विचार / ब्लग

गुट उपगुट को प्रभाबमा एनआरएनए अमेरिकाको चुनाब

प्रकाशित |
एनआरएनए अमेरिकाको निर्वाचन भर्खरै सम्पन्न भएको छ । प्रवासमा रहेका नेपालीहरुको सहयोगी निकायले नयाँ कार्य समिति पाएको छ । विगतको भन्दा फरकरुपमा यो निर्वाचनलाई सम्पन्न गर्न सफल भएकोमा हालको कार्यसमिति (मैले देखेका २००९ देखि हालसम्मको एनआरएनए अमेरिका कार्यसमितिमध्ये) सफेदरुपमा काम गर्ने एक खुला किताबको रुपमा स्थापित गर्न केही हदसम्म सुनिल साह एक तह सबैभन्दा माथि रहेका देखिए । जसका लागि उनी धन्यवाद र बधाईका पात्र भएका छन् ।
 
चुनावको क्रममा सुनिल साहको सहभागिता रहेको कर्यक्रममा उम्मेदवारका केही साथीहरुले उनको आलोचना गरिरहँदा उनको मुसुमुसु हाँसोले अभिभावकीय दायित्वको छनक देखिन्थ्यो । बरु आफूलाई स्वच्छ भन्ने साथीहरु नेपालमा कोरनाको कहरले दुःख दिइरको समयमा गुट र समूहको नेता बन्दै खादा, मालासहितका फोटोहरु राखेर प्रचार गरेको देखिन्थे । यहाँ सुनिल साहलाई देउतै मानेको हैन तर उनको नेतृत्वदायी भूमिका अहिलेसम्मकै कार्यसमितिभन्दा भिन्न थियो र उनले कसैको पनि खुलेर समर्थन गरेको देखिएन । जो प्रशंसा गर्न लायक देखिन्थ्यो ।  
 
अर्कोतिर समाजमा केही गर्छु भनेर लागेका केही समाजसेवी साथीहरु खादामाला लगाएका कार्यक्रम स्थलमा नै कुनै व्यक्ति र समूहको वकालत गरेको पनि देखियो । नपुगेर केहीले त निर्वाचनको आचारसंहिताको समेत ख्याल नगरेर लिखित रुपमै गलत संप्रेषण हुने गरी प्रचार नै गर्न भ्याएको पनि देखियो । जो भोलिका दिनसम्म पनि स्वतन्त्र समाजसेवी नामको गलत प्रवृत्तिको सुरुआतको संकेत हो कि भन्ने लाग्छ।
 
चुनावको क्रममा आफूलाई विज्ञ भन्न रुचाउने केही व्यक्तिहरु धेरै तल झरेर कोठे राजनीति गर्दै नेपाली समुदायबीच फुट ल्याई समूह र गुट स्थापना गर्दै अराजक काम गरेको प्रष्ट देखियो । नेपालका राजनीतिक दलका एजेण्डा बोकेका समूहहरुलाई आफूमा तान्न र फुटाउनमै यो समूह अभ्यस्त रहन गयो । जसको प्रभावबाट यो चुनावलाई सामाजिक संस्थाको चुनाव हो भन्नलाई एकपटक सोच्न बाध्य गराएको देखिन्छ । मसँग यति सदस्यता संख्या छ भनेर कुर्लेका गुटका नाइकेहरुका लागि चुनावको समय माछा बजारझैँ व्यापारिक केन्द्रको रुपमा मोलमोलाइ गर्ने थलो बनिरह्यो ।  
 
स्वतन्त्ररुपमा काम गर्नुपर्ने पत्रकारको पगरी गुथेका समूहबाट पनि केहीले अदृश्य र केहीले देखाएरै शुभलाभ र नजिकका नातागोताको आधारमा प्रचार गरेको उनका समाचार र सामाजिक सञ्जालबाट प्रष्टै देखिन्छ । यस किसिमको पत्रकारिताको नामको गलत प्रवृत्तिले सही र स्वच्छताको छनक भएका उमेदवारको छनोट गर्न आमसमाजलाई जागरुक गर्नुको साटो दिग्भ्रमित गरेको र तडकभडक गर्ने उम्मेदवारको साक्षीको रुपमा मुखपत्र भई काम गरेको देखियो ।  
 
केही उमेदवारले स्थानीय तहमा रहँदा गरेका केही कामलाई स्थानीय संस्थाको नामै नलिई वैयक्तिक एकल मेहनत र आफूले मात्र गरेको जस्तो किसिमले वकालत गरे । यसबाट स्थानीय संस्थाको लगानी र सहयोगभन्दा पनि व्यक्ति ठूलो भन्ने भान देखियो ।
 
निर्वाचनमा एनआरएनए आइसिसीले तटस्थताको भूमिका निभाउन नसकेको स्पष्ट देखिन्थ्यो । एनआरएनए आइसिसी एक किसिमले एनसिसीको अभिभावक संस्था हो । उसको निष्पक्षता र एनआरएनए एनसिसीलाई गर्नुपर्ने सहयोगबाट प्रत्येक देशमा रहेका एनसिसीहरु मजबुत हुँदै जाने हो भन्ने आम बुझाइ हो । तर, एनआरएनए आइसिसीका आधिकारिक व्यक्ति र सल्लाहकारहरुले लाजमर्दो किसिमले अमुक व्यक्ति छानी प्रचार गर्नु र खुलेरै उम्मेदवारका बारेमा भोट माग्ने प्रवृत्तिले भोलिका दिनमा एनआरएनएहरुको एकताभन्दा पनि समूहगत विभाजनको स्वरुप देखिने निश्चित छ भने केही एनसिसीका पदाधिकारीहरु पनि चुनावको अन्त्यतिर खुलेरै प्रचार गरेको देखिँदा सामाजिक संस्थामा अराजकता बीउ स्पष्ट देखिन्थ्यो । यस किसिमको गतिविधिलाई नियालिरहेका युवा जमातहरुका लागि पक्कै भावी दिनमा एनआरएनएमा सहभागिता जनाउन समस्या पर्ने देखिन्छ।
 
विगतको पेनड्राइभ र हार्डड्राइभको संस्कार बोकेकाहरुबाट यसपटक पनि छिर्के दाउ हान्ने पर्दा पछाडिको खेलमा केही मात्रामा कमी देखिएता पनि निर्मूलैचाहिँ भएको मानिँदैन । यो चुनाव पनि पहिलेका चुनावझैँ तडकभडक र आर्थिक एवम मनोवैज्ञानिक प्रभाव पार्नबाट जोगिएन । जस्तैः गलत सर्वे रिपोर्टिङ गर्ने, समूहगत विभाजन, लाभ र लोभदेखि प्रपोगान्डाहरु फैलाउने समाचारहरु मौन समयसम्म फैलाइ रहे । तर, जागरुक मतदाताले भने त्यस्ता व्यक्तिहरुको भनाइ र तिनको छनोटको अभिरुचिलाई एनआरएनएमा केही हदसम्मलाई रोकिदिएको देखिन्छ । चुनाव प्रचार शैली र चुनावको मुखमा आइसिसीसमेतको नाम जोडिएर परेका मुद्दा, पर्यवेक्षण शैली एक असहयोगी मनोविज्ञान दबाब थियो कि भन्ने भान हुन्छ । जसलाई अदालत र समाजले उल्ट्याइदिएको अवस्था पनि देखियो । जसबाट एनआरएनए, आइसिसी र केही उम्मेदवारलाई उल्टै घाटा लागेको देखिन्छ भने एनआरएनए कार्यसमितिमा चुनावताका कठिन मनोवैज्ञानिक दबाब परेको देखिन्छ ।  
 
एनआरएनएका विभिन्न तहका पदाधिकारीहरु र व्यापारीहरुको अर्थिक सहयोग रहेको भड्किलो चुनावी प्रचार शैलीले धेरै व्ययभार लिएको र यस किसिमको सामाजिक संस्थाको निर्वाचनले भावी दिनमा सर्वसाधारण र युवाहरुलाई सहभागिता हुन वितृष्णा जगाइ वञ्चित गर्ने देखियो । साथै, एकातिर संस्थाभित्र सर्वसाधारणको पहुँच, समावेशिता, अपनत्वको कुरा गर्नु र अर्कोतिर निजी स्वार्थको रुपमा खर्चिलो र सीमित व्यक्तिको क्लबको रुपमा संस्था बनाउन खोज्नुले संस्थाको अस्तित्वमाथि नै प्रश्नचिन्ह लागेको स्पष्ट देखिन्छ ।
 
अन्त्यमा, यी विचारहरु चुनावको समयमा एक स्वतन्त्र पर्यवेक्षकको रुपमा सरसर्ती हेर्दा देखिएका विषयवस्तुमात्र हुन् । यसका अलावा धेरै घट्नाक्रमहरु अदृश्यरुपमा घटेका पनि होलान् जसलाई यहाँ समेटिएका छैनन् । यसमा बढी केन्द्रीकृत एनआरएनए अभियन्तालाई गरिएको छ र गर्नुको कारण सुधार गर्नुको साटो यिनीहरुबाटै एक सामाजिक संस्थालाई कसरी बिगार्न खोजिएको छ भन्ने कुरालाई सरसर्ती उजागरमात्र गरिएको हो । तर, समग्रमा भन्नुपर्दा एक सामाजिक संस्थामा भरसक चुनाव नै हुनु हुन्न र भए पनि कुनै पनि गुटको हुन हुन्न । र, खर्चको कटौती र पारदर्शिता आवश्यक छ भन्ने कुरालाई यहाँ फेरि दोहर्‍याउन चाहेँ । साथै, सकिन्छ भने यस चुनावमा सहभागी उम्मेदवारले आफ्ना क्रियाकलाप र खर्चको पारदर्शी स्वरुपमा देखाइदिनुहोस् । ताकि आगामी एनआरएनएको निर्वाचनमा मतदाताले तपाईंका चुनावी क्रियाकलाप र आर्थिक पारदर्शिताबारे प्रश्न उठाइ बहिष्कार गर्न नपरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया