मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विदेशमा आर्जन गरेको सीप र पुँजी नेपालको विकासमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

विदेशमा आर्जन गरेको सीप र पुँजी नेपालको विकासमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान, सीप र कौशललाई नेपालको विकास र रुपान्तरणका निम्ति लगानी गर्न गैरआवासीय नेपाली समुदायलाई आह्वान गरेका छन् । 
     
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औँ विश्व सम्मेलन तथा महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै उनले विश्वभर छरिएर बसेका नेपालीको असङ्गठित पुँजी र प्रविधिलाई सङ्गठित बनाउन आवश्यक रहेको बताए । 
 
प्रधानमन्त्री देउवाले भने, “विश्वभर छरिएर बसेका नेपालीको असङ्गठित पुँजी र प्राविधिक ज्ञानलाई सङ्गठित र एकत्रित गरी मुलुकको आर्थिक विकासमा परिचालन गर्न अब गैरआवासीय नेपाली सङ्घले निश्चित कार्ययोजना र रणनीति नै बनाएर अघि बढ्न आवश्यक छ भन्ने मलाई लागेको छ ।”
     
प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीको लगानीलाई मुलुकको समृद्धि र नवनिर्माणको खातिर उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानूनी सुधार गरी सहजीकरण गर्दै आइरहेको उल्लेख गरे । उनले यसलाई आगामी दिनमा पनि क्रमशः सुधार गर्दै गैर आवासीय नेपालीले सहजरूपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गरिने विश्वास दिलाए । 
 
प्रधानमन्त्री देउवाले भने, “गैरआवासीय नेपालीको लगानीलाई मुलुकको समृद्धिका खातिर लगानीको सहज वातावरण बनाउन सरकारले नीतिगत सुधार र  कानूनी सहजीकरण गर्दै आएको छ, आगामी दिनमा पनि नेपालीले सहजरूपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गरिनेछ ।” 
 
प्रधानमन्त्री देउवाले मुलुकको तीव्र रूपान्तरण र दिगो विकासका लागि आधुनिक र गुणस्तरीय भौतिक पूर्वाधारको निर्माण हुन आवश्यक रहेको र त्यसका  निम्ति मुलुकमा ठूला विद्युत् आयोजना, सडक, टनेललगायत परियोजना कार्यान्वयन गर्न पुँजी र प्रविधि दुवैको उच्च खाँचो औँल्याए ।
     
प्रधानमन्त्री देउवाले विसं २०७२ को महाभूकम्पका बेलामा उद्धार तथा राहत र पुनःनिर्माण तथा कोभिड–१९ को महामारीका बेलामा मेडिकलजन्य उपकरण र स्वास्थ्य सामग्रीको सहयोगलगायत योगदान सह्राहनीय रहेको भन्दै नेपाल र नेपालीलाई अप्ठ्यारो परेको बखत गैरआवासीय नेपाली संघबाट प्राप्त साथ, सहयोग र समन्वयप्रति सरकारकोतर्फबाट आभार व्यक्त गरे । 
     
प्रधानमन्त्री देउवाले गैर आवासीय नेपालीले विदेशमा नेपाली भाषा, संस्कृति, परम्परा,  कलाकृति र साहित्यको प्रचारप्रसार गर्न र भावीपुस्तामा हस्तान्तरण गर्नसमेत उपयोगी सेतुको काम गरेको उल्लेख गरे । 
 
उनले आगामी दिनमा पनि निरन्तरता दिँदै विदेशी भूमिमा पनि नेपाली माटो र नेपाली संस्कृतिलाई प्रवर्द्धन गर्न संघले आफ्ना क्रियाकलापलाई सशक्तरूपमा अघि बढाउने विश्वास व्यक्त गरे । 
 
प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली संघका मागप्रति सरकार संवेदनशील रहेको र उनीहरूको नेपाल आवागमनमा सहजीकरणदेखि लिएर लगानी र सम्पत्तिको संरक्षण गर्नेसम्मका काममा सरकार सधैँ सकारात्मक रहेको बताए । रासस