विचार / ब्लग

बोस्टनमा भेटिएका सहृदयी सुशील ...

प्रकाशित |
"डीसी जाने फ्लाइट छुट्यो भने केही सुर्ता नगर्नु , म ड्राइभ गरेर छ , सात घण्टामै पुर्याई हाल्छु । " बिहानको ब्रेकफाष्ट गर्नु अघि सुशील नेपालजीले यसो भनि रहँदा उहाँको बोलिमा किंचित ठट्टा थिएन बरु ज्यादै गम्भीर र जिम्मेवारीवोध झल्किन्थ्यो । सायद मेरो ह्रदय भित्रको केही असहजता उहाँले ठम्याईसक्नु भएको थियो र हाम्रो यात्रा रमाइलो बनाउन शतप्रतिशत तयार हुनुहुन्थ्यो । प्रतिउत्तरमा म खिस्स हाँसी मात्र रहें...
मनमनमा भने अचम्म लाग्यो कस्तो सहज र सरल मान्छे !

आफूलाई भने हिजो रातीदेखि नै भोलि बोस्टन एरपोर्टबाट डीसी उड़ने फ्लाइट छुट्ला भन्ने चिन्ता थियो । कुरा के भने बोस्टन माल्डेनबाट ह्यानीस आउने जाने तीनघण्टाको ड्राइभ गरेर कान्छो मामा कपिल बस्नेतलाई कुनै पनि हालतमा भेटेर फर्किनु थियो । अनि ट्राफिक जाममा परिए दुई , तीन घण्टासम्म लाग्न सक्ने सम्भावनाले भित्र कता कता पिरोली रहेको थियो ।
 
यसपाली हामी दुबैको बोस्टन यात्रामा मैले पहिलो पटक चिनेको उहाँको साथी असमान्य, गज्जबको मान्छेका बारेमा मनमा लागेका कुराहरु पोख्दैछु म ।
 
सुशीलजी,  तपाईंले लेख्नु भएका कविता समुन्द्रका छाल जस्तै आत्मीय यादहरुको सिर्कटोले बेला बेलामा झ्याम्म झ्याम्म मलाई यस्तरी हानि रह्यो अनि मैले नलेखी धरै पाइन ।

नेपाल अमेरिका पत्रकार संघको अधिवेशन डीसीमा सहभागी हुने मौका छोपेर विश्व विख्यात हार्भड यूनिभरसिटी भएको बोस्टनमा पहिलो पटक पाइलो टेक्ने निधो गर्यौं हामीले ।
 
सुशीलजी उहाँको नेपालदेखिको साथी हुनुहुँदो रहेछ । साथी सुशील , जेठाजुको छोरी स्तुपी र कान्छो मामा सबैलाई भेट्ने उत्सुकताका साथ हामीले ह्ययूस्टनबाट पोका पन्तरा बाँधेका थियौं । छोरी ज्वाईकोमा एक रातको बसाईपछि भोलिपल्ट विहानै हामीले आफूलाई  सुशीलजीको जिम्मामा स्वत स्फूर्त सुम्पियौं ।

बोस्टनका हेर्नैपर्ने ठाऊँ हार्भड यूनिभरसिटी, लाइब्रेरी र एमआइटी सबैतिर सुशीलजीले घुमाई दिनुभयो । उहाँको गाइडेन्समा अत्यन्त सहज र रमाइलो गरी हामीले बोस्टन घुम्न पायौं ।

पहिलो पटक चिनजान हुने , के कस्तो मान्छे होलान् मेरो मनमा भने ह्यूस्टनदेखि नै केही न केही असहजता पक्कै थियो । कुरा गर्दै जाँदा उहाँ त एकदम सरल र सफा दिलको मान्छे पाएँ मैले । उसै उसै मनमा आदर र सम्मानको भाव फैलदै गयो ।
 
बोस्टनका चर्चित कवि साहित्यकार गोबर्धन पूजा , महेश्वर पन्त , फोटो पत्रकार विमल नेपाल लगायतका साथीहरुलाई भेट्न पाएकोमा हामीले हाम्रो बोस्टन भ्रमण सार्थक भएको महसूस गर्यौ । खासमा त्यसको चाँजोपाँजो मिलाउने पनि सुशीलजी नै हुनुहुन्थ्यो ।
 
घरमा उहाँको श्रीमती ईश्वरी दिज्जु र छोराबुहारीसँग भलाकुसारी भयो । घर परिवारको शिष्टता र संस्कारले झन प्रभावित भयौं ।

बेला बेलामा आफै निर्झर झरना जस्तो भावमा बगिरहने, हरेक विषय वस्तुलाई कवितामा कोर्न सक्ने सुशीलजी सामान्य मान्छे लागेन मलाई । साथीभाइ भनेपछी हुरुक्क गर्ने , नेपाली समाजमा एक्यवद्दता  र सौहार्द्रता कायम गर्न दत्तचित्तले लागि पर्ने मान्छे कसरी सामान्य हुन्छ ?
 
दुई दिनको बसाईपछि डीसी फर्कने दिन बिहानै मेरो  मामाकोमा जान ईश्वरी दिज्जु पनि तयार भएको देखेर म खुशीले गदगद भएँ । एकदम सुरक्षित ड्राइभिंग  सुशीलजीको । त्यही माथि सुमधुर वातावरण र गफगाफले डेढघण्टाको बाटो वितेको पत्तो पाइएन ।

इश्वरी दिज्जुको शालीन र सौम्य व्यक्तित्व प्रति पत्तै नपाई म प्रभावित भइसकेकी रहेछु । दुई दिनको बसाईमा दिज्जुसंगको सामिप्यताले मलाई मेरी स्वर्गीय जेठानी दिज्जु गंगा बरालको झझल्लको दिलाई रह्यो । गंगा दिज्जुको म प्रतिको अगाध स्नेह जीवनमा मैले पाएको ठूलो खजाना मध्येको एक हो ।
 
सानासाना कुरोको मापनबाटै ठूलो  कुरोको निचोड निकालिन्छ । हुन त  " तिमी बढी सेंसेटिभ छौ "  भनेर मलाई उहाँले बारम्बार भनिरहनु हुन्छ । तर यो सेंसेटिभीटी मान्छे चिन्ने मामलामा चाहीं धेरै काम लाग्दो रहेछ । पोजेटिभ र नेगेटिभ भाइवलाई बेलैमा बुझ्न सक्नु पर्ने रहेछ ।
नेपाल दम्पतीसँग हामी
नेपाल दम्पतीसँग हामी
यसपाली बोस्टनमा श्रीमान तारा बरालजी र सुशीलजीको स्वार्थ रहित पुरानो मित्रताको पुनर्मिलन देखेर म छक्क परिरहें । नेपाल परिवारसँगको ति दुई दिन जीवनको उम्दा समय बनेको छ मेरो लागि भने ।
भेटेदेखि नै सुशीलजीको गुनासो थियो, तपाईंहरुको बोस्टन घुम्ने समय कम भयो ।  हामीलाई बोस्टन बाहेक  मेन, न्यू हेम्सपाएर लगायत अन्य ठाउँमा घुमाउन नपाएकोमा उहाँ नमज्जा मानिरहनु भएको थियो । दुईदिन नछुट्टिन्जेल धेरै पटक सुनिएको ति गुनासाहरु सद्भाव र प्रेमको उपज थियो ।

न गाडीमा ग्यास हाल्न अनुमति दिने, न त पार्किंगको पैसा तिर्न नै दिने । हयूस्टनको हाम्रो डलरलाई त खोटो सिक्कामै परिणत गरीदिनु भयो उहाँले । घरमा भात पकिरहेको, परिवार सबै कुरिरहेको हामीलाई चाहीं बेफाकमा पैसा खर्च गरेर किन रेष्टुरेन्टमा लानु भएको होला, मैले नबुझेको कुरा ।

उपहार दिएर न कोही गरीब भएका छन् न कोही लिएर धनी नै । यो त एउटा सद्भाव र स्नेहको प्रस्तुति मात्र त हो । लिने कसरी लिन्छ र दिनेले कसरी दिन्छ वस् यत्तिमा भर पर्छ । हजारौं युग पहिलेको कृष्ण र सुदामाको कनिका प्रसंग नत्र किन यति विघ्न प्रशिध्द हुन्थ्यो र !

एउटा सामान्य टिशर्ट सुशीलजीले आहा ! कस्तो राम्रो भनेर तत्काल लगाएर हामीसँगै घुम्न हिड्नु भयो । मनमनै खुशीले कति गदगद भयौं हामी । धेरैले उपहार लुकाएर लगाएको मैले देखेकी छु । सुशीलजीको विशाल ह्रदयको मनमनै प्रसंशा गरें ।

भन्नेले त गफाडी भन्लान , धेरै बोल्ने पनि भन्लान्  । तर
मान्छेहरु जहाँ तौलेर बोल्छन् उहाँ भने आफ्ना क़ुरा सललल राख्ने , क़ुरा नलुकाउने , अत्यन्त सफा मनको धनी व्यक्ति हुनुहुँदो रहेछ । आत्मीय आतिथ्य , सौहाद्र सत्कार त पायौं नै अझ ससम्मान झोलाभरी उपहार दिएर नेपाल परिवारले आतिथ्यको उत्कृष्ट नमूना पेश गरेको थियो ।

मानवता हराउँदै गएको यो भीड़मा आफ्नोपन, सद्भाव, सम्मान र नैतिकता लोप हुँदै गइरहेको छ । सुशीलजी र ईश्वरी दिज्जु, यस अर्थमा पनि हामी विभोर भयौं कि हजुरहरुले मानवीय मूल्य र मान्यतालाई यथावत कायम राख्नु भएको रहेछ । पक्कै मैले मात्र यसरी बुझेको छैन । राजमित्र  प्राङ्गण माल्डेन ( उहाँहरुको घर या भनौ मन ) मा भ्रमण गर्ने जो कोहिले महसूस गर्नु भएको नै छ ।

राम्रो र असल कुराको प्रशंसा गर्न हच्किनु हुँदैन । मेरो सानो मनले यही भन्छ । सुशीलजी, दिज्जुलाई लिएर सपरिवार ह्यूस्टन आउनु होला हामी पनि सकेसम्म खुला ह्रदयले स्वागत गर्न आतुर छौं ।

विरलै हुन्छन् यस्ता पहिलो भेटहरु जो वर्षों पुराना झैँ यति गाढा बन्छन् । मैले पनि अमेरिकामा अभिभावक पाएको महसूस गरेकी छु ।

हयूस्टन फर्केको एक महीना हुन लागि सक्यो तर तपाईंहरुको सरल व्यवहार र उच्च विचारले ओतप्रोत त्यो स्वरूप यो आँखाबाट ओझेल हुँदैन । यहाँहरुलाई सतसत नमन । 🙏🙏


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया