मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपालमा कोरोना बढेपछि नेपाली–अमेरिकीहरु धमाधम यात्रा रद्द गर्दै

नेपालमा कोरोना बढेपछि नेपाली–अमेरिकीहरु धमाधम यात्रा रद्द गर्दै

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस (अमेरिका) – नेपाल सरकारले अन्तर्राष्ट्रिय हवाई सेवाबाट नेपाल भित्रिएकाहरुलाई पुनः क्वारेन्टाइनमा राख्ने संभावना बढेको छ । 
 
रोजगारी तथा स्थायी बसोबासका क्रममा विदेशमा रहेका नेपालीहरु मातृभूमि फर्किन क्रममा सरकारले पहिले जस्तै आफैँले व्यबस्था गरेर क्वारेन्टाइन सञ्चालन गर्ने वा ‘सेल्फ क्वारेन्टाइन’ मा बस्ने भनेर निर्णय गर्न बाँकी भए पनि अन्तर्राष्ट्रिय हवाई सेवा प्रयोग गरेर नेपाल भित्रिएकाहरुलाई कडाइ गर्ने संकेत देखिएको छ । 
 
गत साता नेपाल सरकार मन्त्रिपरिषद्द्वारा सार्वजनिक गरिएको निर्णयको २३ (घ) मा अन्तर्राष्ट्रिय यात्राबाट नेपाल प्रवेश गरेका व्यक्तिहरुले अनिवार्यरुपमा १० दिन होम क्वारेन्टाइनमा बस्नैपर्ने उल्लेख गरिएको छ । भारतमा नयाँ प्रकारको कोरोना संक्रमणले दैनिक हजारौँ व्यक्तिको निधन भैरहेको अवस्थामा नेपालमा समेत संक्रमित संख्या आकासिँदो रुपमा बढेको छ । भारतको कुम्भमेलामा गएकाहरु अधिकांश कोरोनाबाट संक्रमित भएका छन् ।
 
सरकारले स्कुल, कलेजहरु बन्द गरेर अनलाइनबाट सञ्चालन गर्ने निर्णय गरिसकेको छ भने परीक्षासमेत रद्द भएका छन् । काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लाहरुमा स्थानीय प्रशासनले हिँडडुल गर्न, नियमित काममा जानका लागिसमेत रोक लगाउने गरी निषेधाज्ञा जारी गर्ने तयारी गरिरहेको छ ।
 
अमेरिकाबाट नेपाल जाने तयारी गरिरहेका हजारौँ व्यक्तिहरु अहिले प्रभावित भएका छन् । हवाई टिकटसमेत लिइसकेका उनीहरुमध्ये कतिपयले यात्रा मिति सारिरहेका छन् भने कतिपयले यात्रा नै रद्द गरेका छन् । 
 
‘अति महत्त्वपूर्ण काम परेर दुई साताको लागि नेपाल जान टिकट लिइसकेको थिएँ । तर, उता गएर १० दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने भएपछि अहिलेलाई यात्रा मिति पर सारेको छु’ एक नेपालीले भने । आउँदो मे पछि स्कुल र युनिभर्सिटीहरु झण्डै तीन महिनाका लागि बन्द हुन्छन् । यही समरब्रेकका समयमा नेपाल भ्रमणमा जाने तयारी गरिरहेका हजारौ नेपाली बालबालिका, अभिभावक र विद्यार्थीहरु अन्योलमा छन् । उनीहरुले टिकट लिने तयारी गरिसकेकोमा अहिलेलाई स्थगित गरेका छन् ।
 
‘अहिलेको संक्रमण वृद्धिदर हेर्दा संभवतः आउँदो केही महिना दक्षिण एसियाली मुलुकहरुमा नयाँ प्रकारको कोरोना बढ्ने संकेत देखिएकोले यसपटक पनि नेपाल भ्रमण गर्न नसकिने भयो’ युलेसका अर्का एक नेपालीले भने । 
 
यसपटक हवाई टिकट अचाक्ली महँगो छ । फेरि नेपालमा कोरोनाको संक्रमण बढिरहेको, सरकारले लकडाउन गर्ने संभावना देखिएको र यहाँबाट जानेहरु होम क्वारेन्टाइनमै बस्नुपर्ने भएपछि धेरैले दुःख मनाउ गरेका छन् । 
 
दुई महिनापछि आफन्तको विवाहका लागि बच्चाहरुसहित नेपाल जान लागेकी एक नेपाली महिलाले मनस्थिति परिवर्तन गरेकी छिन् । ‘बच्चबच्चीहरुले पनि नेपालको समाचार सुनेर नजाने भने, मलाई एक्लै गएर तनाव बोक्न पनि मन लागेन’ उनले भनिन् । 
 
कोरोनाको प्रकोप नियन्त्रणका लागि नेपाल सरकारले कुनै पनि समय कडा कदम चाल्नसक्ने भएकोले मातृभूमि जाने तयारीमा जुटेका धेरै नेपालीहरु धमाधम यात्राको कार्यक्रम नै रद्द गर्न थालेका छन् ।