मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ह्युस्टनमा होली

ह्युस्टनमा होली

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन (अमेरिका)- वृहत्तर ह्युस्टनमा बसोबास गर्ने नेपालीहरुले सांस्कृतिक होली पर्व (फागु) सामूहिकरुपमा मनाएकाछन्। शनिवार र आइतवार दुई दिन भएको होली मनाउने कार्यक्रममा नेपालीहरुले आफूलाई पायक पर्ने दिनमा उपस्थित भएर उल्लासपूर्वक होली मनाएका हुन्। पूर्व निर्धारित कार्यक्रम अनुसार नै नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) ले शनिवार पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरेको होली मनाउने कार्यक्रममा फागु खेल्न करिब दुईसयजना नेपालीहरु आफ्ना केटाकेटीहरु सहित आएका थिए।
कोरोना महामारीले गर्दा गत दुईवर्ष मन खोलेर फागु पर्व मनाउन नपाएका ह्युस्टनका नेपालीहरुले यो पटक मम र विर्यानीको स्वाद लिंदै फागुको रमाइलो गरेको देखिन्थ्यो।
एनएएचले फागु खेल्ने कार्यक्रमसंगै ह्युस्टनका युवाहरुबीच मैत्रीपूर्ण फुटबल (सकर) म्याच समेत आयोजना गरेकोले खेलकुदमा चासो भएका युवाहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो।
 
साना केटाकेटीहरु पनि होलीको रङ्ग संगै आफ्ना साथीहरुसंग रमाएका देखिन्थे। कोही चङ्गा उडाउन मस्त थिए। बेला बेलामा एनएएचका उपाध्यक्ष द्रोण गौतमले केटाकेटीका चाहनाका गीत बजाएर उनीहरुलाई सामुहिक नाच-गानका लागि समेत उत्प्रेरित गरिरहेका देखिन्थे।
यसैगरि नेप्लिज हेरिटेज युनियन (एनएचयु) ले स्थानीय आर्थर स्टोरी पार्कमा आइतवार आयोजना गरेको होली विशेष कार्यक्रममा पनि नेपालीहरु होलीको रङ्ग र संगीतमा राम्रै रङ्गिएका थिए। सहभागिता ठूलो नभएपनि नेपालीहरुले आफ्नो मौलिक पर्वलाई स्थानीय अनुकुलता अनुसार मनाएका छन्।
प्रवासमा सार्वजनिक रुपमा मनाइने नेपाली चाडपर्वहरु प्राय सप्ताहन्तमा मनाउने प्रचलन चल्दै आएको छ।नेपालीहरुको ठूलो बस्ती भएका अमेरिकी सहरहरुमा दशैं भोज, होली/तीज, नेपाली नयाँवर्ष, तिहारको देउसी भैलोजस्ता सांस्कृतिक/धार्मिक पर्वहरु सकेसम्म धेरै नेपालीहरुलाई पायकपर्ने सप्ताहन्तको दिन मनाउने गरेकाछन्। यस अनुरप नै होली पर्व पनि नेपाली-अमेरिकी समुदायले नेपालमा भन्दा पछि गत शनिवार र आइतवार सामुहिक रुपमा जम्मा भएर मनाएका हुन्।
तर यसरी सामुहिक रुपमा मनाइने पर्वहरु एउटै सहरमा बस्ने नेपालीहरुले एकै दिन मनाउन सके अझ धेरैको सहभागिता हुने ह्युस्टनमा शनिवार र आइतवार आयोजित दुबै होली कार्यक्रममा सहभागीहरुको विचार सुनियो। “एकै ठाउँमा रहेका नेपाली संस्थाहरुले किन दुईठाउँमा फरक फरक दिन होली मनाउनु पऱ्यो? एकैदिन मनाए त सहभागीहरुलाई पनि सजिलो, प्रवासको ठाउँमा कसलाई दिनकै सार्वजनिक कार्यक्रममा जान फुर्सद हुन्छ र? यस विषयमा आयोजकहरुले अर्को वर्षदेखि ध्यान दिए हुने”, एनएएच र एनएचयुको दुबै होली कार्यक्रममा सहभागी किशोर पौडेलले हिमालय खबरलाई बताए।
किशोरको जस्तै सोच आयोजकहरुको पनि रहेको पाइएको छ। ‘आउने वर्षदेखि सबै मिलेर होली लगायतका पर्व/उत्सवहरु मनाउन हाम्रो सकारात्मक भूमिका हुन्छ’, एनएचयुका पदाधिकारीहरुले हिमालय खबरसंगको कुराकानीमा बताएका छन्।
होलीको रङ्गमा रमाएका केटाकेटीहरुलाई देख्दा नेपालीहरुको सांस्कृतिक पर्वहरुमा आफ्ना केटाकेटीहरुलाई सहभागी गराउन आयोजकहरुले विशेष ध्यान दिनुपर्ने देखिन्छ। ‘जति धेरै यता जन्मेहुर्केका केटाहरु नेपाली चाडपर्वहरुमा सहभागी हुन्छन्, त्यति नै उनीहरु नेपाली संस्कृति र चालचलनहरुप्रति चासो राख्ने हुन्छन्। तसर्थ नेपाली-अमेरिकी समुदायका दोश्रो पुस्ताले पनि नेपाली भाषा/ संस्कृतिलाई अघि बढाओस् भन्ने चाहना राख्ने हो भने सार्वजनिक कार्यक्रमहरुमा उनीहरुको सहभागिता बढाउन हामी सबैको ध्यान जानुपर्छ’, एनएएचका उपाध्यक्ष द्रोण गौतमले हिमालय खबरलाई बताएका छन्।