विचार / ब्लग

समाजकल्याण कि आत्मकल्याण ?

प्रकाशित |
भन्ने गरिन्छ, जीवन संधर्षमय हुन्छ भनेर । संधर्ष कै क्रममा मानवले रोजी-रोटी देखि हरेक दैनिकीका पाटाहरुसंग जुध्दै जीवनका नयाँ बिहानीहरुसंग सामन्जस्यता स्थापित गर्नु पर्ने हुन्छ । आज मानव जीवन माथी समयले नयाँ परिस्थिती श्रृजना गर्दैछ । कोभिड-१९ संगको लडाई हाम्रो दैनिक कर्मपथ बनेको छ । समयले भावना, समवेदना, सहयोग, सहानुभूतीको परीक्षा लिईरहेको अवस्था छ । मानवता भित्रको भावलाई अस्पताल भित्रका चित्कारहरुले रुवाएको अवस्था छ । 
 
हुन त प्रकृति, रोग, भोग र गरिवीसंग जुझ्दै आएका मानवहरुका लागि थप संधर्षका कथाहरु नौलो हुदैन । नयाँ बिहानीमा तात्विक भिन्नता देखिदैन । रोदन, दुखः, पिडा र चिन्ता जीवनको पाटो बनि सकेकालाई नयाँ सोच र कल्पना सहितको झिनो आषाको त्यान्द्रो भित्र बाँची रहेको जीवनको स्वाँसको भविस्य कति नै हुन्छ र ? यस्ता मनोभावनाहरु पढेर वा लेखेर मनको धोको मेटाउँदा रोदन भित्र के नै मलम लाग्ला र ? तथापी मानवताले हामीलाई पछ्याइ रहन्छ । दुःखमा आँशू झार्न बाध्य गराइ रहन्छ । 
 
हुन त बिपत्तिमा आज आम विश्व छ । तर नेपाल जस्ता गरिव देशका आमनागरिकहरुले सामान्य सुबिधा पनि नपाएर छटपटिएर मर्न बाध्य छन । आज तमाम आत्मा अक्सिजन र सिटामोलको चक्की नपाई छटपटाउदै प्राण त्यागि रहेका छन । कैयौ आमाहरुका सिउँदो पुछिएका छन । बाबाहरुले जीवनको सहारा गुमाएका छन । नावालकहरु टुहुराको जीवनमा पुगेकाछन । अस्पतालको आँगनमा मानव बेदानाहरु छटपटी रहेका छन । आफन्तहरु छाती पिटेर सहाराको भिख मागिरहेका छन । एक थोपा अक्सिजन र सिटामोलको आशामा जीवनहरु पर्खि रहेका छन । लाशै लाशले गाउँ शहरका घाट जलिरहेका छन । 
 
हो हाम्रो घरदेश ! आजभोली आफन्तको मृत्यूको पिडा बोकेर गह्रौ मुटू बोकेकाहरुको बस्ती बनेको छ, जहाँ मृत्यूको संत्रासले भय र हाहाकार मच्चाएको छ । यस्तो बिषम परिस्थितिमा प्रवासको मनले आफन्तलाई नसम्झेको हैन । सोचमै धेरैका रातीका निद्रा हराएका छन । तथापी चाहेर पनि टाढाको दुनियाँवाट हामी टुलटुल हेर्न बाध्य छौ । भन्ने गरिन्छ- एक क्षणले पुरै दिन बदल्न सक्छ, एक दिनले कसैको जीवन बदल्न सक्छ र एकको जीवनले पुरै विश्व बदल्न सक्छ । तर हामीले प्रवासबाट यस विषम अवस्थामा मातृभूमीकालागी जुटेर  धेरैका जीवन बदल्नु पर्ने र एकाकार हुनु पर्नेमा आ-आफ्नै चुनावी डम्फु फुक्दै हिडि रहेका छौ । समाजको हिस्सा बोकेका नेतृत्वका भोगीहरु केवल नेपाल कै राजनैतिक संस्कारको पदछापमा सत्ता प्राप्तीको लडाईमा छन ।
 
कसैलाइ अन्यथा लाग्न सक्ला यो सन्दर्भ एनआरएनए अमेरिकाको चुनावी दौडलाइ ईंकित गर्न खोजिएको हो । यतिखेर तमाम सर्वसाधारणलाई नत एनआरएनए अमेरिकाको चुनावी माहोलको मतलव छ । नत कसैको टाई-सर्ट लगाएका फोटा र भाषणका तस्विरहरुको मतलव छ । यो धेरैको आग्रह हो, तर कसैको मनले नमान्न पनि सक्छ । मातृभूमी पिडामा छ । दैनिक छटपटिएर मरेका दृश्यहरु देखिएका छन । यहाँ सायद थोरै होलान तपाईंहरुका चुनावी नानाभाँती नाटक मन पराउने । तपाईहरुलाईं लाग्न सक्छ, जन्ती सरह भोज भतेर गरेको तपाईंको निजी पैसाको खर्चमा अरुको के मतलव भनेर वा प्रचार र अतिरंजनका लागि राखिएका तपाईका फोटाहरुले आम मतदाता तपाईंको पक्षमा होलान भनेर ।
 
माफ गर्नु होला! तपाईहरुको यस्ता कर्मलाई मतदाताहरुले झनै शंका र कुदृष्टीले हेरेका छन । तमामले तपाईंसंग भोज भतेरको र जन्ती सहित भोट माग्न राज्य-राज्य घुम्ने हवाई तथा यातायात र महंगा होटेलको खर्चले मातृभूमी सेवाको आग्रह गरिरहेका छन । अहिलेको सूचना प्रविधिको जमानामा जुम लगाएतका लाईभ कार्यक्रम गरेर मन जित्नुहोस भनि आग्रह गरिरहेका छन । अमेरिका पुगेका नेपाली दाजुभाई-दिदिबहीनी सचेत छन, कसले कसलाई भोट दिने भनेर सिकाउनु पर्दैन । हेक्का होस ! यस्तै कर्म भएमा तपाईको सभामा जम्मा भएका मतदाताले पनि तपाईलाइ भोट दिदैन । अझै समय छ । 
 
बन्द गर्नुहोस छद्म नाटक । अन्त्य गर्नुहोस समाजकल्याण नामी तपाईका छद्म आत्मकल्याणका भाषणहरु । नदेखाउनुहोस वैयक्तिक लाभ र स्व-पहिचानको खोक्रो आडम्वर । यदि यसैलाई तपाईं विजय ठान्नु हुन्छ भने यो तपाईको जीतसंगैको हारको सुरुआत हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया