मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली राजदूतावासको म्यासाच्यूसेट्समा घुम्ती शिविर गर्ने तयारी

नेपाली राजदूतावासको म्यासाच्यूसेट्समा घुम्ती शिविर गर्ने तयारी

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्यासाच्यूसेट्स (अमेरिका)- संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूतावासले नेपाली समुदायलाई लक्षित गर्दै घुम्ती शिरिव गर्ने तयारी गरेको छ । अमेरिकाको वासिङ्टन डिसी स्थित राजदूतावासले आफ्ना सेवाग्राहीहरुलाई स्थानीय स्तरमै पुगेर आफ्नो कन्सुलर सेवाहरु प्रदान गर्ने उद्देश्यले घुम्ती कन्सुलर शिविर गर्न लागेको हो । 
 
उक्त शिविर मार्फत म्यासाच्यूसेट्स राज्यसहित न्यु ह्याम्सायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोबास गर्ने नेपाली समुदायले बिना झन्झट सहज रुपमा कन्सुलर सेवाहरु प्राप्त गर्न पाउने भएका छन्। 
 
घुम्ती शिविर  नेपाली राजदूतावास, बोस्टन स्थित एनआरएनए(NRNA) म्यासाच्यूसेट्स च्याप्टर, ग्रेटर बोष्टन नेपाली कम्युनिटी र एनआरएनए न्यु ह्याम्सायर च्याप्टरको संयुक्त आयोजनामा यही सेप्टेम्बर २५ तारिख शनिवार र २६ तारिख आइतवारका दिन हुनगइरहेको उक्त घुम्ती शिविर, म्यासाच्यूसेट्स राज्यको Arlington city को 15 Winslow Street, स्थित Columbus club of Arlington मा हुने आयोजक संस्था एनआरएनए (NRNA)म्यासाच्यूसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङले जानकारी दिनु भयो। तामाङले दिनु भएको जानकारी अनुसार कन्सुलर सेवा शिविर मार्फत सेवाग्राहीहरुले राहदानी नविकरण (अगष्ट २०२२ सम्म बहाल अवधि रहेकाहरुले नविकरण गर्न सक्ने), गैर आवासीय नेपाली परिचयपत्र (NRN ID), अधिकृत वारेसनामा (Power of Attorney), कागजात प्रमाणिकरण(Attestation), एकतर्फी यात्रा अनुमतिपत्र (One way Travel Document)। र पर्यटक भिषा(Tourist Visa) सेवाहरु प्राप्त गर्न सक्ने छन्।
 
चाहेर पनि कोरोना कहरका कारण नेपाली समुदायलाई यस प्रकारको सेवा प्रादान गर्ने व्यवस्था गर्न नसकिएको तर अहिले स्थिति सहज भएकाले घुम्ति शिविर सञ्चालन गर्न लागिएको तामाङले बताउनु भयो। घुम्ती शिविरबाट प्रदान गर्न लागिएका सेवाहरु लिन वासिङटन डिसीसम्म पुग्नु पर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै स्थानीय स्तरबाटै सहज तरिकाले सेवा प्रदान गर्ने उद्देश्यले  गरिएको प्रयासबाट बढि भन्दा बढी सेवाग्राहीहरु लाभान्वित हुने आयोजकलाई विश्वास छ । 
 
दैलोमै आइपुगेको यस घुम्ती शिविरबाट बढी भन्दा बढी सेवा लिइ लाभान्वित हुन सेवाग्राहीहरुलाई अनुरोध गर्दै तामाङ भन्नु हुन्छ ”दैलोमै सेवा लिने यो सुवर्ण अवसर हो। यो मौकामा आवश्यक परेका सेवाहरु लिएर लाभान्वित हुन सबैलाई अनुरोध गर्दछु।” 
 
घुम्ती शिविरलाई बढी भन्दा बढी प्रभावकारी र फलदायी बनाउन आयोजक संस्थाहरु कार्यविभाजन गरी आवश्यक तयारीमा जुटिसकेको आयोजक संस्था ग्रेटर बोष्टन नेपाली कम्युनिटिका उपाध्यक्ष परशुराम फुयालले जानकारी दिनु भयो । 
 
‘हामी कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक तयारीमा जुटिसकेका छौं।घुम्ती शिविरलाई बढी भन्दा बढी प्रभावकारी र उपलब्धिमूलक बनाउन, व्यापक प्रचार प्रसारको खाँचो छ। त्यसैले अहिले अन्य तयारीसंगै प्रचार प्रसारलाई बढी जोड दिइरहेका छौं । ‘
 
 फुयालले भन्नु भयो ”सेवाग्राहीहरुसम्म सूचना पुर्याउन आवश्यक प्रभावकारी प्रचार प्रसारका लागि सहयोग पुर्याउन सबैलाई अनुरोध गर्दछौं ।”उपाध्यक्ष फुयालले शिविर सफलतापूर्वक सम्पन्न हुनेमा समेत विश्वास व्यक्त गर्नु भयो। उहाँका अनुसार अमेरिका लागि नेपाली राजदूत युवराज खतिवडाको समुपस्थितिमा हुने  उक्त शिविरबाट करिब दुइ सय जना सेवाग्राहीहरुले सेवा लिने आयोजकले अपेक्षा गरेको छ।
 
राजदूतावासले कोरोना संक्रमणको अवस्थामा सुधार आएसंगै  सुरक्षाका  उपायहरु पूर्ण पालना गर्दै घुम्ती कन्सुलर सेवाहरु प्रदान गर्न सुरु गरेको हो । राजदूतावासले घुम्ती शिविरबाट प्रदान गर्न लागिएका सेवाहरु प्राप्त गर्नका लागि आवश्यक कागजात, शुल्क र प्रक्रियाबारेमा विस्तृत जानकारीको लागि राजदूतावासको आधिकारिक वेबसाइडमा हेर्न अनुरोध गरेको छ ।
 
राजदूतावासले कोभिड-19 का कारण स्वास्थ्य सुरक्षार्थ आफूलाई चाहिएको सेवाका लागि चाहिने आवश्यक पूरा  विवरण खुल्ने गरी अग्रिम आफ्नो नाम दर्ता गर्न सेवाग्राहीहरुलाई अनुरोध समेत गरेको छ ।

कन्सुलर सेवा शिविर आयोजना हुने स्थान, मिति र समय

स्थानः Columbus Club of Arlington

         15 Winslow Street, Arlington, MA 02474

 मितिः सेप्टेम्बर २५-२६, २०२१

 पहिलो दिन: बिहान ९:३० बजेदेखि साँझको ४:३० बजेसम्म

  दोस्रो दिन: बिहान ९:०० बजेदेखि साँझको ३:०० बजेसम्म

कन्सुलर सेवा शिविरबाट प्रवाह हुने सेवाहरुः

क) राहदानी नविकरण (अगष्ट २०२२ सम्म बहाल अवधि रहेकाहरुले नविकरण गर्न सक्ने)

ख) गैर आवासीय नेपाली परिचयपत्र (NRN ID)

ग) अधिकृत वारेसनामा (Power of Attorney)

घ) कागजात प्रमाणिकरण (Attestation)

ङ) एकतर्फी यात्रा अनुमतिपत्र (One way Travel Document)

च) पर्यटक भिषा (Tourist Visa)

उल्लेखित सेवाहरु प्राप्त गर्न आवश्यक कागजात, शुल्क र प्रक्रियाबारे जानकारीको लागि राजदूतावासको वेबसाइट  https://us.nepalembassy.gov.np को होमपेजमा रहेको “Consular Services” मेनुमा गई हेर्नुहुन अनुरोध गरिन्छ।

कोभिड-19 का कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाई सेवा उपलब्ध गराउनुपर्ने भएकाले आफूलाई चाहिएको सेवाका सम्बन्धमा https://us.nepalembassy.gov.np/consular-camp-boston-appointment-form link मा गई अग्रिम रुपमा आफ्नो नाम, सम्पर्क नम्बर र प्राप्त गर्न चाहेको सेवाबारे फाराम भर्नु हुन अनुरोध छ। राजदूतावासले सम्बन्धित सेवाग्राहीलाई समय तोकी सोही अवधिमा मात्र उपस्थित हुन अनुरोध गर्दै इमेलमार्फत् जानकारी गराउनेछ।

घुम्ती कन्सुलर सेवा शिविरमा सेवा लिन आउँदा साथमा ल्याउनुपर्ने कागजातहरुः

क) राहदानी नविकरण

  • सक्कल नागरिकता र सोको प्रतिलिपी।
  • सक्कल राहदानी र सोको प्रतिलिपी।
  • Live Enrolment का लागि रीतपूर्वक अनलाइन भरिएको बारकोड सहितको प्रिन्टेड फाराम (https://online.nepalpassport.gov.np/PreEnrollment/home.html)
  • नेपाली राजदूतावासको नाम (“Embassy of Nepal, Washington, DC”) मा जारी भएको अ.ड. १५० को मनी अर्डर (हराएको र बिग्रिएको राहदानीको हकमा दोब्बर दस्तुर अर्थात् अ.ड. ३००)। तर, १० बर्ष भन्दा मुनिका नाबालकको हकमा नवीकरण अ.ड. ७५ र हराएको/बिग्रिएको हकमा अ.ड. १५०) ।
  • राहदानी तयार भएपछि आवेदकलाई पठाउन पहिले नै पैसा तिरीसकेको आफ्नो पूरा ठेगाना लेखेको फिर्तिखाम (Self Addressed Prepaid Return Envelope)।

ख) गैर आवासीय नेपाली परिचयपत्र

  • सेवाग्राहीले https://us.nepalembassy.gov.np/wp-content/uploads/2017/02/NRN-ID-FORMpdf मा गई रीतपूर्वक भरेको आवेदन फाराम। तर, गैर आवासीय परिचयपत्र हराएको हकमा स्थानीय प्रहरीले जारी गरेको प्रहरी प्रतिवेदन (Police Report)।
  • नेपाली मुलुकका विदेशी नागरिकले विदेशमा प्राप्त गरेको Naturalization Certificate र सोको प्रतिलिपी।
  • नेपाली मूलका विदेशी नागरिकले प्राप्त गरेको उक्त देशको राहदानी र सोको प्रतिलिपी।
  • नेपाली मूलको भएको जनाउने कागजात, जस्तै- साविकको नेपाली नागरिकताको प्रतिलिपि वा नागरिकता परित्याग गरेको भए सोको प्रतिलिपी,

वा, सो नभए

  • बाबु/आमा/हजुरबुबा/हजुरआमा मध्ये एकको नेपाली नागरिकताको प्रमाणपत्र वा नेपाली मूलको भएको जनाउने अन्य कुनै कागजात (जस्तै नाता प्रमाणित) को प्रतिलिपि।
  • हाल बसोबास गरेको मुलुकमा व्यापार/व्यवसाय गरिरहेको भएको सोको प्रमाण।
  • कुनै पेसा/रोजगारीमा संलग्न रहेको भएको सोको प्रमाण।
  • चारप्रति पासपोर्ट साइजको फोटो।
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. ५२० को मनी अर्डर।

ग) अधिकृत वारेसनामा

  • सम्बन्धित आवेदक वा कानून व्यवसायीले नेपाली कागजमा तयार गरेको लिखत।
  • सम्बन्धित आवेदक वा कानून व्यवसायीले तयार गरेको नेपाली राजदूतलाई सम्बोधन गर्दै लेखेको निवेदन।
  • अधिकृत वारेसनामा दिनेको सक्कल नागरिकता र सो को प्रमाणित प्रतिलिपी।
  • अधिकृत वारेसनामा लिनेको नागरिकताको प्रमाणित प्रतिलिपि।
  • अधिकृत वारेसनामा दिने र लिने दुबैको हालसालै खिचिएको दुई/दुई प्रति फोटो।
  • स्थायी आवास अनुमतिपत्र (Green Card) वा Visa Status र सो को प्रतिलिपि।
  • गैर आवासीय नेपाली परिचयपत्रको सक्कल तथा सोको प्रतिलिपि (नेपाली मूलका विदेशी नागरिकको हकमा)।
  • जुन प्रयोजनका लागि अ.वा. दिने हो सो सम्बन्धी सक्कल वा प्रमाणित कागजात, जस्तै- जग्गा बेचबिखनको हकमा लालपुर्जाको सक्कल, कर तिरेको रसिद वा सोको प्रमाणित प्रतिलिपी, सम्बन्ध विच्छेदका लागि विवाह दर्ताको सक्कल वा सो को प्रमाणित प्रतिलिपी।
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. २०० को मनी अर्डर।

 घ) कागजात प्रमाणिकरण

  • रीतपूर्वक भरेको निवेदन।(https://us.nepalembassy.gov.np/wp-content/uploads/2018/07/Attestation-Application-Form.pdf) ।
  • प्रमाणित गर्ने कागजातको सक्कल र प्रतिलिपि।
  • नेपालको कुनै निकायबाट जारी भएको कागजात भए परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागबाट प्रमाणिकरण भएको कागजातको सक्कल र प्रतिलिपी।
  • सक्षम निकायबाट जारी भएको आफ्नो परिचय खुल्ने परिचयपत्र, जस्तै-नागरिकता, राहदानी आदि।
  • सवारी चालक अनुमतिपत्रको हकमा सम्बन्धित यातायात कार्यालयबाट जारी भएको verification letter।
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. ५० को मनी अर्डर।

ङ) एकतर्फी यात्रा अनुमतिपत्र

  • पुरानो राहदानी र सोको प्रतिलिपी ।
  • नागरिकताको प्रमाणपत्र र सोको प्रतिलिपी।
  • रीतपूर्वक भरेको राहदानी फाराम (https://us.nepalembassy.gov.np/wp-content/uploads/2019/12/MRP-FORM.pdf) ।
  • यात्रा अनुमतिपत्रको लागि दूतावासलाई सम्बोधन गरेको निवेदन (https://us.nepalembassy.gov.np/wp-content/uploads/2017/12/Travel-Document-Application-New.pdf) ।
  • तीन प्रति फोटो (MRP size) ।
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. ४० को मनी अर्डर।

च) पर्यटक भिषा

  • सेवाग्राहीले https://nepaliport.immigration.gov.np/onlinevisa-mission/application मा गई रीतपूर्वक फाराम भरी submit गरेपछि प्रिण्ट गरिएको confirmation page को hard copy।
  • कम्तिमा ६ महिना भन्दा बढी अवधि बहाल रहेको राहदानी।
  • कम्तीमा २ वटा भिसा पानाहरु बाँकी रहेको राहदानी।
  • नेपाली राजदूतावासको नाममा जारी भएको मनी अर्डर (१५ दिने भिषाका लागि अ.ड. ३०, ३० दिने भिषाका लागि अ.ड. ५० र ९० दिने भिषाका लागि अ.ड. १५०)।

 (तर, राहदानी र नागरिकता कुनैको पनि सक्कल उपलब्ध हुन नसकेमा सोको प्रतिलिपी वा सो पनि उपलब्ध हुन नसकेमा निवेदक नेपाली नागरिक भएको प्रमाणित हुने कागजात, जस्तै- नागरिकता जारी भएको जिल्ला/इलाका प्रशासनबाट नागरिकताको आधिकारिकता खुलाई लेखेको पत्र कागजात)