मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शान्तिको माग गर्दै रुसी दूतावास अगाडि प्रदर्शन

शान्तिको माग गर्दै रुसी दूतावास अगाडि प्रदर्शन


काठमाडौँ । रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवर्द्धन गर्न विशेष आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले आज नेपालस्थित रुसी राजदूतावास बालुवाटार अगाडि प्रदर्शन गरेको छ । 
  
दिउँसो आधा घन्टासम्म गरिएको प्रदर्शनमा शान्तिवादीले ‘रुस : युक्रेनमाथि अतिक्रमण बन्द गर’, ‘तत्काल सैनिक फिर्ता गर’, ‘युद्ध रोक’, ‘शान्ति प्रवर्द्धन गर’ भन्दै ध्यानाकर्षण गराएका थिए । प्रदर्शनपछि शान्ति समाजका तर्फबाट रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र नेपालस्थित रुसी राजदूतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो । 
 
युद्धले लाखौँ, करोडौँ मानिसको अधिकारमाथि घात गर्ने हुँदा कुनै पनि हालतमा युद्ध हुनु हुँदैन र शान्तिपूर्ण तवरमा हरेक समस्याको समाधान खोजिनुपर्छ भन्ने शान्ति समाजको मान्यता रहेको उल्लेख गर्दै रुसी राष्ट्रपति पुटिनलाई लेखिएको पत्रमा भर्खरै मात्र युक्रेन सन्दर्भमा रुसले गरेको निर्णयबाट शान्ति समाज एवं शान्ति समाजमा आबद्ध दसौँ हजार सदस्य तथा शुभचिन्तक अत्यन्त चिन्तित भएको उल्लेख छ । 
  
मित्रराष्ट्र रुसलाई तत्काल सेना फिर्तासहित युद्ध रोक्न र शान्ति प्रवर्द्धन गर्न शान्ति समाजले विशेष आग्रह गरेको छ । 
 
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाईं र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, पूर्वउपसभापति रेनुका पौडेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, सचिव बन्दना सिंह, अपिल समिति संयोजक बलबहादुर गाहा मगरलगायत सहभागी भएका थिए ।

शेयर गर्नुहोस:

405
Shares