मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दलहरुले निर्वाचन आचारसंहिता पूर्ण पालना गर्नुपर्छ : प्रमुख आयुक्त थपलिया

दलहरुले निर्वाचन आचारसंहिता पूर्ण पालना गर्नुपर्छ : प्रमुख आयुक्त थपलिया


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताएका छन् । 
 
निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा बुधबार काठमाडौँमा आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उनले यसपटकको निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आचारसंहिता पालनाको विषय कडाइका साथ कार्यान्वयन गरिने धारणा राखे ।  
 
प्रमुख आयुक्त थपलियाले निर्वाचनमा हुने आचारसंहिता उल्लङ्घन गर्ने प्रवृत्तिलाई निस्तेज पार्न राजनीतिक दल एवं नागरिक समाजको सहयोग आवश्यक रहेको बताए । उनले आयोगले प्रत्येक स्थानीय तहमा आचारसंंहिता कार्यान्वयनका लागि समिति गठन गरेर अनुगमन गरिने व्यवस्था मिलाउन लागेको  जानकारी दिए । 
 
उनले लोकतन्त्रको रक्षा गर्दै शासकीय पद्धतिको सुधारका लागि राजनीतिक दलले आचारसंहिता पालनामा नैतिकता र इमान्दारिता देखाउन आवश्यक रहेको विचार व्यक्त गरे । उनले आचारसंहिता उल्लङ्घन गर्ने दल, उम्मेदवार, सर्मथकमाथि स्थानीय समुदायले खबरदारी गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।
 
प्रमुख आयुक्त थपलियाले विगतको निर्वाचनमा आचारसंहिता पालना नभएको विषयमा व्यापक जनगुनासो आएको चर्चा गर्दै आयोगले यसपटकको निर्वाचनमा आचारसंंहिता कार्यान्वयनमा नयाँ रणनीति कार्यान्वयन गर्न लागेको बताए । रासस