ने र फोटो हेरेका भरमा निष्कर्शमा पुग्ने हुने गरेको छ । 
 
यी मेसेज देखेपछि केही स्पष्टीकरण दिनैपर्ने ठहर गरेँ । तुरुन्तै त्यो समाचारको स्क्रिनशट लिएँ र एउटा स्टाटस राखेँ फेसबुकमा । 
 
त्यसैलाई आधार बनाएर नागरिक पत्रिकामा काम गर्दाका सहकर्मी उमेश श्रेष्ठले माइसंसारमा एउटा ब्लग लेखे । त्यसपछि अमेरिकामै रहेका र नेपालमा रहेका धेरै साथीहरु आश्चर्यमा परे । समाचार एकातिर छ, फोटो अर्काको छ। कसरी यस्तो भयो धेरैको प्रश्न थियो । 
तर जतिले मलाई चिन्नुहुन्छ, जान्नुहुन्छ र समाचार वृस्तृतमा पढ्नुभयो उहाँहरुले पत्रकारिताकै विश्वसनियतामा शंका गर्नुभयो । जीवनका उर्वर १७ वर्ष म आफैँले नेपाली मेनस्ट्रिमको पत्रकारितामा बिताएँ । अहिले पनि बेलाबखतमा लेख्छु । अमेरिकाबाटै प्रकाशित हुने हिमालयखबरसँग आवद्ध छु । कसैले पत्रकारिताको विषयमा औँला ठड्याउँदा मलाई पनि अप्ठेरो महसुस हुन्छ । यो घटनामा त आफैं पीडित भएपछि कस्लाई के भन्नु ?
 
मेरो फोटो असान्दर्भिक रुपमा राखिएको विषयमा प्रेस काउन्सिलका अध्यक्ष एवं आम सञ्चार विषयमा स्नातकोत्तरका मेरा सहपाठी मित्र बालकृष्ण बस्नेतको ध्यानाकर्षण पनि गराएँ । नागरिक दैनिकमा काम गर्दाको समयमा बस्नेतले मलाई कान्तिपुरमा लैजान ठूलो पहल गरेका थिए । नागरिकले भन्दा मासिक ५ हजार बढी दिनेगरि कान्तिपुरका सम्पादकसँग छलफल भएर अन्तिममा पुगिसकेको पनि हो । तर म सधैं ‘कम्फर्टेबल जोन’ मा बस्न रुचाउने व्यक्ति । सहज भैरहेको नागरिक छाडेर कान्तिपुर जान मनले मानेन । 
 
भोलीपल्ट बिहान उठ्दा मेसेज देखियो । नेपाल वहसका सम्पादक इन्द्र रिजालले मेसेन्जरमा गरेका रहेछन् । उनले असावधानी भएको र त्यसका लागि क्षमा पनि माग्दै मेसेज गरेका रहेछन् । 
 
पत्रकारितको क्रममा ३-४ पटक कुटाई पनि खाएको छु । चश्मा फुटाइदिएका थिए । दुई दिनसम्म खानेकुरा चपाउन समेत भएन । चढिरहेको साइकल कच्याक कुचुक पारिदिएका थिए । त्यस्तो गरि आक्रमण गर्नेलाई त मैले माफी दिएर अघि बढेको थिएँ । यो त लापरवाही र असावधानीले भएको भन्नेमा सुरु देखिनै ढुक्क भएकोले इन्द्रजीसँग हार्दिकता साथ कुराकानी भयो । मैले लापरवाही चाँही भएको हो भनेर औँल्याए । उनले अस्विकार पनि गरेनन् । सँगै प्रेस काउन्सिलले नेपाल वहशको ध्यानाकर्षण गर्दै सचेत पनि गराएको छ । 
 
नेपाल वहशले पछि फोटो हटायो । न्यूजकै बीचमा भुलसुधार पनि ग¥यो । त्यसले विश्वसनीयतामा एउटा इट्टा भनेपनि थपेको छ । किनकी गल्ती भएपछि सुधार गर्दा सानो होइदैन । बरु त्यसले सम्माननै थप्छ, विश्वसनीयता बढाउँछ । जिम्मेवार भन्ने पनि देखाउँछ । 
 
पत्रकारितालाई हतारको साहित्य भन्छन् । अर्थात लेख्यो र तुरुन्तै प्रकाशनमा पठाइहाल्ने कारणले हतारको साहित्य भनिएको हो । अहिले अनलाइनले गर्दा त तुरुन्तै लाखौं पाठकसम्म पुगन सहज पनि भएको छ । मुख्य कुरा क्रस भेरिभाई र क्रेडिबिलिटीको कुरा पनि हो । अहिले मिडियामा फेसबुकबाट होस् या गुगलबाट होस् फोटो खोजेर राख्ने चलन व्याप्त छ । यसले यस्तै दुर्घटना निम्त्याउँछ । यदी थोरै मात्र क्रस भेरिफाइ गरिएको भए यो हुने थिएन । 
 
अहिले पनि नेपाल वहशको अर्काइभमा फोटो जोडिएको समाचार बाँकीनै छ । यताका साथीहरू, चिनजानकाले सुपारीसँग जोडेर जिस्काउन थालेका छन् । तर धेरै जिस्काएपछि इरिटेड हुने रहेछ । 
 
न्यूजको कन्टेन्ट जतिसुकै विश्वासिलो भएपनि एउटा सामान्य ठाउँमा चुकेपछि सारा तथ्यमा पाठकहरुले औंला ठड्याउँछन् । ‘एउटाको फोटो राख्नुपर्नेमा अर्काको फोटो राख्ने अनलाइनको न्यूज पनि के सत्य होला र ?’ अमेरिकामै बस्दै आएका एकजनाले यही सप्ताहन्त भेटमा भने । उनले न्यूजको कन्टेन्ट प्रति नै प्रश्न उठाए । यो स्वभाविक पनि हो । एउटा सर्वसाधारण पाठकको ठाउँमा बसेर सोच्दा उनको शंकालाई गलत ठहर्याउनुपर्ने ठाउँ छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया