मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सङ्खुवासभा बस दुर्घटना : मृतकको सङ्ख्या १४ पुग्यो, पाँच जना घाइतेको हेलिकप्टरबाट उद्धार

सङ्खुवासभा बस दुर्घटना : मृतकको सङ्ख्या १४ पुग्यो, पाँच जना घाइतेको हेलिकप्टरबाट उद्धार


खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । मादी–६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । 
 
बिहीबार बिहान ७ः३० बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । मृतक १४ जनाकै सनाखत भएको छ ।  
 
मृत्यु हुनेमा ताप्लेजुङका ३१ वर्षीय समीक्षा योञ्जन र उनका छोरा आठ वर्षीय सुदीप घिसिङ, मादी–६ की ३० वर्षीया सीता विक रहेका छन् । 
 
सो घटनामा मादी–६ का ३८ वर्षीय इन्द्र अधिकारी, ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटुवालकी छोरी पाँच वर्षीया दीक्षा कटुवाल, मादी–५ का ४८ वर्षीय दीपककुमार दाहाल, ५५ वर्षीय श्याम शेर्पा, ४९ वर्षीय भवानीप्रसाद दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।  
 
त्यसैगरी मादी–४ का ३८ वर्षीय आइतबहादुर तामाङ, २८ वर्षीया सविता कार्की, सहचालक उमेश भट्टराई, तेह्रथुमको औँशीडाँडाका सवारी चालक बिपीन निरौला र मादी–४ का ६० वर्षीय बलबहादुर कार्कीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । उनीहरु १४ जनाकै घटनास्थलमै मृत्यु भएको थियो । बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो ।
 
बस मादी–६ को सात घुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । तीव्रगतिका कारण मादीमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 
घाइतेलाई थप उपचारका लागि धरान लगियो
 
बस दुर्घटनाका घाइते पाँच जनालाई हेलिकप्टरबाट थप उपचारका लागि धरान लगिएको छ । घाइते पाँच जनालाई नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । घाइते डम्बरबहादुर कार्की, करिष्मा तामाङ, तुलसा कटुवाल, सुवास तामाङ र युवा पोख्रेललाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि धरान लगिएको छ ।
 
दुर्घटनाप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त
 
उपराष्ट्रपति नन्दबहादुर पुनले सङ्खुवासभाको मादी नगरपालिका–६ पुलुङस्थित सात घुम्तीमा आज यात्रुबाहक बस भीरबाट खस्दा ठूलो मानवीय क्षति हुने गरी भएको सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । 
 
उपराष्ट्रपतिले सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको बा४ख ७३५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनु भएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छन् । उपराष्ट्रपतिले  घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 
 
उपराष्ट्रपतिले बढ्दो सडक दुर्घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको उनका प्रेस संयोजक मनोज घर्तीद्वारा जारी प्रेस नोटमा उल्लेख छ । उनले पछिल्ला सडक दुर्घटनाको उचित छानबिन गरी सो छानबिन प्रतिवेदनका आधारमा सडक दुर्घटना न्यूनीकरणको योजना बनाएर कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएका छन् ।