विचार / ब्लग

कूलको महत्व र कूलप्रतिको दायित्व

प्रकाशित |
मूलत:धार्मिक ग्रन्थहरुमा आधारित पूर्वीय दर्शनमा कूल र परिवारको ठूलो महत्व छ।कूलको आढमा संरक्षित हुनु, मान सम्मान पाउनु,प्रगति उन्नति गर्नु र आनन्दको अनुभूति गर्न पाउनु हरेक कूल सदस्यको अधिकार हो।
 
कूलको इज्जत गर्नु, लाज बचाउनु, भलो चिताउनु ,संरक्षण गर्नु र श्रीवृद्धि गर्नु पनि उसको कर्तव्य हो।जब कूलका सदस्यहरु अधिकारका लागि खरो उत्रने तर कर्तव्यबाट भने च्युत हुने अवस्था आउछ। तब,एक पछि अर्काको  र कूलकै विनास ढिलो चाँडो निश्चित हुन्छ। यहिँ नियम परिवारमा पनि लागू हुन्छ। परिवारमा एकताको सट्टा वैमनस्यताले डेरा जमाउछ, तब बैरीलाई  परिवार र आफू माथि राज गर्न सहज हुन्छ।र,बैरीलाई विजयको शंख फुक्न गाह्रो हुदैन।यो सत्य तथ्य कुरा परिवारमा मात्र हैन समाज,राष्ट्र, समुदाय,संघ संगठन,राजनितिक दल तथा समूहमा पनि उत्तिकै लागू हुन्छ। किनकि,यि सबैको पृष्ठभूमि एउटै हुन्छ।
 
एउटै दर्शनबाट शिक्षित र दिक्षित हुन्छ। बनेको संरचानाका आधारस्तम्भहरु पनि उस्तै उस्तै नै हुन्छन्। यसको गहन अध्ययन,विश्लेषण र मनन गर्न  हिन्दुहरुको धार्मिक ग्रन्थ रामायण अमुल्य छ।तसर्थ, रामायणको एउटा प्रसंग सारमा यहाँ प्रस्तुत गर्ने अनुमति  चाहन्छु,जहाँ रावण र कुम्भकर्ण बिच अत्यन्तै मार्मिक र महत्वपूर्ण अन्तरसंवाद भएको छ।जसले कूल र परिवारप्रतिको कर्तव्यलाई अत्यन्त महत्वकासाथ मर्मस्पर्शी ढंगले उठान गरिएको छ।  
 
रामायण कथामा मानव जाति र राक्षस जाति बिचको युद्धलाई बढो दार्शनिक, मार्मिक,दुरदर्शी,ज्ञानबर्धक र  शिलशिलेवार रुपमा प्रस्तुत गरिएको छ।मानव जातिको नेतृत्व रामले गरेका छन् भने राक्षस जातिको नेतृत्व रावरणले गरेका छन्। कथा अनुसार जब  रावणकी बहिनी सुरप्रभाको नाक काटिन्छ,तब रावरणले ठूलो अपमान भएको ठानी प्रतिशोध साध्दै बदला लिने निर्णय लिन्छन्। जब रावणले छलकपट गरेर राम कि पत्नी सीता हरण गर्दछन्, तब रामायणको कथाले अर्कै मोड लिन्छ।र, दुबै पक्ष जानी नजानी ,चाही नचाही युद्धमा होमिन्छन्।युद्धको दौरानमा एउटा यस्तो अवस्था आउछ,जब रावणलाई युद्ध मैदानमा रामले निशस्त्र तुल्याई सहजै विजय प्राप्त गर्न सक्ने अवस्था हुँदा हुँदै पनि रावणलाई युद्ध भुमिबाट जीवनदान दिदै सकुसल फिर्ता पठाइ दिन्छन्। 
 
त्यो घटनाले रावरणलाई मरेतुल्य र घोर अपमान भएको महसुस हुन्छ र उनको मनमा जलिरहेको बदला भावको आगो निभ्नुको सट्टा झल दन्किन्छ।राम र उनका सेनालाई नजरअन्दाज गरेर रणभूमिमा  उत्रिएका रावणलाई त्यो घटनाले राम लरतरो शक्ति भएको ब्यक्ति होइन रहेछ भन्ने बोध त गराउछ।तर, उनी भित्र भएको अहंकार र प्रतिशोधका कारण भने  हार स्विकार गर्दैनन्। बरु अझै थप आवश्यक तयारीका साथ सशक्त रुपमा रणभूमिमा उत्रने निधो गर्छन्। 
 
यसै शिलशिलामा उनले अति शक्तिशाली भाई कुम्भकर्णको सहयोग लिने निर्णयमा पुग्दछन्। र गहिरो निन्द्रामा परिरहेका कुम्भकर्णलाई निन्द्राबाट जगाई आफ्नो सामु यथासिघ्र उपस्थित गराउन बिरुपाक्षालाई उर्दी जारी गर्दछन्।बिरुपाक्ष पनि दलबल सहित  नुनको सोझो गर्न आफ्ना राजा रावणको हुकुम सिरोधार्य गरी "जो आज्ञा महाराज" भन्दै  सुतिरहेका कुम्भकर्णलाई  जगाउन जान्छन् र ठुलो ठुलो आवाजमा कराएर ,चिच्याएर,बाजा बजाएर,जिउमा घोचेर आदिइत्यादी गरेर बिउझ्याउने अथक प्रयास गर्छन् तर ब्यर्थ हुन्छ। 
 
अन्तिम  ब्रम्हास्त्रका रुपमा जब मिष्ठान्न भोजनहरु  उनको नजिक लगेर त्यसको बास्ना सुघाइन्छ, तब उनी मिष्ठान्न भोजन खान लालाहित हुदै आफ्नो नियमित सुत्ने जम्मा जम्मी ६ महिना समय भन्दा अगाडि नै उठ्छन्।उनी उठेपछि आफ्नो वरपर रावणका दुत बिरुपाक्षलाई दलबल सहित देखेर आश्चर्य मान्दै दुतहरु के कति कारणले आएको हो भनि बुझबुझारत गर्दछन्।रावणका दुतहरुले पनि सबिस्तार  रावणको सन्देश सुनाउछन्।र,कुम्भकर्ण विलम्ब नगरी रावण सामु उपस्थित हुन्छन् । कुम्भकर्णको उपस्थितले रावणमा निकै ठुलो साहास एकाएक उत्पन्न हुन्छ। र,खुशी हुदै राम माथिको विजय निश्चितको सपना देख्न थाल्दछन्।  हुन पनि कुम्भकर्ण जतिको शक्तिशालीलाई रणभूमिमा पठाए पछि विजय सुनिश्चित हुनेमा रावणलाई कुनै सन्देह गरिराख्नु पर्ने कुनै आधार नै थिएन।त्यसैले विलम्ब नगरी रावणले कुम्भकर्णलाई   घटानाका बारेमा सबिस्तार अवगत गराउछन्।
 
रामले रणभूमिमा आफूलाई निशस्त्र बनाएर सहजै बिजय प्राप्त गर्न सक्ने अवस्था हुँदा हुदै पनि त्यसो नगरी उल्टै सकुसल फिर्ता पढाएर आफ्नो घोर अपमान  गरेको भन्दै सत्रुलाई परास्त गरी रावणको अपमानको बदला रामसंग लिन लडाईकालाई रणभूमिमा जान आदेश दिन्छन्।राक्षस जातिको लाज बचाउने जिम्मा अब तिम्रो हातमा छ भन्दै  रावणले जब  कुम्भकर्णलाई रणभूमिमा गएर वानर र मानव जातिलाई समाप्त पार्न आदेश दिन्छन् , तब सुतेको अवस्थाका कारण सीता हरणदेखिको घटनाक्रमका बारेमा बेखबर रहेका कुम्भकर्ण रावणबाट ठुलो गल्ती भएको निर्क्योलमा पुग्छन्। र,रावणको कुबुद्धिप्रति ब्यंग गर्दै हाँस्दछन् ।  तिनै लोकका बिजेता भएर पनि रामको अगाडि शस्त्रहीन,श्रीहीन र मानहीन  हुनु पर्यो ..?  भन्दै रावणलाई रामको शक्तिको ज्ञान नभएको र त्योप्रति ध्यान नदिएकोप्रति कटाक्ष गर्दछन्। अन्तरसंवादकै क्रममा जब कुम्भकर्णले रामलाई सम्मान गदै श्री राम भनेर सम्बोधन गछन्।तब रावणको रिसको पारो निकै चड्छ र आक्रोसमा गर्जदै  कुम्भकर्णलाई सत्रुलाई श्री जोडेर सम्मान नगर्न चेतावनी दिन्छन् । 
 
यो सुनेर कुम्भकर्णले "आँखा बन्द गर्दैमा सुर्यको प्रकाश नहराउने " भन्दै रावणको चेतावनी प्रति असहमति जनाउदछन्।"जो तिनै लोकको स्वामी र स्वयम् श्रीमान् नारायण हो,उसलाई श्रीराम नै भन्नु पर्दछ भन्दै रावणका अगाडि आफ्नो सत्य अडान कायम नै राख्दछन् ।अन्तरसंवादकै क्रममा  कुम्भकर्णले लक्ष्मीकी अवतार सीतालाई हरण गरेर ठुलो गल्ती गरेको भन्दै यस्तो घृणित कार्य गर्नु भन्दा अगाडि आफुसंग सल्लाह लिएको भए सही सल्लाह दिन्थे भनी  रावणलाई संझाउने प्रयास गर्दछन् ।रावणले बहिनी सुरपंखाको अपमान र आफ्नो भाईको बधको प्रतिशोधको बदला लिनु आफ्नो कर्तब्य रहेकाले यस्तो कदम उठाएको जिकिर गर्दछन्। कुम्भकर्णले  सुरपंखा आफ्नो पनि बहिनी भएको "सत्रुसंग बदला चोरको तरिकाले हैन वीरको तरिलाले लिनुपर्दछ।राजाले हरेक महत्वपूर्ण निर्णय लिदा आफ्नो परम बिद्वान र सच्चा हितैसीसंग परामर्श गनु नै पर्छ।
 
राजाले चाप्लुसी स्वार्थी मन्त्रीको कुरामा फस्नु हुदैन,जसले आफ्नो निजी स्वार्थका लागि आफ्नो देशलाई पनि बेच्न सक्छन्' भन्दै शास्रको महत्वपूर्ण भनाई सहित बढो मार्मिक भावमा रावणलाई सम्झाउन खोज्दछन् । तर,रावण भाईको सुझावलाई इन्कार गर्दै संकटका बेला शास्त्र सुनाउने उचित समय नभएको भन्दै गुरु आचार्य झै आफूलाई सम्झाउन खोज्ने हो भने गएर फेरी सुते हुन्छ, सहायताको कुनै आवश्यकयता छैन भन्दै आक्रोस पोख्दछन्।र,आफ्नो कूल र दाजु प्रति कुनै जिम्मेवारी छ कि छैन ? भनि प्रति प्रश्न गर्दछन्।
 
"संकटको घडिमा शास्त्र सुनाउने र तर्क वितर्क गर्ने नभई कर्तब्य निभाउने हो।रावणलाई सानको साथ जिउन र मर्न आउछ।कुनै संका भए लडाईमा जानुको कुनै अर्थ हुदैन" भन्दै रावणले कुम्भकर्णलाई कुनै संका,भय भए बरु फेरी सुत्न जान स्विकृति दिन्छन्।
 
रावणको भनाई बढो धर्य र गम्भिर भएर सुनिरहेका कुम्भकर्णले  रावणले आफूलाई ठिक ढंगले नबुझेको जिकीर गर्दै अगाडि भन्छन् "मैले जे भने त्यो एक सच्चा हितैसी भएको नाताले भनेको हुँ।जो मेरो अधिकार थियो र कर्तब्य पनि।यो समयमा मैले के गर्नु पर्छ त्यसको बारेमा न मेरो मनमा कुनै संका छ,न मेरो पथमा कुनै अन्धकार" भन्दै दाजुलाई सूर्य हुदै सत्रुलाई परास्त गर्ने बचन दिन्छन्।"लडाईमा यदि म जिबित रहे,आज लंकामा विजयको उत्सव हुनेछ।परन्तु सबैले भने झैं राम भगवान नै देखियो भने पनि म हारेर भाग्ने छैन।बरु आफ्नो दाइको इज्जतका लागि रणभूमिमा लड्दा लड्दै मर्ने छु।यो मेरो बचन भो" भन्दै कुम्भकर्णले रावणलाई लडाईका बारेमा चिन्ता नगर्न अनुरोध गर्दछन्।  यसै बिच उनले लड्न जाने अनुमतिसहित आशीर्वाद दिन अनुरोध गर्दै रावण सामु एउटा प्रार्थना भन्ने अनुमति लिन्छन्।र भन्छन् " यदि म रणभूमिमा मरे भने संझिनुकी फेरी रामलाई कसैले जित्न सक्ने छैन।तब रामलाई भगवान मानेर उहाँको शरणमा जानु,जसले गर्दा हाम्रो कुल समुल नष्ट हुनबाट बचोस् र तपाईको राज अखण्डक होस्।"
 
दाजु रावण,राक्षस राज्य र राक्षस कूलको रक्षाका खातिर कुम्भकर्णले ब्यक्त गरेका अत्यन्तै मार्मिक र वजसी बाणीहरुले रावणको मन छोयो।र, भाबुक हुदै भाइलाई रावण भन्छन् " प्राणी जब आफ्ना कुटुम्बजनसंग ऐश्वर्य भोग्दछ,तब ऊ प्रसन्न र सन्तुष्ट हुन सक्दछ।यदि तिमी जस्तो भाइ नभए,तीन लोकको साम्राज्य रावणका लागि के काम ...?  भन्दै भाइलाई सम्झाउछन् "जाऊ कुम्भकर्ण ...मृत्युको कुरा नगर।युद्धको कुरा गर।युद्धमा विजयको कुरा गर'' युद्धबाट कुनै हालतमा पछि नहट्ने रावणको अडानको मनोदशा बुझे पछि कुम्भकर्णले रावणको आदेशलाई चुपचाप शिरोधार्य गर्दै आशीर्वाद दिन आग्रह गर्दछन्।रावणले पनि सोही मुताविक कुम्भकर्णलाई विलम्ब नगरी  बिजयको लागि आशीर्वाद दिदै  बिदाई गर्दछन्।र, रामसंग युद्ध गर्न कुम्भकर्ण रणभूमितिर होमिन्छन्।
 
यो अन्तरसंवादमा कुम्भकर्णले रावरणलाई धर्मशास्त्रकै आधार लिएर अनेक तर्क वितर्क गर्दै संझाउन भरमग्दूर कोशिश गरेको,रावणमा जल्दै गरेको प्रतिशोधको ज्वाला निभाउन कुनै कसर बाँकी नराखेको र अन्ततःकेही जोड नचलेपछि आफ्नो मृत्यु निश्चित भएको पत्तो पाउदा पाउदै पनि कूल,परिवार र दाजुप्रति कर्तव्यनिष्ठ हुनु नै आफ्नो धर्म ठानी युद्धको मौदानमा होमिएको देखाइएको छ।
 
अन्तरहृदयदेखि रामायणका अन्य पाटोलाई भूली निश्पक्ष भएर चिन्तन मनन गर्ने हो भने,यो अन्तरसंवाद राक्षस कूलका दुइ सदस्यहरुका बिचमा भएको भएतापनि यसले मानव जातिलाई अत्यन्त मार्मिक, अमूल्य र पथप्रदर्शक ज्ञान तथा संदेश दिएको छ।कूल,मूल र परिवारप्रतिको कर्तव्य र भलोलाई तिलाञ्जलि दिएर आत्मकेन्द्रित र व्यक्तिगत स्वार्थी बन्दै कूल,परिवार,समाज,समूह र राष्ट्र भित्रै द्वन्द मच्चाउने र बैरीसंगै मिलेर कूल,परिवार,समाज,समूह र राष्ट्रकै विरुद्ध लडिरहेका मानव जातिलाई कुम्भकर्णको भूमिकाले गतिलो पाठ पढाएको छ।जसलाई मनन गर्दै व्यवहारमा उतार्न सके जगत भलोका लागि महत्वपूर्ण योगदान पुग्नेमा कुनै संका छैन।

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया