मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकाद्वारा रुसी कच्चा तेल आयातमा प्रतिबन्ध

अमेरिकाद्वारा रुसी कच्चा तेल आयातमा प्रतिबन्ध

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- रसिया-युक्रेन युद्ध सुरु भए यता अमेरिका र उसका युरोपियन मित्र देशहरुले रसिया माथि कडा खालको आर्थिक नाकाबन्दी लगाउने क्रम जारी छ। यसै सिलसिलामा अमेरिकी सांसदहरुको निरन्तरको दबाव पश्चात अन्ततः राष्ट्रपति जो बाइडनले रुसबाट हुने कच्चा तेल लगायतका इन्धन आयातमा प्रतिबन्धको घोषणा गरेकाछन्। 
 
सभामुख न्यान्सी पेलोसीले पनि गत साता मात्र रुसबाट कच्चा तेल आयातमा तत्काल प्रतिबन्ध लगाउनु पर्ने धारणा सार्वजनिक गरेकी थिइन्। आज विहान रुसबाट आयात हुने कच्चा तेल, प्राकृतिक ग्यास लगायत सबै प्रकारका इन्धनहरुमा प्रतिबन्ध लगाउन कार्यकारी आदेश जारी गरेका राष्ट्रपति बाइडनले युरोपेली साझेदारहरुसंग थप परामर्श जारी राख्ने बताएका छन्। राष्ट्रपति बाइडनले रुस माथि थप प्रतिबन्ध घोषणा मात्र गरेका छैनन्, युक्रेनलाई थप १२ विलियन डलरको सहायताको प्रस्ताव समेत गरेका छन्। 
 
रुस माथि चौतर्फी दबाव बढाउने उद्देश्यले भिसा, मास्टरकार्ड लगाएतका सेवाहरु समेत बन्द गरिएको छ भने रुसी केन्द्रीय बैंक सहित ठूला वित्तीय कारोबार गर्ने बैंकहरुलाई समेत अन्तराष्ट्रिय आर्थिक कारोबार गर्न नसक्ने बनाइएको छ। 
 
युरोपेली देशहरुलाई इन्धनमा रसिया माथिको परनिर्भरता कम गर्न समेत काम गरिने राष्ट्रपतिले जानकारी गराएका छन्। यसै बीच ब्रिटिश कम्पनी ‘शेल’ले समेत रसियाबाट कच्चा तेल आयात बन्द गर्ने घोषणा गरिसकेको छ। 
अमेरिकी बजारमा तेलको मूल्य अहिले सम्मकै सबभन्दा उच्च भएको छ। सबभन्दा सस्तो ग्यास पाइने भनिएको टेक्ससको ह्युस्टन सहरमा समेत अनलिडेड ग्यास (पेट्रोल) को मुल्य प्रति ग्यालन (३.७८ लि) ४ डलर पचास सेन्ट भन्दा बढी पुगिसकेको छ। युक्रेन- रुस युद्ध लम्बिंदै जाँदा सवारी इन्धनको भाउ अझ बढ्ने देखिएको बेला रुसी तेल आयातमा प्रतिबन्ध लागेपछि अमेरिकी बजारमा तेलको मुल्य अझै बढ्ने अनुमान गरिएको छ। 
फोटो सौजन्य- जगदीश काफ्ले

फोटो सौजन्य- जगदीश काफ्ले
२०२१ को डिसेम्वरको तथ्याङ्क हेर्दा अमेरिकाले रुसबाट आयात गर्ने कच्चा तेलको हिस्सा करिब २ प्रतिशत मात्र रहेको देखिए पनि अहिले नै तेलको मुल्य निकै बढिरहेको बेला अमेरिकी उपभोक्ताले अझै महँगोमा तेल किन्नु पर्ने हुन सक्छ । इनर्जी इन्फर्मेसन एजेन्सीको तथ्याङ्क अनुसार गतबर्ष प्रतिदिन करिब ७ लाख ब्यारल कच्चा तेल रुसबाट आयात भएको  थियो। अमेरिकाले प्रतिदिन करिब ४५ लाख ब्यारल कच्चातेल क्यानडाबाट आयात आयात गर्दछ। अमेरिकाले आफ्नै उत्पादन बढाउने र रुस बाहेकका देशबाट थप कच्चा तेल आयात गर्ने तर्फ समेत योजनाहरु अघि सारेको राष्ट्रपतिले बताएका छन्।
 
आज ह्वाइट हाउसमा प्रतिबन्धको घोषणा गर्दै बाइडनले भनेका छन्— रुसी तेल माथि प्रतिबन्धका कारण अमेरिकी उपभोक्तालाई थप मुल्यभार पर्न नदिन अधिकतम प्रयास गरिने छ। राष्ट्रपतिको मुल्यस्थिर राख्न प्रयास गर्ने घोषणाका बाबजुद उपभोक्ताहरु सस्तो ग्यास पाइने स्याम्स क्लब लगायतका ग्यास स्टोरहरुमा लाइन लाग्न थालेका छन्। तस्बिर: सामाजिक संजाल