मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

चौधरी फाउन्डेसनको सिजी उन्नति भिलेज स्थापना

चौधरी फाउन्डेसनको सिजी उन्नति भिलेज स्थापना


नवलपुर । देशकै प्रतिष्ठित औद्योगिक घरना चौधरी ग्रुप (सिजी) को सामाजिक संस्था चौधरी फाउन्डेसनले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा ‘सिजी उन्नति कल्चर भिलेज’ स्थापना गरेको छ ।
 
राष्ट्रको मौलिक कला, संस्कृति, साहित्य, वेशभूषा, हस्तकलालगायतको संरक्षण र प्रवद्र्धनका लागि सिजीले नगरपालिकाको हर्कपुरमा कल्चरल भिलेज स्थापना गरेको हो । प्राकृतिक सुन्दरताकाबीच अवस्थित यहाँ थारू संस्कृति झल्काउने रेस्टुराँ, अतिथिगृह र कोठा छन् । 
 
चित्रकलामार्फत थारू जातिका विभिन्न संस्कृति, मेलामहोत्सव र पर्वबारे जानकारी दिइएको फाउन्डेसनका प्रतिनिधि रामचन्द्र धितालले बताए । थारू जातिका दैनिकी झल्किने विषयवस्तु केन्द्रित गरेर भिलेज स्थापना गरिएको उनले बताए । यहाँ थारु समुदायबारे जानकारी दिनसक्ने उनीहरुका जीवन झल्किने गरी सिङ्गो तस्बिर नै कुँदिएका छन् । 
 
देशकै मुख्य बजार चितवनको नारायणगढबाट करिब १२ किलोमिटर पश्चिममा पूर्वपश्चिम राजमार्गसँगैका भिलेजमा कला सङ्ग्रहालय, रङ्गमञ्च, बाटिका (गार्डेन अफ आर्टस्), निसर्ग सयर, क्राफ्ट म्युजियम र क्रियटिभ स्टुडियो छन् । 
 
कल्चरअन्तर्गत थारू समुदायको गाउँ, बडाघर डबली, गदला मोद (बार) रहेका छन् । पाहुना खण्डअन्तर्गत कला घर, बोधी कुञ्ज, थारू घर, आथित्य खण्ड रहेको धितालको भनाइ छ । ‘एक्पिरियन्स’ अन्तर्गत कला र हस्तकला, थारू संस्कृत, जनजाति, आथित्य, प्राङगरिक खेती रहेका छन् ।
 
चौधरी फाउन्डेसनका महाप्रबन्धक दामोदर भण्डारीले सांस्कृतिक हिसाबले भिलेजमा थारू गाउँ रहेको बताए । यसअन्तर्गत थारू डबली, थारू बार छन् । थारू बारलाई ‘गदला मोद’ नाम दिइएको छ ।
 
थारू संस्कृतिमा गदला भनेको जाँड र मोद भनेको रक्सी हो । अरू संरचनाको नाम पनि यसैगरी राखिएका छन् । भिलेजमा थारू मात्र नभएर अन्य विभिन्न जातजातिका सांस्कृतिक विषय पनि समावेश गरिएका भण्डारीको भनाइ छ ।
 
करिब ६ बिघा क्षेत्रफलमा फैलिएको भिलेजमा नेपाली कलाको सङ्ग्रहालय पनि छ । भण्डारीकाअनुसार नेपाली मौलिक कला र साहित्यको संरक्षण तथा प्रवद्र्धनका लागि भनेर कला केन्द्र बनाइएको हो । कलाघर पनि यहीँ छ, जहाँ सर्जक आएर सिर्जना गर्न सक्छन् । 
 
प्राङ्गरिक खेतीपातीको प्रवद्र्धन र विभिन्न खाद्यान्न उत्पादन गर्ने तरिका प्रदर्शनी गर्न यहाँ विशेष स्थान छुट्याइएको उनले बताए । यहाँको थारू रेस्टुराँमा आउने पाहुनाका लागि यहीँका उत्पादन पस्किइनेछ । सँगै थकाली र नेपाली परम्परागत खानाको स्वाद पनि चखाइने भण्डारीले बताए । 
 
भिलेजमा ‘कल्चरल मल्टिपर्पस हल’ पनि हुनेछ । भिलेजमा ‘कला बाटिका’का लागि छुट्टै ठाउँ तयार गरिएको छ । यसमा १८ वटा स्थान छुट्याइएका छन्, जसलाई ‘ओपन एयर म्युजियम’ भनिएको छ । यहाँ कलाकारले आफ्ना कलाकृति सिर्जना गर्नेछन्, जसलाई यहीँ प्रदर्शनीमा राखिनेछ ।
 
भिलेजमा स्थानीय हस्तकलाका विभिन्न सामग्री पनि उत्पादन हुनेछन् । त्यसका लागि दक्षजनशक्ति उत्पादन गर्ने र उत्पादित वस्तुको पहुँच बजारसम्म पुर्‍याउने योजना छ । नेपाली शिल्प एवं कलाबारे रुचि जगाउन ‘हिस्ट्री म्युजियम’ पनि बनाइएको छ जहाँ नेपाली शिल्पिका प्राचीन, मध्यकालीन र आधुनिक शिल्प हुने फाउन्डेसनका प्रतिनिधि धितालले बताए । 
 
नवलपुर क्षेत्रका माझी, बोटे, दराई, मगरलगायतका संस्कृति पनि यहाँ हुनेछन् । घाटु, सोरठीजस्ता नाच प्रदर्शन गरिनेछ । नेपालका सबै कलाकार एवं साहित्यकार आएर यहाँ आफ्नो कला एवं साहित्य सिर्जना गर्न सकुन् भन्ने भिलेजको लक्ष्य रहेको धितालले बताए ।
 
भिलेजको अवधारणाले रोजगारी सिर्जनालाई प्रोत्साहन गर्नुका साथै यसले स्वरोजगारीलाई पनि समानान्तर रूपमा अगाडि बढाउने फाउण्डेशनको विश्वास छ । स्थानीयवासीलाई नै सहभागी गराइने भएकाले हस्तकलाका सामग्री उत्पादनदेखि अतिथि सत्कारसम्म उनीहरू नै अग्रपङ्क्तिमा रहने छन् । 
 
भरखरै स्थापना भएको यस भिजेलमा फागुन २८ गतेदेखि उन्नतिसँगको सहकार्यमा दुई दिने ‘फाइनप्रिन्ट फिभर’ महोत्सव आयोजना गरिनेछ । सोही दिन कल्चरल भिलेजको उद्घाटनलगत्तै यो महोत्सव सुरू हुनेछ । 
 
महोत्सवमा कलाकार अनिल शाही र उनको ब्याण्डले सांस्कृतिक प्रस्तुति राख्ने उनले बताए । वरिष्ठ कलाकार गोपाल कलाप्रेमी श्रेष्ठले बोल्नेछन् । डा बाबुराम भट्टराईसँग जीवन क्षेत्रीले ‘गुमनाम आमाका कथा’बारे कुरा गर्नेछन् । अभिनेत्री मनिषा कोइरालासँग पत्रकार स्वरूप आचार्यले ‘जिजीविषा’बारे विशेष संवाद गर्ने बताइएको छ । 
 
कांग्रेसका युवा नेता एवं सांसद् गगन थापा र व्यवसायी/लेखक जीवा लामिछानेबीच ‘देश देशावर’को कुरा हुनेछ । ‘पूँजीवाद र स्वतन्त्र समाजका आधार’मा लेखक/अध्येता हरि शर्मा र मुराहरि पराजुलीबीच छलफल हुनेछ ।
 
प्रतीक्षा कट्टेलले लेखक निरञ्जन कुँवरसँग उनको नयाँ पुस्तक ‘बिटविन क्विन्स एण्ड द सिटिज’को सेरोफेरोमा रहेर कुरा गर्ने कार्यतालिका बनेको छ । ‘क’ कविता सङ्ग्रहका लेखक असिम सागरसँग उपन्यासकार अमर न्यौपानेको संवाद हुनेछ । सञ्चारकर्मी रवि लामिछाने र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच ‘राजनीतिमा राजकाज’माथि रोचक शास्त्रार्थ हुनेछ । 
 
नेता प्रदीप गिरिले नागरिक आन्दोलन र देवेन्द्रराज पाण्डेमाथि विद्वत् प्रवचन दिनुहुनेछ । आफ्नो पुस्तक पठनको सुरुआती दिनबारे बोल्दै कलाकार राजेश हमालले पुराना दिन सम्झिने बताइएको छ । युवा केन्द्रित उपन्यासकार सुविन भट्टराई र भर्खर ‘रहर’ कथासङ्ग्रह लिएर आउनुभएका सुरेश बडालबीच रमाइलो संवाद हुनेछ । 
 
डा. बाबुराम भट्टराई र सिजी फाउन्डेसन/सिजी कर्प ग्लोबका अध्यक्ष विनोद चौधरीबीच अर्थतन्त्र, विकास र समृद्धिबारे रोचक कुराकानी हुनेछ । रासस