मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा नेपाली जोडी नै खोज्दै हुनुहुन्छ ? (भिडियो सहित)

अमेरिकामा नेपाली जोडी नै खोज्दै हुनुहुन्छ ? (भिडियो सहित)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) – पात्र १ – उमेर ३२ वर्ष भैसकेका एक युवक छन् । प्रोफेसनल्ली फच्र्युन हण्ड्रेड कम्पनीमा काम गर्छन् । बार्षिक तलबनै ६ अंक (एकलाख भन्दा बढी) नाघ्छ । दुई वर्षदेखि विवाहका लागि बधुको खोजीमा पसेका उनले अहिलेसम्म खोजेजस्तो पाउन सकेका छैनन् ।
 
‘उमेर मिल्ने पनि चाहियो । सकभर नेपालमै गएर परम्परागत रुपमा विहे गर्ने सोच बनाएको । मन, उमेर, विचार मिल्ने केटीका लागि प्रयास गरिराखेकै छु’ उनले भने ।
 
पात्र २ – टेक्ससको एउटा युनिभर्सिटी अफ टेक्सस आर्लिङ्गटनबाट प्राविधिक विषयमा एक वर्ष पहिले ग्राजुयट भएकी एक युवती छिन् । उनी ग्रीनकार्डवाला केटाको खोजीमा छिन् । किनकी ग्रीनकार्ड नहुँदा उनले ग्राजुयट भएर पनि चाहेजस्तो काम पाउन सकेकी छैनन् ।
 
‘उमेर त बितेको छैन । तर यो उमेरभन्दा बढी भयो भने फेरि केटा नपाउने डर पनि हुने रहेछ । नेपाल फर्किने मन छैन । त्यही भएर यहीँको सिटिजन भैसकेको वा ग्रीनकार्डवाला खोजिरहेको छु’ उनले भनिन्–‘बाबा–ममीले पनि नेपालीभन्दा बाहिरको संस्कारको केटा नहेर है भन्नुभएको छ । बरु दाई, तपाइको नजरमा पनि कोही छ भने यसो सुझाव दिनुस् है ।’
 
यी दुई त दृष्टान्त मात्र हुन् । योग्य जीवनसाथीको खोजीमा पसेका । तर पाउन नसकेका दर्जनौ व्यक्तिहरु आफ्नै वरिपरी भेटिन्छन् । स्पष्टसँग कुरा राख्न पनि नसक्ने र यिनका त ब्वाईफ्रेण्ड या गर्लफ्रेण्ड होलान् भन्ने अनुमानका भरमा कुरा अघि बढाउन आँट नगर्दा ३० वर्ष नाघिसकेका पनि थुपै भेटिन्छन् ।
 
यही समस्यालाई हल गर्ने उद्वेश्यले ड्यालसको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसिएससी) ले बरबधु मिलन कार्यक्रम थालनी गरेको छ । नेपाली मन्दिरका नामले पनि सुपरिचित एनसिएससीले एक वर्षसम्मको गृहकार्य एवं कानुनी तथा व्यबहारिक पक्षको अनुसन्धान पछि यो कार्यक्रम सुरु गरेको छ ।
 
‘आफ्नै नेपाली संस्कार र संस्कृति भित्रै बर तथा बधु चाहनेहरुका लागि सजिलो र विश्वासयोग्य प्लाटफर्म हुनुपर्छ भन्ने उद्वेश्यले यो कार्यक्रम सुरु गरिएको हो’ मन्दिरका संस्थापक अध्यक्ष तथा बरबधु मिलन कार्यक्रमका संयोजक डा. मुरली अधिकारीले प्रष्टाए । अमेरिकामा सामाजीक सञ्जालका माध्यमबाट वा भारतीयले जोडी मिलाउने वेवसाइटहरु छन् । तर नेपाली समुदाय र अझै विशेषगरि अमेरिकामा नेपालीले स्थापना गरेको मन्दिरबाट यस्तो वैवाहिक कार्यक्रम पहिलोपटक सुरु भएको हो ।
 
‘यो कार्यक्रमबाट बरले उपयुक्त बधु र बधुले आफुले खोजेको जस्तो वर पाउन सक्ने अवस्था सिर्जना हुनेछ’ कार्यक्रमकी वेवसाइट निर्देशक डा. विष्णुमायाँ उपाध्यायले भनिन् । अमेरिकामा सम्पर्क तथा पहुँचको अभावले अध्ययन सकेर, राम्रो काम गरेर विवाहयोग्य उमेर पुगेका थुप्रै नेपालीहरु छन् । तिनलाई एउटै वेवसाइट मार्फत सम्पर्कमा जोड्ने पुलको काम मन्दिरले गर्न लागेको हो ।
 
यो कार्यक्रममा सहभागी हुनका लागि १८ वर्ष उमेर पुगेकाहरुले वेवसाइटमा गएर आफ्नो विवरण भर्नुपर्छ । अभिभावकले समेत आफ्ना विवाहयोग्य छोराछोरीका लागि फर्म भर्न सक्नेछन् । ‘वेवसाइटमा भरिएका सबै विवरणहरु गोप्य हुनेछन् । उहाँहरुको विवरणहरु मध्यबाट जात, उमेर, उचाई, शैक्षिक योग्यता लगायतका विवरणमात्र वेवसाइटमा सार्वजनिक हुनेछन्’ बरबधु कार्यक्रमको लागि सहजीकरण गर्नुहुने मन्दिरका पूजारी मेघराज निरौलाले भने ।
 
आवेदन दिनका लागि https://www.ourncsc.org/bar-badhu-milan-nepali-matrimony/application-form मा गएर सबै विवरण भर्नुपर्छ । मजाकको विषय नहोस् र सिरियस व्यक्तिहरुले मात्र आवेदन दिउन् भनेर ९९ डलर शुल्क राखिएको छ । निशुल्क गर्दा हेरौं न त भनेका भरमा जथाभावी दर्ता हुने संभावना देखिएपछि शुल्क राखिएको हो । केही समयका लागि शुल्कमा ५० प्रतिशत छुट दिइएको छ । यो प्रमोसनल अवधिका लागि छुट गरिएको हो ।
 
बरबधुको लागि भनेर भरिएका व्यक्तिगत डाटाको सुरक्षा लगायतका कानुनी प्रकृयाका बारेमा मन्दिरले निकै लामो अध्ययन गरेको छ । यही क्षेत्रमा लागेका अमेरिकी कानुनका ज्ञाताहरु समेतको परामर्शमा वेवसाइटको डिजाइन गरिएको छ । यो कार्यका लागि मन्दिरले झण्डै एक वर्ष समय खर्चिएको संयोजक डा. अधिकारीले उल्लेख गरे ।
 
‘पछिल्लो समयमा हाम्रो समुदायका लागि कुन कुरा बढी आवश्यक छ भनेर हेर्दा विवाहयोग्य उमेर पुगेका थुप्रै व्यक्तिहरु देखिएको र जोडा मिलाउन सक्ने निकाय नभएपछि यो कार्यक्रम सुरु भएको हो’ डा. अधिकारीले थपे ।
 
बरबधु कार्यक्रममा सहभागी हुनका लागि अमेरिकामै नभएपनि हुन्छ । नेपालमा रहेका र विवाहयोग्य उमेर पुगेकाले आफूले चाहे अनुसारको बरबधु उल्लेख गरेर पनि फर्म भर्न सक्नेछन् । फर्म भर्दा कुन देशमा रहेकासँग विवाह गर्न चाहेको समेत उल्लेख गर्न सकिन्छ ।
 
अमेरिकामा रहेकाले नेपाल वा अन्य देशमा र नेपालमा रहेकाले पनि अमेरिका लगायत अन्य देशमा रहेका नेपालीसँग विवाह गर्नका लागि आफ्नो विवरण भरेर वेवसाइटमा राख्न सक्छन् । वेवसाइटमा रहने हरेक व्यक्तिका लागि छुट्टाछुट्टै आइडी नम्बर हुन्छ । त्यही आइडी नम्बरका उल्लेख गरेर मन्दिरका पुजारी तथा सहजकर्ता मेघराज निरौलासँग सम्पर्क गर्नसकिन्छ ।
 
सहजकर्ताले दुबै पक्षको फोन नम्बर आदान प्रदान गरेर भेट गराउने व्यबस्था गर्नेछन् । दुबै पक्षबीच भेटघाट पछि चित्त बुझेमा विवाह गर्ने या नगर्ने सबै निर्णय संबन्धित व्यक्तिकै हुनेछ । ‘भेट गराइदिनेसम्मको दायित्व मन्दिरको हो, त्यसपछि उहाँहरुबीचनै सहमतिमा बिहेको कुरा अघि बढाउने या रोकिने निधो हुन्छ’ डा. अधिकारीले भने ।
 
अविवाहित मात्र नभएर कानुनी रुपमा डिभोर्स भैसकेका, पति या पत्नीको निधन भएका व्यक्तिले पनि फर्म भरेर बुझाउन सक्नेछन् । सामाजीक सेवाका रुपमा मन्दिरले थालनी गरेको यो कार्यक्रमबाट नेपाल बाहिर प्रवासमा रहेका धेरै व्यक्तिहरु लाभान्वित हुनसक्नेछन् ।
 
अमेरिकामा रहेका र नेपालमै विहे गर्न चाहने, नेपालमा रहेका र अमेरिकामा रहेका नेपालीसँग विहे गर्न चाहनेलाई यो कार्यक्रमबाट निकै सहजता हुने प्रतिकृया समुदायका अगुवाहरुले व्यक्त गरेका छन् ।
 
यो कार्यक्रमप्रति अमेरिकाका बिभिन्न राज्य तथा सिटीहरुमा रहेका नेपाली सामुदायिक संस्थाहरुले चासो देखाएका छन् । अमेरिकामा दोस्रो पुस्ताका नेपालीहरुको संख्या बढ्दै गएको, उनीहरु विवाहयोग्य उमेरका भैसकेका र विद्यार्थीहरुले समेत यतै विहे गरेर बस्नेतर्फ चाहना देखिएपछि यस प्रकारको कार्यक्रमको आवश्यकता रहेको देखेपछि मन्दिरले अघि सारेको हो ।
 
बरबधुको खोजीमा वेवसाइटमा प्रकाशित विवरण यस्तो रूपमा प्रकाशित हुनेछ । https://www.ourncsc.org/bar-badhu-milan-nepali-matrimony/groom-wanted