विचार / ब्लग

मान्छे विरामी पार्ने ती किचकन्या

प्रकाशित |
किचकन्याका बारेमा लेख्दैछु भनेर केही साथीभाईलाई भनेपछि र सामाजीक सञ्जालमा राखेपछि उहाँहरुमध्य केहीले टिप्पणी गर्नुभयो­ 'यो विषय अलि जटिल छ । किचकन्या महिला हिंसाको एउटा रुप हो । त्यसो हुँदा लेख्नुभन्दा नलेख्दा राम्रो ।'

केहीले थप्नुभयो-'हामीले पनि यस विषयमा अनेकन सुनेका छौँ ।' कसैले त आफैँले भेटेको पनि दावी गर्न भ्याए ।
 
किचकन्याका बारेमा समाजमा अनेकन जनश्रुतीहरु सुनिन्छन्, भेटिन्छन् । लिखित र अलिखित रुपमा अनेकन किस्साहरु छन् । सुनिँदै आएका सयौँ कहानीहरु छन् । एक कान, दुई कान अनि मैदान हुँदै पुस्तान्तरणसँगै ती कहानीहरु हाम्रा कानसम्म पनि आइपुगेका छन् ।
 
म स्वयमले किचकन्या न भेट्ने अवसर पाएको छु, नत देख्ने मौका नै । वाल्यकालमा भूत प्रेत, बोक्सी, किचकन्याका बारेमा अनेकन सुनिन्थ्यो । गाउँघरमा कोही विरामी पर्दा अस्पताल भन्दा पहिले झाँक्रीलाई देखाउने चलन मैले थाहा पाउँदासम्म पनि व्याप्त थियो । त्यतिखेर गाउँमै नाम कहलिएका झाँक्री तल्लोघरको हजुरबा हुनुहुन्थ्यो । शुक्र भट्टका नामले चिनिने हजुरबाको झाँक्री विद्याको प्रख्याती तादी र त्रिशूली नदी पारिका गाउँहरुसम्म थियो ।
 
तत्कालिन अवस्थामा हजुरबा बिरामीहरुका लागि साक्षात देवता जस्तै थिए । जस्तोसुकै झरी, गर्मी, हिउँद, भेल केही नभनि हजुरबा बिरामीसम्म पुग्थे । नाडी छाम्थे, पहेँला अक्षतामा जोखाना हेरेर वरिपरी मिल्काउँथे । बिहान घाम नउदाउँदै झिममिसे वा बेलुकी घाम डुब्न लाग्दा पातको उल्टो पट्टिबाट गाँसिएको दुनोमा पहेँला अक्षता बोकेर भूत मन्छिन दोबाटो, चौबाटोमा पठाउँथे ।
 
'यस्लाई तल चौतारोको खिनी लागेछ ।' धेरै वर्ष पहिले कतैबाट घुम्दै आएकी खिनी नाम गरेकी महिला घरभन्दा तल चौतारोमै बितेकी रहिछन् । उनको आत्मा भड्किरहेकोले भोक लागेपछि बेलाबखतमा त्यो बाटो हिँड्नेलाई बिरामी बनाएर फूल अक्षता र पानी माग्छिन् भनेर झाँक्री हजुरबा भन्थे । विश्वास गर्नुपर्ने अवस्था, समाज थियो त्यतिखेरको ।
 
कहिलेकाँही घर मास्थिरको चौबाटोको भूतले पनि समातेको भन्दै भूत मन्छाउन पठाउनुहुन्थ्यो झाँक्री हजुरबा ।
 
हजुरबा मात्र होइन । गाउँमा अरु दुई तीनजना झाँक्रीहरु पनि थिए । तर ख्याती भने झाँक्री हजुरबाकै ज्यादा थियो ।
 
म जन्मनुभन्दा डेढ दशक अघिनै सदरमुकाममा त्रिशूली अस्पताल खुलिसकेको थियो । तर एम्बुलेन्सको जमाना थिएन त्यो । बिरामी परिहाल्दा डोली वा कार्पेसमा राखेर अस्पताल पुर्याउनुपर्ने समय थियो त्यो । त्यसो हुँदा भर, विश्वास सबै झाँक्रीमै हुनु अस्वभाविक पनि होइन ।
 
भूत, प्रेत, बोक्सीका कुराहरु सुन्दा सुन्दा हाम्रो दिमागमा एक हिसाबको डरले बास गर्दै आएको थियो । राति एक्लै ती ठाउँबाट हिड्नुपर्दा हंशले ठाउँ छोड्थ्यो । अनि भूत भनेका कस्ता होला ? कसैले भेटेको छ कि छैन ? दिमागमा घुमिरहन्थ्यो ।

पछि किचकन्याका बारेमा सुन्न थालियो । 'साह्रै सुन्दरी हुन्छन् रे किचकन्या । सेतो सफा लुगामा आउँछन्, कहिलेकाँही त सेतै घोडा चढेर आउँछन् । तिनीहरुले पुरुषहरुलाई फकाइ फुलाइ गरेर यौनतृष्णा मेट्छन् । पुरुषहरुलाई मुग्ध पार्ने खुबी हुन्छ उनीहरुमा ।' यस्तैयस्तै कहानीहरु सुनिन्थ्यो । गाउँकै अर्का एकजना वृद्ध हुनुहुन्थ्यो । गोठालो जाँदाखेरि उहाँले यस्ता किस्साहरु थुप्रै सुनाउनुहुन्थ्यो । उहाँको भनाईले किचकन्या प्रति चासो लाग्थ्यो ।
 
अकालमा मृत्यु भएका र यौन अतृप्त रहेका युवतीहरुको आत्माले सुन्दरी युवतीको रुप धारण गरेर किचकन्याका रुपमा आउँछन् भनेर उहाँलेनै भन्नुहुन्थ्यो ।

'किचकन्याको खुट्टा उल्टा हुन्छन् । अर्थात औलाहरु पछिल्तिर फर्किएका हुन्छन रे ।' अर्कै दिन यस्तो अर्काे कहानी सुनेँ । किचकन्याले थाहा नपाउने गरि कम्मरमा सानो धागो बाँधिदिने हो भने भोलीपल्ट त्यो धागोको अन्तिम फेर खोज्दै जाँदा सानो हड्डी भेटिन्छ भन्ने कहानी पनि सबैको मुखमा हुन्थे । तर मैले भेटेको छु भन्ने मान्छे भने कोही थिएनन् । सबै अरे अरे, हो हो, मैले पनि सुनेको भन्ने जस्ता कहानी सर्दै आएका थिए ।
 
जो मानिस किचकन्यासँग मायाँ प्रेममा फँस्छ त्यो मानिस बिस्तारै दुब्लाउँदै जान्छ । किचकन्यासँग यौन सम्पर्कको लतमा फँसेपछि उसको ज्यान जान्छ भन्ने जस्ता डरलाग्दा कहानी हाम्रा लागि जासुसी उपन्यासको रहस्य जस्तो हुँदै गएको थियो । तर यी सबै किम्बदन्ती, कहानीले किचकन्या प्रति डर बढ्दो थियो ।
 
भनिन्थ्यो रातको समयमा गाउँ वस्तीबाट केही टाढा एकान्तमा किचकन्याहरु भेटिन्छन् । यिनीहरुलाई देख्दा कोही पनि मानिसले किचकन्या भनेर शंका गर्ने ठाउँ पनि हुँदैन । बरु यति राति यी केटीहरु कसरी आइपुगे ? कहाँ जाने होला भनेर मानिसको मनमा दया, मायाँ पलाउन थाल्छ । किचकन्याहरुले पनि अनेक जाल बुनेर पुरुषलाई आफ्नो वशमा पारेर तृप्त हुन्थे रे ।
 
यस्ता रहस्यपूर्ण पात्रलाई भेट्न चाहने गाउँमा थुप्रै थिए । तर भेटेँ भन्ने चाहि कोही थिएनन् । मलाई भने उल्टो खुट्टा, हड्डीको टुक्राको कहानीले राति हिँड्दा कोही केटी देखिहाल्यो भने पनि डर पैदा हुने अवस्था भैसकेको थियो ।
 
एकपटक गाउँमा ठूलो चर्चा भयो । पल्लो टोलका एकजना काकाले किचकन्या भेटेको खबर गाउँभरि सनसनीपूर्ण रुपमा फैलियो । गाउँका युवकहरु मध्य सबैभन्दा सोझा ती काकालाई मध्य रातमा दुईवटी किचकन्याले घेरेको र उनीहरुको आग्रह टार्दा चर्को बिरामी परेको खबर गाउँभरि फैलियो ।
 
ती काकाले घर परिवार, आफन्तलाई बताए अनुसार घटना यस्तो थियो-
अहिले केन्द्रिय कारागार बन्दै गरेको नुवाकोटको विदुर नगरपालिका चण्डीपोखरी नजिकै उहाँको खेत थियो । बैशाख जेठको समय खेतमा पानी लगाउन पालो कुर्नुपर्ने । एक रात उहाँको खेतमा पानी लगाउने पालो रातिमात्र आयो । नजिकैको खेतमा पानी लागिसकेपछि उहाँको खेतमा पानी लगाउँदा मध्य रात कटिसकेको थियो ।
कुलोबाट खेतमा पानी लगाएर घर आउने क्रममा ठाँटीखोल्चा पार गर्नुपर्थ्यो। ठाँटीखोल्चाको बारेमा मैले केही महिना अघि छुट्टै संस्मरण लेखिसकेको छु ।
 
ठाँटीखोल्चा कटेर घरतिर अघि बढ्ने क्रममा बाटो छेउमा उनले मानिसको गुनगुन आवाज सुने । नजिकै ढुङ्गामा अडेस लागेर केटीहरु बसेका रहेछन् । 'यति राति कहाँ जान लागेका केटीहरु होलान् यी ?' मनमनै प्रश्न गर्दै उनले केही पाइला अघि बढाए ।

'ए दाई पख्नुस् न हामी पनि सँगै जाने हो' एउटीले नामै संबोधन गरेर बोलाइन् । अर्कीले चाँही 'ए मामा हामी पनि सँगै जाने हो पख्नुस् न । हामी फिर्केपसम्म जान लाग्या । रात पर्यो ।'
 
'तिमीहरु आउँदै गर । म त यही पिपल्टारसम्म मात्र हो' भनेर ती काका अघि बढेछन् । तर उनीहरु पछि लाग्न छाडेनन् । उनीहरु पछि लागिरहे । सेतो लुगा लगाएका थिए उनीहरुले ।
 
'मामा, चुरोट सल्काउनु पर्ने तपाईसँग सलाई होला ?' एउटीले सलाई मागिछन् ।
काका चुरोट नपिउने भएका कारण सलाई नभएको बताएछन् । झण्डै आधा किलोमिटरसम्म उनीहरु 'तपाई त कति राम्रो मान्छे' भन्दै र देवीघाटसम्म पुर्याइदिन भन्दै ती दुई युवतीहरु पछि लागिराखेछन् । महिलाको मामिलामा चासो नदिने र असाध्यै सोझो भएका कारण ती काका जसरी भएपनि ती युवतीहरुसँग पन्छिन् प्रयास गर्दा रहेछन् ।
 
अलि तल आइपुगेपछि ती काकाको घर तर्फ लाग्न सडक छाडेर देब्रेतिर गोरेटो बाटो समात्नुपर्थ्यो । त्यतातिर लागेको देखेपछि एउटीले भनिछन् 'दाइ, देबीघाटसम्म पुग्ने फुर्सद नभए एकछिन यही बसेर गफ गरौ न ।'
 
उनले चाँही निद्रा लागिसक्यो भन्दै टारे । 'तपाई त कस्तो निष्ठुरी' भन्दै ती युवतीहरु रिसाए ।
 
ती काका आफ्नो बाटोमा अघि बढे । अलि अघि बढेर पछिल्तिर फर्केर हेर्दा ती युवतीहरु सडक छाडेर बाँझो बारी हुँदै त्रिशूली नदीतिर लाग्दैथिए ।
 
घर आइसकेपछि उनले परिवारका सबैलाई उठाएर घटना बारे सुनाए । घटना सुनेर सबैले ती दुई युवती किचकन्यानै हुन् भनेर ठोकुवा गरे । त्यसपछि उनी डरले आलस तालस भए । लामो समयसम्म बिरामी नै भए ।
 
गाउँभरिमा असाध्यै सोझा भएका कारण उनका कुरामा कसैले अविश्वास गरेनन् ।  
मलाई लाग्छ किचकन्या भन्ने कुरा एउटा भ्रम शिवाय केही होइन । तर ती काकाको त्यो घटनाले किचकन्या भ्रम हो या यथार्थता कहिलेकाँही द्विविधामा पर्छु ।
 
पाठकवृन्द, तपाईहरुलाई चाँही के लाग्छ ? किचकन्या एउटा भ्रम हो या यथार्थता ?

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया