विचार / ब्लग

आहा ! समाजमा यस्तै मान्छेहरु धेरै भइदिएको भए...

एउटा अति नै सामान्य घटना जसबाट मैले जीवनमा ठूलो पाठ सिक्ने अवसर पाएँ

प्रकाशित |
विदेशको बसाइ हप्ताभरिको कामको थकाइ बिर्सन हामी प्रायः विकेन्डमा मोजमस्ती पार्टीभोज गर्ने गर्छौं । साथीभाइहरुसँग रमाइलो गर्‍यो दुई दिन भए पनि कामको कुरा बिर्संदै मनमा हल्का आनन्दको महसुस हुन्छ । 
 
घरमा प्रायः फोहोर व्यवस्थापन गर्ने काम मेरो हुन्छ । विकेन्डमा थुप्रिएका फोहोर अलि धेरै हुन्छन्, प्रत्येकचोटि फोहोर भरिएपछि मैले त्यो फोहोर जम्मा गरेर राख्ने गर्छु । त्यो हप्ता पनि तीन बोरा रेगुलर फोहोर जसमा सबै खालका फोहोर थिए, त्यस्तो तीन वटा र एउटा झोलाचाहिँ रिसाइकल गर्न मिल्ने फोहोर जम्मा भएको थियो ।   
 
म युलेस सहरमा बस्छु । यो अमेरिकाको टेक्सस राज्यको डालस मेट्रो प्लेक्समा पर्छ । हाम्रोतिर प्रायः सोमबार र बिहीबार बिहान फोहोर लिने गाडी आउँछ । गत हप्ता पनि हाम्रो घरमा सानो गेट टुगेदर पार्टी थियो । सधैँझैँ मैले फोहोर सोमबार लैजाने हुनाले अघिल्लो रात अर्थात आइतबार नै घरअगाडिको मोडमा राखिदिएँ । तीन वटा रेगुलर फोहोरको झोलाहरु र एउटा रिसाइकल गर्न मिल्ने फोहोरको झोलामा संकलन भएको थियो । 
 
प्रायःजस्तो रिसाइकल गर्न मिल्ने फोहोरहरु सिटीले भनेको जस्तो निलो ड्रममा राख्नुपर्छ ताकि फोहोर लिन आउने मान्छेले आफैँ त्यो ड्रमभित्र भएका फोहोरहरु रिसाइकल गर्न मिल्ने खालको फोहोर हो भनेर बुझ्छ । विकसित देशमा सहरी विकास अवधारणाभित्र यस्ता थुप्रै वातावरणमैत्री कामहरु हुने गर्छन् । कतिसम्म हुन्छभन्दा हामीले प्रयोग गर्ने पानी र खेर गएको पानीसमेत रिसाइकल भएर फेरि हाम्रै प्रयोजनको लागि घरघरको धारामा पठाइन्छ । सहरमा रिसाइक्लिन फोहोर व्यवस्थापन गर्न फोहोर लाने गाडी नै छुट्टै हुन्छ ।  
 
फोहोर छुट्याउने झन्झट कसले गर्छ ? भन्ने सोचले गर्दा हाम्रो परिवारचाहिँ प्रायः त्यो निलो ड्रममा फोहोर राख्दैनौँ । सबै खालको फोहोर एउटै झोलामा राख्दिन्छौ, त्यो दिन खोइ कहाँबाट झुक्किएर कार्टुन, पानीको बोटलहरु अनि पसलबाट ल्याउँदा राखेको ससाना कागजका टोकरीहरु, पेपर प्लेट, दूधको ग्यालिन एउटा फोहोरको झोलमा राखिएछ ।  
 
भोलिपल्ट सोमबारको दिन म मेरो कोठामा बसेर अफिसको काम गर्दै थिएँ, मेरो घर अघिल्लोतिर भएको हुनाले बाटोमा हिँड्ने मान्छेहरु र गाडीहरु सजिलैसँग देखिन्छ, करिब बिहान ९ बजेतिर फोहोर लिने ट्रक आयो । मेरो आँखा त्यो ट्रकमा गइहाल्यो, मैले त्यो ट्रक रिसाइकल फोहोर लाने ट्रक रहेछ भन्ने थाहा पाएँ, ट्रक हाम्रो घरभन्दा दुईवटा घरअगाडि जस्तो के पुगिसकेको थियो । ड्राइभरले ट्रक व्याक गर्दै हाम्रो मोडातिर ल्यायो, त्यसपछि ड्राइभर र हेल्पर दुवै जना ट्रकबाट ओर्लेर त्यो एउटा झोलामा भएको रिसाइकल फोहोर ओल्टाइ पल्टाइ हेर्‍यो र त्यही एउटामात्र भएको रिसाइकल फोहोरको झोला त्यो ट्रकमा हाल्यो । मैले यो घटना आफ्नो कोठाको झ्यालबाट नियालेर बसिरहेको थिएँ ।    
 
यो अति नै सामान्य घटनाबाट मैले मेरो जीवनमा ठूलो पाठ सिक्ने अवसर पाएँ । एउटा सामान्य कुरा, जुन मैले त्यसअघि जीवनमा कहिलै पनि सिकेकै थिइनँ । आखिर जो मान्छेले पनि आफूले गर्ने काम असल नियतको साथ आफ्नो कर्तव्य सोचेर गर्‍यो भने संसार आफैँ परिवर्तन हुन्छ भन्ने उदाहरण आफैँले अनुभव गरेँ । त्यो ड्राइभरलाई ट्रक ब्याक गरी गरी ट्रकबाट झरेर फोहोर हेरेर अनि ट्रकमा त्यो जाबो एउटा झोला हाल्न के खाँचो थियो होला र ? उसले त्यो फोहोर न टिपिकन मज्जाले जान पनि सक्थ्यो, उसको जागिर जानेवाला त थिएन । आखिर संसारमा सबैभन्दा ठूलो कुरा आफ्नो असल नियत र इमान्दारिता हो भन्ने कुरा मैले यो अति नै सामान्य घटनाबाट महसुस गरे । आखिर काम गर्ने जोकोहीले पनि जिम्मेवारपूर्ण तरिकाले इमान्दार भएर गर्‍यो भने देश आफैँ बन्दोरहेछ । साँच्चै अमेरिका त्यसै अमेरिका भएको होइन रहेछ ।  
 
यस घटनाबाट आइन्दा मैले घरको त्यो रिसाइकल फोहोर राख्ने निलो ड्रम पनि प्रयोग गर्ने निर्णय गरेँ । साँच्चै यो घटनाले मेरो जीवनको एउटा सामान्य बानी परिवर्तन गरिदियो । धन्यवाद छ, त्यो फोहोर लाने ट्रक ड्राइभरलाई । हो, हामीलाई समाजमा यस्तै असल, इमान्दार र राम्रो नियत भएका मान्छेहरुको खाँचो छ । यसमा हामी सबैको उत्तिकै भूमिका हुन्छ । हामी हाम्रो समाज परिवर्तन गर्न चान्हन्छौँ भने सुरुवात आफूबाटै गरौँ । मैले त सुरु गरेँ अनि तपाईंले नि ?
 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया