ड्यालस (अमेरिका) – ड्यालसमा सम्पन्न दुई दिने मोबाइल कन्सुलर सेवा शिबिरमा दुईसय २५ नेपालीले सेवा लिएका छन् ।
नेपाली राजदूतावास वासिङ्गटन डिसीको आयोजनामा शुक्रबार र शनिबार दुई दिनसम्म भएको शिविरमा दुइसय २५ जनालाई बिभिन्न प्रकारको सेवा प्रदान गरिएको दूतावासका अधिकारीले जानकारी दिएका छन् । नयाँ नेपाली राहदानी प्रदान, राहदानी नविकरण, भिसा, ट्राभल डकुमेन्ट, पावर अफ एटर्नी, प्रमाणिकर लगायत कन्सुलर सेवा एकै ठाउँबाट प्रदान गरिएको थियो ।
ड्यालसमा सेवा लिनका लागि टेक्ससका सान एन्टेनियो, अस्टिन, लबक लगायत बिभिन्न शहरहरुबाट ठूलो संख्यामा नेपालीहरुको उपस्थिती थियो । शिविरमा उत्साहजनक सहभागिता देखेर राजदूत डा। युवराज खतिवडा लगायत दूतावासका कर्मचारीहरु निकै उत्साहित भएका थिए ।
ड्यालसमा नेपाली समुदायले देखाएको सकृयता देखेर राजदूत खतिवडा निकै प्रभावित भएका थिए । विहीबार अपरान्ह ड्यालस झरेका डा। खतिवडा लगायतको टीम झण्डै तीन दिनसम्म निकै व्यस्त थिए । राजदूत खतिवडालाई अन्तरकृया, सम्मानमा सहभागी हुन भ्याई नभ्याई थियो ।
दूतावासले नेपाली समुदायले देखाएको सद्भाव, सकृयता र आत्मियता प्रति निकै प्रशंसा व्यक्त गरेको छ । शिविरमा डिसीस्थित दुतावासका नियोग उपप्रमुख कुमारराज खरेल, तृतीय सचिव जनक सिंह र राधारमण दुवे, कुमार श्रेष्ठ, रामजी दाहाल लगायतले सेवा प्रदान गरेका थिए ।
आइतबार सोमबार यस्तै प्रकारको मोबाइल कन्सुलर सेवा शिविर टेक्ससको अर्को ठूलो शहर ह्युस्टनमा हुँदैछ । दूतावासले सेवा आवश्यक पर्नेलाई शिविरमा सम्पर्क राख्न समेत आग्रह गरेको छ । आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म शिविर सञ्चालन हुनेछ ।
प्रतिक्रिया