टेक्सस । अमेरिकाका लागि नेपाली राजदूत डा। युवराज खतिवडाको सम्मानमा हिमालयन डेमोक्रेटिक क्लबले शनिबार भेटघाट तथा स्वागत कार्यक्रम आयोजना गरेको छ ।
टेक्ससको डिएफडब्लु मेट्रोप्लेक्स अन्तरगत पर्ने युलेस सिटीको गोर्खा रेस्टुरेन्टमा आयोजित कार्यक्रममा अमेरिकी मुलधारको राजनीतिमा संलग्न अमेरिकीहरु, अमेरिकन–नेपाली समुदायले डा खतिवडाको स्वागत गरेका थिए ।
कार्यक्रममा टेरेन्ट काउन्टी डेमोक्रेटिक पार्टीकी अध्यक्ष डेब्रा पिलल्सले डा। खतिवडा जस्तो व्यक्तित्वलाई आफ्नो इलाकामा स्वागत गर्न पाउँदा गर्व लागेको बताइन् । डेब्रा अमेरिकाको १३ ओं ठूलो सिटी फोर्टवर्थको मेयर पदकी उम्मेदवार पनि हुन् । उनले राजदूत खतिवडालाई निकट भविष्यमै फोर्टवर्थ सिटीको भ्रमणका लागि निमन्त्रणा पनि दिइन् ।
सोही अवसरमा राजदूत खतिवडाले अमेरिकी मुलधारको राजनीतिमा नेपालबाट आएका आप्रवासी समुदायले पनि सकृय हुनु नेपालका लागि पनि खुशी र गर्वको विषय भएको उल्लेख गरे । ‘मैले कुनै पार्टीलाई नजिक र टाढा गर्न त मिल्दैन । म डेमोक्रेटिक पार्टीमा आवद्ध नभएपनि डेमोक्रेटिक संस्कार, पद्धतीमा विश्वास गर्ने व्यक्ति भएकोले यो पार्टीमा लाग्नेहरुलाई शूभकामना व्यक्त गर्दछु’ उनले भने ।
त्यस अवसरमा राजदूत खतिवडालाई टेक्ससको संसदकी सदस्य टेरी मेजाले प्रशंसा पत्र प्रदान गरेकी थिइन् । सो प्रशंसा पत्र खतिवडालाई हस्तान्तरण गरिएको थियो । गत नोभेम्बरमा भएको चुनावमा टेरीलाई विजयी बनाउन नेपाली समुदायले निकै सहयोग गरेका थिए ।
सोही अवसरमा नेपाली समुदायलाई मुलधारको राजनीतिमा अभिप्रेरणा दिँदै आएका डेमोक्रेटिक पार्टीका नेता प्रभात दीक्षित, युलेस सिटी काउन्सिलका उम्मेदवार टीका पौडेल, नेपाली समाजका अध्यक्ष दिनेश शर्मा लगायतले मन्तव्य राखेका थिए ।
हिमालयन डेमोक्रेटिक क्लबका अध्यक्ष मोहन ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा सो पार्टीमा आवद्ध दर्जनौ नेपाली समुदायका सदस्यहरुको सहभागिता थियो ।
प्रतिक्रिया