मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा एकताको संदेश दिदै तीज मनाउने तयारी

अमेरिकामा एकताको संदेश दिदै तीज मनाउने तयारी

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बोस्टन (अमेरिका)-  नेपालीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज लक्षित गीतहरु सर्वत्र गुञ्जिन थालिसकेका छन्। यससंगै हिन्दु महिलाहरुको महान चाडका रुपमा चीर परिचित ‘तीज’ भव्यताका साथ मनाउन आवश्यक तयारी पनि सुर भैसकेको छ।यस अवसरमा  अमेरिकाको म्यासाच्युसेट्स राज्यमा  बसोबास गर्ने नेपालीहरु पनि तयारीमा जुटिसकेका छन्।नेपालीहरुको भलोका लागि पहिला नेपालीहरुकै बीच आत्मीय एकताको खाँचो रहेको महसुस गर्दै एकताको संदेशसहित चाड भव्यताका साथ मनाउने तयारीमा नेपालीहरु जुटेका हुन्।यसका लागि बोस्टन स्थित नेपाली सामुदायिक संस्थाहरु ग्रेटर बोस्टन नेपाली समुदाय, गैर आवासीय नेपाली संघ र हिमालय लायन्स क्लव एकजुट भएका छन्।

‘बोस्टन तीज महोत्सव-२०२१’ नाम दिइएको उक्त तीज कार्यक्रम,वाटर टाउन सिटीको सेन्ट जेम्स अमेरिकन एपोष्टोलिक भवनमा यही आउदो सेप्टेम्बर ४ तारिख (शनिवार)का दिन संयुक्त रुपमा मनाउने गरी आवश्यक तयारी थालिएको छ।धार्मिक,साँस्कृतिक,परम्परा र नेपाली पहिचानको संरक्षण तथा संवर्धनमा एकताको संदेश दिदै हर्षोल्लासका साथ चाड मनाउनु नै महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।नेपाली समुदायका बिचमा खड्किदै गरेको एकतालाई मध्यनजर गर्दै यस पटक धार्मीक चाड मार्फत एकताको संदेश दिन संयुक्तरुपमा तीज मनाउन लागिएको गैर आवासीय नेपाली संघ,म्यासाचुसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङले बताउनु भयो।

 
‘मुख्य गरी एकताको संदेश दिने लक्ष्यका साथ हामी तिनै संस्थाहरुले  तीज संयुक्त रुपमा मनाउने निर्णय गरेका हौं। ‘उहाँले भन्नु भयो’ महोत्सवले एकताको संदेश दिनेमा म विश्वस्त छु।’ बोस्टनमा पहिलो पटक यसरी संयुक्त रुपमा तीज मनाउन लागिएको अध्यक्ष तामाङको दाबी छ।
 
महोत्सवलाई प्रभाकारी र उल्लासमय बनाउन नेपाली गीत संगीत समेटिएको साँगितिक कार्यक्रमका साथै नेपालीपन झल्कने मिष्ठान्न परिकारहरुसहित दर खाने कार्यक्रमको पनि व्यवस्था गर्न लागिएको आयोजकले जनाएको छ।प्रति ब्यक्ति २५ डलर सहयोग शुल्क तोकिएको कार्यक्रममा,४ सय टिकट बिक्री गर्ने लक्ष्य राखिएको छ।
 
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारीमा जुट्नु भएका ग्रेटर बोस्टन नेपाली कम्युनिटिका अध्यक्ष मिलन कुमार कार्कीका अनुसार,चाडको मर्ममा केन्द्रिकृत भएर नै महोत्सव मनाइने गरी तयारी थालिएको छ ।’ महोत्सव मनाउदा धर्म,सँस्कृति,परम्परा,रितिरिवाजलाई केन्द्रमा अवश्य नै राख्ने छौं।’ उहाँले भन्नु भयो,’ देश,काल र परिस्थिति अनुसार उपलब्ध श्रोत साधनहरुको भरपुर उपयोग गरेर,महोत्सवलाई प्रभावकारी बनाउन सक्दो प्रयास गर्नेछौं।’ नेपालीहरु बिचको आत्मीय भातृत्वलाई एकताबद्ध र सुमधुर बनाउन कार्यक्रम कोषेढुंगा सावित हुने  अध्यक्ष कार्कीको विश्वास छ।यद्यपि पहिलो पटक यसरी संयुक्त रुपमा मनाउन लागिएको तीज महोत्सवमा,अन्य संघ संस्थाहरुलाई पनि समेट्न कोसिस गर्दा गर्दै पनि विविध कारणले सम्भव नभएकोमा अध्यक्ष कार्कीले दुःखेसो पोख्नु भयो ।  
 
 सामाजिक,धार्मिक,साँस्कृतिक लगायत कार्यहरुमा सामूदायिक एकिकृत भूमिका निकै महत्वपूर्ण र प्रभावकारी हुने गर्दछ।यसै तथ्यलाई आत्मसात् गर्दै बेला बेलामा नेपालीहरु समेटिएका बोस्टन स्थित संघ संस्थाहरुले, आफ्नो एकता र सक्रियता प्रदर्शन गर्दै आइरहेका छन् । यसै क्रममा पहिलो पटक बोस्टन स्थित यि तीन संस्थाहरु ‘तीज पर्व’ सामूहिक रुपमा मनाउन एकजुट भएका हुन् । गत वर्ष कोरोना कहरका कारण परिवार र कोठामा सिमित भएको तीज, यस वर्ष भने केही सुधारको अवस्थाका कारण सामुहिक रुपमा मनाउने तयारी गरिएको छ।यद्यपि, कोरोनाको तेस्रो लहरको जोखिम भने निकै चर्चामा रहेको छ। 
 
महोत्सवलाई हर्षोल्लासमय बनाउन साँगितिक कार्यक्रमको पनि आयोजना गरिने महोत्सव संयुक्त आयोजक संस्था हिमालयन लायन्स क्लवकी कोषाध्यक्ष शान्ति जोशीले जानकारी दिनु भयो।उहाँका अनुसार महोत्सवमा स्थानीय नेपाली कलाकारहरुद्वारा नेपालीपन झल्किने गरी तीज केन्द्रित गीतहरु र नृत्यहरु समेटेर साँगितिक कार्यक्रम पस्किने गरी तयारी थालिएको छ।नेपालीहरुको धार्मिक चाड ‘तीज’ महिला सशक्तिकरणको सुवर्ण अवसर हो भन्दै उहाँले त्यसका लागि पहिला एकता अपरिहार्य रहेको जिकिर गर्नु भयो।पहिलो पटक एकबद्ध भई संयुक्त रुपमा तीज मनाउन लागिएको प्रति निकै खुशी व्यक्त गर्दै जोशीले एकता नै शक्ति भएकाले महोत्सवमा एकबद्ध भएर सक्रिय सहभागिता जनाउन सबैलाई अनुरोध समेत गर्नु भयो।
 
यस पटक तीन संस्थाहरु मात्र एकठाँउमा उभिएका भएतापनि, आगामी दिनमा भने सबै एकबद्ध हुने जोशीले आशा व्यक्त गर्नु भयो। उहाँले भन्नु भयो ‘एकता नै हाम्रो बल,संस्कृति,परम्परा,सभ्यता र परिचय हो।तर, हामीमा भने एकता खड्किदो छ।त्यसैले पहिला हामी बिचमा नै एकता हुनु अपरिहार्य छ।’ उहाँले थप्दै भन्नु भयो ‘एकताले नै हाम्रो समुदायको भलो सम्भव छ। भावी दीनमा यो सहकार्यलाई निरन्तरता दिएर अभियानका रुपमा लैजान जरुरी छ।’ 
 
हिन्दुहरुको आराध्य देव मानिने शिव र पार्वतीको पूजा, प्रार्थना र आराधन गर्ने सर्वोत्तम महिनाका रुपमा मानिने श्रावण महिना प्रारम्भ भएसंगै,बोस्टन स्थित शिवालय,पशुपतिनाथ बुद्ध फाउण्डेशन लगायत शक्तिपीठहरुमा भक्तजनहरुको चहलपहल बढ्न थालेको छ।हिन्दु धार्मिक ग्रन्थ अनुसार पार्वतीले निराहार ब्रत बसी पूजा अर्चना सहित तपस्या गरेर भगवान शिव जस्तो होनहार वर पाएको धार्मिक मान्यता,आस्था र बिश्वासका आधारमा यो चाड मनाइदै आइएको छ।जस अनुसार हिन्दु धर्मावलम्बी महिलाहरुले विवाहित भए पतिको सुस्वास्थ्य,दिर्घायू र उत्तरोत्तर प्रगतिको कामना सहित सुखद् दामपत्य जीवनको र अविवाहित भए भगवान शिव जस्तै योग्य वर पाँऊ भनी पूजा,अर्चना,स्तुति र प्रार्थना गरी यो चाड भब्यताका साथ मनाउने गरिन्छ।यसका अलावा यस चाडलाई पूर्वीय दर्शन अनुसार माइती र चेली बिचको सम्बन्धलाई कसी लगाउदै सुमधुर बनाउने,ज्ञान शिक्षा आदानप्रदान गर्ने, महिला अधिकार र सशक्तिकरण गर्ने,गीत संगीतको संरक्षण तथा संवर्धन गर्ने र मनोरञ्जन गर्ने सुवर्ण अवसरका रुपमा पनि सदुपयोग गरिदै आइरहिएको छ।तर,पछिल्लो समयमा यो चाडलाई बृहत र नयाँ रुपमा मनाउने नाममा,भित्रिएका परिवर्तनहरुले भने चाडको मुख्य मर्म नै मर्न लागेको प्रति सर्वत्र चिन्ता बढेको छ ।

सामाजिक परिवर्तनका नाममा जानी नजानी भित्रिएका मनोरञ्जनमा मात्र केन्द्रिकृत क्रियाकलापहरुले,विभिन्न खाले विकृति र विसंगतिहरु भित्रिदा चाडको मुल मर्म मर्दै गएको कुरा जग जाहेर नै छ।तसर्थ, तीज मनाउदा त्यसप्रति सचेत र गम्भीर हुन जरुरी छ।