विचार / ब्लग

ठाँटी खोल्चा, सेन्ट्रल जेल र तिब्बती खम्पा

प्रकाशित |
हुनत ठाँटी खोल्चा हुँदै आवत­ जावत गर्नुपर्ने वाध्यता थिएन मेरा लागि । नजिकको बजार बट्टार पुग्न यात बसमै चढिन्थ्यो । कि भने सडकै सडक हिँडेरै पुगिन्थ्यो । 
 
ठाँटी खोल्चा मेरा लागि त्यतिखेर एक खालको त्राशको थलो थियो । डर बढाउने ठाउँ थियो । दन्त्यकथामा वर्णित राक्षसहरु बस्ने थलोका रुपमा मेरो मानसपटलमा ठाँटी खोल्चाले स्थान जमाएको थियो । बसबाट यात्रा गर्न नचाहने देबीघाट, जिलिङ्ग, रातमाटे, फिर्केप, बुधसिंगका मानिसहरु लामिबगैँचा हुँदै ठाँटी खोल्चाबाटै बाटो हिँड्थे । लामिबगैँचा, ठाँटीखोल्चा, इनारपाटी हुँदै बट्टार पुगिन्थ्यो । 
 
'चोर बस्छ अरे त्यो खोल्चामा', 'डकैतीहरुले मान्छेलाई काटेर लुट्छन् रे, त्यसो हुँदा एक्दै दुक्लै त्यो बाटो हिँड्नु हुँदैन' भन्ने जस्ता भनाईहरु पाको उमेरकाले समेत सुनाउँथे । उनीहरुले बच्चाहरु घरबाट निस्केर जहिँतहीँ नहिडुन् भन्ने अभिप्रायले यसो भन्थे या साँच्चै हो भन्ने कुरा त्यतिखेर बुझिदैनथ्यो । डर यस्तो हुन्थ्यो कि त्यो बाटो भएर हिँड्नुपर्दा श्वास प्रश्वास नै रोकेर दगुरिन्थ्यो । त्यहाँबाट हिँड्दा हंशले ठाउँ छाड्थ्यो ।
 
घना सालको जंगल, माथि समतल पिपल्टार । तल भेल र भङ्गालोको संगम त्रिशूली नदी । हरेक दुई तीनसय मिटरका दुरीमा साल र चिलाउनेका वृक्षका घनघोर ओत लागेका खोल्चाहरु । देबीघाटबाट लामिबगैँचा हुँदै कच्ची सडक च्वाडी स्कुलनेर माझिटारमा जोडिन्थ्यो । त्यतिखेर पिपल्टारबाट चन्द्रज्योति स्कुल हुँदै देबीघाटसम्म पुग्ने सडक निर्माण भएकै थिएन । 
 
चन्द्रज्योति स्कुलमा पढ्दा ठाँटी खोल्चाको बाटो मुस्किलले तीन पटक हिँडियो जस्तो लाग्छ । एकपटक नयाँ शैक्षिक शत्र सुरु भएपछि किताब बोक्न जिल्ला शिक्षा कार्यालयमा पुगेको थिएँ । त्यो पनि सहपाठी र शिक्षकहरुको साथ लागेर । अर्को पटक इनारपाटीमा भरत सरको घरमा किताब लिन र अर्को पटक चाँही राजाको हो या रानीको जन्मोत्सवमा जानका लागि ठाँटी खोल्चा हुँदै हिँडेको थिएँ । त्यो ठाउँमा पुगेपछि बिरालोको चालमा चुपचाप दगुर्नै पर्ने अवस्था । त्यसरी दगुर्दा लाग्थ्यो जिन्दगीको अन्तिम दिन, घडी, पला अाजै नै रहेछ ।बाल्यकाल भरि ठाँटी गाउँ नजिकको ठाँटी खोल्चा सदा त्राश र आतंककै अर्को शव्द बन्यो । 
 
त्यतिखेर लामिबगैँचाको चन्द्रज्योति प्रावि (हालको उच्च मावि) मा कक्षा १ देखि ३ सम्मको मात्र पढाई हुन्थ्यो । ४ कक्षा पुगेपछि घरभन्दा तीन किलोमिटर परको च्वाडी पब्लिक मावि जानुपर्थ्यो । च्वाडीमा भने कक्षा १० सम्मै पढाई हुन्थ्यो ।
 
च्वाडी गएपछि ठाँटी खोल्चाको बाटो प्रयोग गर्ने आँट बढ्यो । हुनत च्वाडी जान यो बाटो हिँड्नुपर्ने थिएन मेरा लागि । काठमाडौं त्रिशूली सडकको छेउछेउनै हिँडेर च्वाडी जान सकिन्थ्यो । तर बेलाबखत च्वाडी स्कुलमा अलि अगाडी छुटटी हुँदा वा शिक्षकहरु नहुँदा चन्द्रज्योति तिर आइन्थ्यो । जसरी नजिकै बिक्री गरिएका चौपायाहरु बेलाबखत पुरानो गोठमा आउँछन्, त्यसैगरि म लगायतका साथीहरु च्वाडी स्कुलबाट ठाँटी खोल्चा हुँदै चन्द्रज्योति पुग्थ्यौँ । अनि त्यहीँ भाई बहिनीहरुसँग, त्यहाँका गुरुहरुसँग भेटेर घर फर्कन्थौँ । 
ठाँटी खोल्चाको डर लाग्दो त्यो किम्वदन्ती या त्राश अहिले सम्झिँदा पनि बडो रमाइलो अनुभूति हुन्छ । वितेका दिनहरुमा यो बाटो हुँदै सयौँ पटक हिँडियो, समाचारको खोजीमा यही बाटोबाट धेरै पटक जुत्ता, चप्पल खियाइयो । 
 
केही दिन अघि गुगल अर्थमा हेर्दै जाँदा बडो परिवर्तन देखेँ । पहिले डरले हिँड्न नसकिने बाटो छेउछाउ भयंकर घरहरु खडा भैसकेछन् । आधा शताव्दी अघि चीनले तिब्बत कव्जा गरेपछि भागेका खम्पाहरुका लागि खडा गरिएको शरणार्थी शिवीर छेउमा केन्द्रीय कारागारको निर्माण हुँदै अघि बढिरहेको रहेछ । सडक छेउमा उद्योगहरु, कुखुरा फार्महरु जताततै देखिन थालेका रहेछन् । गुगल अर्थको दृश्यले फेरि एक पटक तीन दशक अघि पुर्यायो । 
 
२०४५ सालको जेठ महिना थियो । त्यतिखेर च्वाडी हाइस्कुलै पढ्दैथिएँ । गृह मन्त्रीले खम्पा क्याम्पमा सेन्ट्रल जेल शिलान्यास गर्ने रे भन्ने चर्चा एक हप्ता अघिबाटै चलिसकेको थियो । अर्को चर्चा पनि थियो बहुदलीय व्यबस्था मागेर पञ्चायत विरुद्ध संघर्ष गरिरहेका कांग्रेस र कम्युनिष्टका नेता, कार्यकर्तालाई मारेर त्रिशूली नदीमा मिल्काउनका लागि सेन्ट्रल जेल नुवाकोट ल्याउन लागिएको हो भन्ने पनि थियो । ठूलो तामझामका साथ तत्कालिन गृह राज्य मन्त्री निरञ्जन थापाले जेलको शिलान्यास गरेका थिए । दुई फिटको खाल्डोमा एउटा ढुंगा खसालेर जेलको शिलान्यास भयो । पछिल्ला दिनहरूमा त्यो खाल्डो र ढुंगाका बिषयमा धेरै पटक म अाफैँले समाचार लेखेँ । 
 
काठमाडाैको सेन्ट्रल जेल साँघुरो भएको र कैदी, बन्दीहरूको क्षमता थेग्न नसकेका कारण विकल्पका रूपमा नुवाकोट रोजिएको थियो । दुइवटा कारण थिए । पहिलो, राजधानी नजिकै रहेको र दोस्रो चाँही प्रयाप्त जग्गा, पानी, बिजुली, सडक मार्ग पुगिसकेको हुँदा चण्डीपोखरी खम्पा क्याम्प सरकारको रोजाइमा परेको थियो । 
 
पिपल्टार, इनारपाटी देखि लिएर बट्टारसम्मका मानिसले धान रोप्दै आएको खेतमा जेल बन्ने भयो । किसानले खेतमा धान रोपाई त गर्थे, तर उनीको नाममा लालपूर्जा अर्थात जग्गाको स्वामित्व थिएन । यो जग्गा पुरै सरकारी थियो । सरकारी जग्गा मध्य आधा जति तिब्बती शरणार्थीले ओगटेका थिए भने आधा जतिमा किसानले धान, मकै, गहुँ खेती गर्थे । चार, पाँच कक्षामा पढ्दा तिर हो खम्पा क्याम्पमै बस्ने तिब्बती शरणार्थीका केही छोराछोरीहरु सँगै पढ्थे । तर केही वर्षपछिनै उनीहरु स्कुल छाडे । कहाँ गए केही पत्तो भएन । शरणार्थीसँगै बिहे गरेकी एकजना अन्टी, जस्लाई हामी लामटाङ्ग्नी भनेर चिन्थ्यौँ उनी भने लामो समयसम्म पनि त्यहीँ बसेर लोकल रक्सी बनाउने, हाम्रो गाउँ पिपल्टारमा बसेर पसल चलाउँथिन् । उनी गाउँका ठूलाबडालाई ठूलै रकम सरसापट दिने हैसियत पनि राख्थिन् । 
 
खम्पा क्याम्पमा आँपका विशाल वृक्षहरु थिए । असार साउनमा आँप खान त्यहाँ जाँदा खम्पाहरुले ढुंगाको गुलेली हानेर लखेट्थे । शरणार्थी होइन, एक हिसाबले उनीहरु डन थिए त्यस इलाकामै । स्थानीयलाई पिट्थे । नत उनीहरुले बोलेको भाषा हामीले बुझ्थ्यौँ, नत हामीले भनेको उनीहरुले । 
 
एकाएक खम्पाहरु विस्तारै हराए । कोही जावलाखेलको शिवीरमा रहेका उनीहरुकै आफन्त छेउछाउ गएको कुरा सुनिन्थ्यो भने धेरै चाँही दलाई लामा बस्दै आएको हिमाञ्चल प्रदेशको शीत राजधानी धर्मशाला पुगे । अपाङ्ग, वृद्ध र अशक्त तिब्बतीहरु धेरै पछिसम्म त्यही देखिन्थे । रक्सी पार्नु र बेच्नु उनीहरुको आम्दानीको स्रोत थियो ।
 
जेलको शिलान्यास भएकै अर्को साल देशका बहुदलीय व्यबस्था पुनर्स्थापना भयो । त्यसपछि लामो समय जेलको चर्चा हरायो । बहुदलीय व्यबस्थाका लागि लडेकाहरुले जेल आफ्ना लागि टार्गेट गरेर निर्माण गर्न पञ्चायत लागेकोले त्यसलाई प्राथमिकतामा राखेनन् । २०४७ साल लगत्तै प्रधानमन्त्री भएका कृष्णप्रसाद भट्टराईले तत्कालिन नुवाकोट कांग्रेसका नेता बद्रीराम भण्डारीको संयोजकत्वमा जेल सुधार आयोग बनाएका थिए । त्यो आयोगले पनि नुवाकोटमा जेल बनाउन अनुपयुक्त भनेर सुझाव सहितको प्रतिवेदन दिएपछि वर्षौसम्म जेलको कुरा सेलायो । 
 
गुगलअर्थमा हेर्दै गर्दा जेलको निर्माण पुरा हुन अझै केही वर्ष लाग्ने देखिन्छ । नेपालको विडम्बनानै भन्नुपर्छ कनिका छरे जसरी वर्षेनी बजेट राख्ने र त्यही कारणले योजनाको लागत तीन गुणा बढी पर्छ । जेलको हकमा पनि त्यही भएको छ । वर्षेनी आएको बजेट लिपपोत गर्दैमा सकिने अवस्थाले एकातिर प्रतिफल पुग्न सकेको छैन भने अर्कातिर लागत भारी मात्रामा बढ्न गएको छ ।
 
बन्दै गरेको जेल हेर्छु, खम्पा क्याम्पको विगतको इतिहासलाई सम्झिन्छु र त्यहा पुग्न हिँड्नु पर्ने ठाँटी खोल्चालाई याद गर्छु । समय बित्न बेर लाग्ने रहेनछ।
तस्बिर: सामाजिक संजाल 

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया