मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

सपथ लिँदा र भोट हाल्दा आमाको तस्बिर बोकेका न्युयोर्कका मेयरले नेपालीमाझ सम्झिए ‘आमा’

सपथ लिँदा र भोट हाल्दा आमाको तस्बिर बोकेका न्युयोर्कका मेयरले नेपालीमाझ सम्झिए ‘आमा’

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, अमेरिका ।  न्युयोर्कका मेयर एरिक आडम्सले आफ्नी आमाप्रति विशेष सम्मान प्रकट गर्दै आएका छन् । चुनावी अभियानका क्रममा सन् २०२० मा आमा गुमाएका उनले प्राइमरी चुनाव र गत नोभेम्बरको मेयरको चुनावमा आफैँलाई मतदान गर्दा आमाको तस्बिर बोकेका थिए भने नयाँ वर्षको दिन सपथग्रहण गर्दा पनि एउटा हातमा बाइबल र अर्को हातमा आमाको तस्बिरर बोकेका थिए ।
 
आइतबार न्युयोर्कको ज्याक्सन हाइटमा रहेको सत्यनारायण मन्दिरमा न्युयोर्क सिटी काउन्सिलको प्राइमरीका डेमोक्रेटिक उम्मेदवारसमेत रहेका नवराज केसीकी आमाको १३ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली दिन र शोकाकुल परिवारलाई समवेदना दिन उपस्थित मेयर एरिक आडम्सले श्रद्धाञ्जली मन्तव्यको क्रममा आफ्नी आमालाई सम्झिए । 
 
आडम्सले आफू चुनावी अभियानका क्रममा रहेको बेला आमाले अन्तिम स्वास लिइरहेको खबर आएपछि आमालाई भेट्न जाँदाको पीडायुक्त क्षणको स्मरण गरे ।
 
आफ्नी आमासँग बिताएका क्षणहरु स्मरण गर्दै उनले भने,  ‘उहाँका ६ जना बच्चाहरु रहेका थिए । तर, उनले सबैभन्दा बढी मलाई माया गर्नुहुन्थ्यो । म उहाँको सबैभन्दा मनपर्ने सन्तान थिएँ ।’
 
केसीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मेयर आडम्सले भने – ‘जीवन स्थायी छैन । तर, तपाईं आफ्नो आमाको कोखमा जन्म लिन पाएकोमा धन्य हुनुहुन्छ । यो नै जीवनको सर्कल हो । त्यसैले हामीले उनीहरुले जीवनमा भोगेका खुशीको स्मरण गर्दै व्यक्तिको महाप्रस्थानको उत्सव मनाउनुपर्छ ।’
 
‘मैले भेटेको पहिलो दिनमा नै नवराजमा एकदमै धेरै माया, सहयोग र कामप्रति समर्पण पाएको थिएँ । अरु कोही नभएको अवस्थामा तपाई मसँग हुनुभएको कुरा मैले कहिले पनि बिर्सन्न । तपाईंको सहयोग र मित्रता मेरा लागि निकै महत्त्वपूर्ण छ । आज म यो सिटीमा जहाँ काम गरिरहेको भएता पनि म मेरा भाइ नवराजका लागि आउन चाहेँ’, न्युयोर्कमा हिमपातपछिको अवस्थामा अत्यन्तै व्यस्त रहेका मेयर आडम्सले भने ।
 
एरिक आडम्सले अगाडि भने,  ‘उहाँजस्तो आमा पाएकोमा र नवराज जस्तो असल व्यक्तिलाई जन्मदिएकोमा हामी आमाप्रति खुशी हुनुपर्छ । तपाईंजस्तो छोरा जन्माएकोमा तपाईंको आमा तपाईंप्रति गर्व गर्नुहुन्छ । हामी पनि तपाईंप्रति गर्व गर्दछौँ । तपाईं जो हुनुहुन्छ, त्यसका लागि धन्यवाद । तपाईंजस्तो सन्तान जन्माएकोमा आमालाई पनि धन्यवाद ।’
 
एरिक आडम्स न्युयोर्कमा रहेका नेपालीमाझ समेत लोकप्रिय रहेका छन् । उनलाई नेपाली समुदायका तर्फबाट इन्डोर्ससमेत गरिएको थियो । साथै, नेपाली समुदायले समेत उनलाई चुनावी अभियानका क्रममा फण्डरेजमा सहयोग गरेका थिए ।
 
आडम्सले कोरोना महामारीमा न्युयोर्कको नेपाली समुदायलाई उल्लेख्य सहयोगसमेत गरेका थिए । साथै, कोरोना महामारीमा अग्रपंक्तिमा रहेर योगदान दिने नेपाली समुदायका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेका थिए । नेपाली समुदायले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका आडम्स न्युयोर्कको नेपाली समुदायको पहिलो छनौट रहेका थिए ।