मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

घुम्ती शिवीरको आयोजक बन्न ड्यालसका दुइ संस्थामा जुँगाको लडाइँ

घुम्ती शिवीरको आयोजक बन्न ड्यालसका दुइ संस्थामा जुँगाको लडाइँ

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) – नेपाली दूतावास वासिङ्गटन डिसीले ड्यालसमा आउँदो महिना गर्न लागेको घुम्ती शिवीरको स्थानीय आयोजक को हुने भन्ने विषयमा स्थानीय दुई संस्थाहरुको विवाद चर्किएको छ । 
 
दूतावासले आयोजना गर्न लागेको शिवीरको स्थानीय आयोजक को बन्ने भन्ने विषयमा गैर आवासीय नेपाली संघ (एनआरएनए) टेक्सस च्याप्टर र नेपाली समाज टेक्ससबीच विवाद चुलिएको छ । एनआरएनए च्याप्टरले दूतावासबाट कार्यक्रम गर्ने औपचारिक पत्र आफूले पाएको भन्दै अरु संस्थालाई साथमा लिएर कार्यक्रम गर्ने जनाएको छ । उता नेपाली समाज टेक्ससले भने पहिलेनै दूतावासले स्थानीय आयोजकको जिम्मेवारी वहन गर्न आग्रह भएकोले आफूले सबै संघसंस्थासँग मिलेर कार्यक्रम गर्ने जनाएको छ ।
 
आउँदो मे १४ र १५ तारिक नेपाली दूतावास डिसीले स्थानीय नेपाली समुदायका लागि आवश्यक पर्ने सेवाहरु (नयाँ पासपोर्ट, नवीकरण, भिसा, एनआरएनए कार्ड, अधिकृत वारेसनामा, कागजात प्रमाणिकरण) प्रदान गर्नेगरि शिवीर राख्ने योजना बनाएको छ । सोही अवसरमा आर्थिक कुटनीति विषयमा समेत छलफल कार्यक्रम तय गरिएको छ । 
 
त्यस अनुसार सहकार्य गरेर शिवीर सञ्चालन गर्न एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहलाई पत्र समेत पठाइसकेको छ । साहले सो कार्यक्रम च्याप्टरले गर्दा प्रभावकारी हुने भन्दै च्याप्टर अध्यक्ष राजेश अर्याललाई जिम्मेवारी सुम्पिएका थिए । 
 
‘दूतावासले एनआरएनसँग सहकार्य गरेर कार्यक्रम गर्न प्रस्ताव गरे अनुसार हामीले नेपाली मन्दिर अर्भिङगमा हल बुक समेत गरिसकेका थियौँ’ एनआरएन टेक्सस च्याप्टर अध्यक्ष राजेश अर्यालले भने । फोनबाट बुक गरिसकेको हललाई भोलीपल्ट नेपाली समाज टेक्ससले सोही कार्यक्रम आफूले गर्ने भन्दै हल बुक गरेपछि दुई संस्थाबीच विवाद चरमोत्कर्शमा पुगेको छ । 
 
‘नेपाली समाज टेक्ससले पहिलेनै घुम्ती शिवीर गर्ने निर्णय गरिसकेका थियौं । सोही अनुसार दूतावासले यहाँ कार्यक्रम राख्ने भएपछि हामीले कार्यक्रमा गर्न हल बुक गरेका हौँ’ नेपाली समाज टेक्ससका उपाध्यक्ष राजेन्द्र वाग्लेले भने । उनले एनआरएनसँग मिलेर शिवीर गर्न आफूहरुलाई कुनै समस्या नरहेको बताए । 
 
दुई संस्थाबीच कस्ले कार्यक्रम गर्ने र जश लिने विवाद बढ्दै जाँदा कार्यक्रमनै नहोला भन्ने चिन्ता स्थानीय नेपाली समुदायले गर्न थालेका छन् । ‘कार्यक्रम गर्ने, समाजसेवा गर्ने भन्दा पनि भरखरै आएका नयाँ राजदूत डा. युवराज खतिवडासँग को नजिक हुने र कस्ले कार्यक्रम सञ्चालन गर्ने भन्ने विवादको जड हो’ दुई संस्थाबीच उत्पन्न विवादलाई नजिकबाट हेरिरहेका स्थानीय एक नेपालीले भने । राजदूतसँग नजिक हुने र अवैतनिक वाणिज्यदूतका लागि लबीङ्ग गर्नका लागि यो विवाद भएको समेत उनले खुलासा गरे । 
 
दुबै संस्थाहरु प्रवासमा आएका नेपालीहरुको हितका लागि काम गर्ने लक्ष्य लिएर स्थापना भएका हुन् । एनआरएनएले दोहोरो नागरिकता, नागरिकता कार्ड लगायतमा पैरबी समेत गर्दै आएको छ । नेपाली राहदानी नवीकरण गर्न, हराएको अवस्थाका अर्को बनाउनका लागि टेक्ससका नेपालीहरु तीनघण्टाको हवाई उडान गरेर डिसीसम्म पुग्नुपर्ने अवस्था छ । तर आफु बसेकै राज्य, शहरमा सोही प्रकारको सेवा दिन आयोजना हुन लागेको घुम्ती शिवीर भने दुई संस्थाको विवादले स्थगित हुने संभावना समेत बढेको छ । 
 
दूतावास स्रोतका अनुसार दुई संस्थाका पदाधिकारीबीच त्रिपक्षीय कन्फरेन्स कलमा समेत विवाद भएको थियो । 
 
स्रोतका अनुसार राजदूत डा. खतिवडाले स्थानीय नेपालीमुलका व्यबसायीहरुसँग पनि अन्तरकृयाका लागि चासो देखाएर कार्यक्रम गर्ने इच्छा गरेका छन् । सोही अनुसार नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सले साँझ अन्तरकृया सहित रात्रीभोजको कार्यक्रम तय गरिसकेको छ । 
 
एनआरएनए र नेपाली समाज टेक्सस दुबैलाई मिलेर कार्यक्रम गर्न स्थानीयले सुझाव दिएका छन् । कार्यक्रम सञ्चालन एउटा संस्थाले गरेमा सभापतित्व अर्को संस्थाको तर्फबाट गरेर विवादरहित रुपमा कार्यक्रम गर्न सुझाव दिएका छन् । 
 
तर यो समाचार तयार पार्दासम्म दुबै संस्थाहरु आफ्नो अडानबाट पछि हटेका छैनन् । दुबैले ‘मिलेर कार्यक्रम गर्ने हो’ भनेपनि भित्री रुपमा भने आफैँलेमात्र गर्न पाए हुनेथियो भन्ने आशय देखाइरहेका छन् । 
 
नेपाली समाज टेक्ससले एनआरएको चुनाव घोषणा भैसकेको अवस्थामा संस्थाले कुनै पनि कार्यक्रम गर्न नमिल्ने भन्दै केही पदाधिकारीहरुले अभिव्यक्ति दिँदा दुई संस्थाबीच विवाद बढ्न पुगेको बताइएको छ । 
 
एनआरएनको तर्फबाट चाँहि दूतावासले कार्यक्रम गर्नका लागि इमेल समेत पठाएर स्थानीय अन्य संघसंस्थाहरुसँग समन्वय गर्ने जिम्मेवारी दिएको हुँदा त्यही अनुसार अघि बढ्ने जनाएको छ । ‘हामी मिलेर कार्यक्रम गर्ने भनिरहेकै छौँ । नेपाली समाज पनि कार्यक्रमको एउटा पार्ट हो । तर उहाँहरु (नेपाली समाज टेक्सस) ले जानकारी नै नदिई कार्यक्रमका लागि हल बुक गर्नुले असहज परिस्थिती बनेको हो । यसलाई हामी सुल्झाउँछौँ’ एनआरएनए च्याप्टर अध्यक्ष अर्यालले भने । 
 
सतही कारण जे देखिएपनि भित्री कारण भने कार्यक्रमको सञ्चालन र सभापतित्व गर्ने विषयलाई लिएर दुई संस्थाबीच देखा परेको विवादलाई स्थानीय नेपाली समुदायका अगुवाहरुले भने ‘लाजमर्दो अवस्था’ का रुपमा टिप्पणी गरेका छन् । यो विवादमा नेपाली समाज टेक्सस एकातिर र एनआरएनए एकातिर छन् । 
 
ड्यालसको कार्यक्रम सकिएपछि मे १६ र १७ तारिक यस्तै कार्यक्रम टेक्ससको अर्को शहर ह्युस्टनमा गर्ने गरि कार्यक्रम तय गरिएको छ ।