मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

युक्रेनी राष्ट्रपतिद्वारा अमेरिकी संसदको संयुक्त वैठकलाई सम्बोधन

युक्रेनी राष्ट्रपतिद्वारा अमेरिकी संसदको संयुक्त वैठकलाई सम्बोधन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकी राष्ट्रपति बाइडनलाई विश्व कै नेता हुन अपील गर्दै भोलोदिमिर जिलेन्सकीले भने ‘विश्व नेता हुनु भनेको शान्तिको नेता पनि हुनु हो’
 
अमेरिकी संसदीय परम्परामा विभिन्न देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा विशिष्ट व्यक्तिहरुले  संयुक्त वैठकलाई दर्जनौ  पटक सम्बोधन गरिसकेका छन्। तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जिलेन्सकीले अमेरिकी संसदको संयुक्त वैठकलाई आज भिडियो कन्फरेन्स मार्फत सम्बोधन गरेको क्षण र परिस्थिति भने अमेरिकी संसदीय इतिहासमा नै दर्ज हुने किसिमको भएको छ। रुसले युक्रेन माथि जारी राखेको सैनिक अतिक्रमण कै बीच युक्रेनी राष्ट्रपतिले आज निकै महत्वपूर्ण सम्बोधन गरेका हुन्। 
 
जिलेन्सकीको निकै मार्मिक सम्बोधन सुने पछि अमेरिकी सांसदहरुले उठेर सम्मान प्रकट गरेका थिए। रसियाले युक्रेनी जनताको नरसंहार गरिरहेकोले अमेरिका र साझेदारहरुले तत्काल थप मद्दत गर्न जिलेन्स्कीले अपील गरेका छन्। युक्रेनी आकाशलाई मानवीय प्रयोजनका लागि ‘नो फ्लाइट जोन’ घोषणा गर्न पनि राष्ट्रपति जिलेन्स्कीले अमेरिकी सरकार र सांसदहरुलाई अनुरोध गरे। 
 
“तपाईं अमेरिकी जनताहरुले युक्रेन माथिको हमलालाई आफैं माथि भए जसरी लिनु हुन अनुरोध छ” राष्ट्रपति जिलेन्सकीले सम्बोधनका क्रममा अमेरिकी सरकार र जनतालाई हालसम्मको सहयोगप्रति धन्यवाद दिंदै भने।

जेलेन्सकीले रुससंग जारी युद्धका निम्ति थप आधुनिक अस्त्रहरुको लागि समेत अमेरिकी सरकार समक्ष अनुरोध गरेका छन्। यस अतिरिक्त युक्रेनी जनताको रगतको बाढी लगाएको रुसबाट सबै अमेरिकी कम्पनीहरु बाहिरिनु पर्ने राष्ट्रपति जिलेन्स्कीले जोड दिएकाछन्। सम्बोधनको क्रममा जिलेन्स्कीले रुसले गरेको बर्बर आक्रमणको कारुणिक भिडियोहरु समेत देखाएका थिए। 
 
युक्रेनलाई यस अघि नै १३.६ विलियन अमेरिकी डलर बराबरको विशेष आर्थिक सहायता दिने अमेरिकी संसदले पारित गरेको विधेयकमा राष्ट्रपति बाइडनले हस्ताक्षर गरिसकेका छन्। राष्ट्रपति बाइडनले आज थप ८० करोड डलर बराबरको सुरक्षा सहायता दिने घोषणा गर्ने समाचारहरुमा जनाइएको छ। सो सहायता ‘एन्टी-ट्याङ्क’, ‘एन्टी एयरक्राफ्ट मिसाइल्स’ जस्ता उपकरण पनि समावेस हुने जनाइएको छ। 
 
सम्बोधनको अन्त्यतिर अमेरिकी राष्ट्रपति बाइडनलाई विश्व कै नेता हुन अपील गर्दै भोलोदिमिर जिलेन्सकीले भने—“विश्व नेता हुनु भनेको शान्तिको नेता पनि हुनु हो”। 
 
तस्बिर: सिएनएन