मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

मंगलबार दिनेश शर्मालाई भोट गरौं

मंगलबार दिनेश शर्मालाई भोट गरौं

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली समुदाय अमेरिकाको मूल धारको राजनीतिमा आउनुपर्छ भन्ने पक्षमा हामी सधैं छौं । अमेरिकामा नेपाली समुदायको स्थायी बसोवास गर्ने बढ्दो क्रमसंगै यही जन्मे हुर्केको दोस्रो पुस्ता वयस्क हुँदैछ । तेस्रो पुस्तासमेत हुर्किने क्रममा छ । यो क्रमसगै हाम्रो समुदाय पनि यहाको समाजको अंग बन्दै गएको छ । हाम्रा आवश्यकता यहाँको स्थानीय, राज्य र केन्द्रीय राजनीतिसंग केही हदसम्म जोडिन थालेका छन् । स्थानीय मूलधारको राजनीतिमा हाम्रो सकृयताले नेपालको पहिचान र प्रभाव बढाउनसमेत मद्दत गर्छ । यही भएर हामीले ह्यारी भण्डारीको उम्मेदवारीलाई समर्थन र सहयोग गरेका थियौं । उनको जितले यहा बस्ने नेपाली समुदाय मात्र होइन, नेपाललाई समेत मद्दत पुगेका थुप्रै उदाहरण छन् । युलेस सिटीमा टीका पौडेलको जितले अर्को इंटा थपेको छ । 
 
यस आधारमा टेक्सस स्टेट डिस्ट्रिक्ट–९२ मा दिनेश शर्माको उम्मेदवारीलाई पनि हामी समर्थन गर्छौ । दिनेशले प्रतिनिधित्व गर्ने डेमोक्र्याटिक पार्टी प्राइमरीको अग्रिम मतदान गर्न पाइने समय सकिएको छ । आउने मंगलबार मतदान केन्द्रमा गएर भोट हाल्न पाइने मौका अझै बाकी छ । त्यस क्षेत्रमा पार्टीभित्रकै तीनजना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । विगतका मतको आधारमा प्राइमरीमा जसले जित्छ त्यसले आउने नोभेम्बर महिनामा हुने मुख्य चुनावमा पनि जित्ने अवस्था छ । यस आधारमा मंगलबार हाम्रो समुदायका दिनेश शर्माका लागि यहाँको राजनीतिमा प्रवेशको ढोका खोल्ने-नखोल्ने तय हुनेछ । 
 
हामी हाम्रो समुदायले यो मौका उपयोग गर्नुपर्छ भन्ने पक्षमा छौं । टेक्सस हाउस–९२ मा युलेस, आर्लिंटन, ग्रान्डप्रेरी र बेडफोर्ड सिटी पर्छन् । यस क्षेत्रमा नेपाली समुदायको उल्लेख्य बसाइ छ । हामी नेपाली समुदायसंग मतदान गर्ने अधिकार भएकालाई, आफ्ना छरछिमेकी वा आफन्तलाई समेत दिनेश शर्माका लागि भोट हाल्न अभिप्रेरित र सहयोग गर्न आग्रह गर्दछौं । 
 
हामी हाम्रो समुदायको पहिचान बनाउनुपर्छ भन्ने पक्षमा छौ । तर, अरु कुनै उम्मेदवारको विपक्षमा होइनौं । केही साताअघि दिनेशका प्रतिस्पर्धी उम्मेदवारसंगको भेटलाई लिएर नेपाली समुदायबीच विभिन्न प्रतिकृया सार्वजनिक भएका थिए । कुनै पनि उम्मेदवारलाई भोट हाल्ने-नहाल्ने व्यक्तिगत स्वतन्त्रता हो । यसलाई हामी सम्मान गर्छौ ।
त्यस कार्यक्रममा जानेले पनि कुनै गल्ती गरेका थिएनन् । र, त्यहाँ जाँदैमा, कुरा सुन्दैमा उक्त उम्मेदवारलाई समर्थन गरेको भन्ने अर्थ पनि लाग्दैन । र, लगाउनु हुँदैन पनि । राजनीति समाजसेवा हो । समाजसेवा गर्नेले आफ्नो कमजोरीप्रति आत्मसमीक्षा पनि गर्नुपर्छ । विगतमा भएका कमजोरीलाई दोहोरिन नदिई अझ परिपक्वता देखाउन सक्नुपर्छ । दिनेश शर्माबाट पनि हामी यही चाहन्छौं । 
 
हामी नेपाली समुदाय भनेर मात्र यहाको राजनीतिमा सफल हुन सक्दैनौं । हामी यहाँ व्यापार–व्यवसाय गर्छौं । रोजगारी गर्छौं । हाम्रा छोराछोरी यहींको स्कुल, कलेजमा जान्छन् । यहांका सुरक्षा निकाय, स्थानीय प्रशासनसंग पनि हामी जोडिएका छौं । समुदायले होस्टेमा हैंसे गर्ने हो । तर, आफ्नो समुदायलाई सधैं सुविधाका रुपमा मात्र लिनु हुँदैन । समुदायलाई पनि दिन सक्नुपर्छ । समुदायभित्रका प्रतिकृयाले दिनेश शर्मालाई अझ आफूलाई माझ्न सहयोग पुगेको छ भन्ने हामीले देखेका छौं । 
 
अन्त्यमा, मंगलबार नेपाली समुदायका लागि अमेरिकी राजनीतिमा पहिचान बढाउने अर्को मौका हो । यसलाई सदुपयोग गर्न हामी सबैमा अनुरोध गर्दछौं । दिनेशलाई जितको शुभकामना दिन्छौं ।